ओस्कार विजेता लियोनार्दोको संघर्ष र सफलता
‘तत्कालिन रुसी प्रधानमन्त्री तथा अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनार्दो वास्तविक हिरो रहेको बताएका थिए ।’
आफ्नी आमाको जन्मदिनकै दिन लियोनार्दोले गत महिना बाफ्टा अवार्ड जिते । त्यतिबेला उनले मञ्चबाटै दर्शकलाई भने –‘यदी उनी नभएको भए म यहाँ उपस्थित हुने थिइन् ।’ उनले यति भनिरहदा आमा इर्मिलिन छेउमै उभिएकी थिइन् । इर्मिलिने चर्चित कमिक लेखक जर्ज डिक्याप्रियोसँग बिहे गर्दा उनीहरुको सम्बन्ध छिट्टै टुंगदैँछ भन्ने कहिल्यै कल्पना गरेकी थिइनन् । बिहे गरेको छोटो समयमै लियो जन्मिए । त्यसको एक वर्षपछि जर्ज र इर्मिलिनको सम्बन्ध टुट्यो । पेशाले वकिल रहेकी इर्मिलिनका चकचके छोरा लियोको जन्म हलिउड नजिकैको लस एन्जलसमा भएको थियो । छोरा गर्भमै छदाँ इटलीको एक संग्राहलयमा लियोनार्दो दा भिन्चीको चित्रकला हेर्न गएकी इर्मिलिनले उनीबाटै प्रभावित भएर छोराको नाम लियो जुराएकी थिइन् । आमा इर्मिलिनको एक्लो प्रेममा हुर्किएका लियो सानोमा बदमास थिए ।
५ वर्षमै टेलिभिजन शोबाट फ्याँकिए ५ वर्षको उमेरमै इर्मिलिनले छोराको हात समातेर उनलाई अमेरिकाको चर्चित बालकार्यक्रम रोम्पर रुमको अडिशनमा लगिन् । अडिशनबाट लियो कार्यक्रमका लागि छानिएका थिए । तर उनको बदमासी गर्ने चकचके स्वभावका कारण कार्यक्रमबाट लगत्तै निकालिए पनि । लियोनार्दोकी साथी तथा लेखिका लेइलानी डोउनर भन्छिन्– ‘उसले बताएअनुसार त्यो क्षणले नै टेलिभिजन सेटमा देखिनु जोक होइन रहेछ भन्ने हेक्का दिलायो ।’ शोबाट हटाइएपछि लियोनार्दो निकै स्तब्ध थिए । ‘उसको मुटु टुक्रिएको थियो । भविष्यमा व्यवसाहिक बन्नका लागि बाल्यकालको त्यही नमिठो घटनाले ठूलो पाठ पढायो,’– लेइलानी भन्छिन् । कहिल्यै नहार्ने र साहसी नहार्ने इच्छाशक्ती र खतरनाक शैलीबाट जुध्ने प्रतिवद्धताले नै ‘द रेवेनेन्ट’ चलचित्रमा शिकारी हग ग्लासको चरित्र मापन गर्छ । चलचित्रमा पाएको भूमिकालाई लियोनार्दो डिक्याप्रियोले यसरी न्याय गरे, जसले उनलाई ओस्कारसम्मको बाटो देखायो । लियोनार्दोले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा कति अवार्ड जिते भन्ने कुनै लेखाजोखा छैन् । उनी समर्थकहरुबाट सर्वाधिक रुचाइएका नायकमध्ये एक हुन् । तर रोचक कुरा, पटक–पटक मनोनयनमा परेपनि लियोनार्दोले ओस्कार अवार्ड जितेको यो नै पहिलो पटक हो । दुनियाँभरका कलाकारका लागि सपना मानिने ओस्कार जित्दा उनी ४१ वर्षका भए । लस एन्जलसमा जन्मनु र ओस्कार जित्नुबीच संयोगभन्दा बढी संघर्ष लुकेको लेइलानीको भनाई छ । मनैबाट कर्ममा समर्पित लियोका लागि फिल्म बनाउनु जागिर नभएको लेइलानी बताउँछिन् । ‘उसका लागि चलचित्र कलाको एउटा विधा हो । उसले मनैदेखी काम गर्छ र उसले गरेका काम गर्व गर्न लायक छन् ।’ पटक–पटक ओस्कारको मनोनयनमा परेर पनि उत्कृष्ट अभिनेताको अवार्ड जित्न लियोले सकेका थिएनन् । तर उनी कहिल्यै अवार्डको भोका देखिएनन् । ओस्कार जित्नुअघि एक अन्तरवार्तामा उनले भनेका थिए –‘मैलेँ राम्रो गरेका चलचित्रहरुबाट मनोनयनमा परेको छु । राम्रो गर्ने म वा अरु कोही नै किन नहोस् पटक–पटक मनोनयनमा पर्नुपर्छ । तर अवार्ड मेरो नियन्त्रण बाहिरको विषय हो ।’ एकपटक लियोले लस एन्जलसको वेस्टउड जिल्लास्थित युनिर्भसिटी इलिमेन्टरी स्कुलमा छात्रवृत्ति पाएका थिए । तर फेरि उनीपछि पुरानै स्कुलमा फर्कनुप¥यो । जोन मार्सल हाईस्कुलमा पढ्दा लियोले नराम्रो कुटाई भेटेका थिए । लियोले भनेका छन्–‘यसपछि म स्कुल सिस्टमबाट आजित भएँ । मैलेँ आमालाई अडिशनहरुमै लैजान भने किनकी मलाई स्कुल सिस्टमा पढ्न थिएन ।’ बाल्यकालमै आमा–बाबुको सम्बन्ध विच्छेद भएका कारण पनि लियोमा केही गरेर देखाउने अठोटको विकास भएको थियो । उनी बेलाबेलामा बाबु जर्जको घरमा जान्थे, जहाँ सौतेनी आमा एडम फेरर पनि हुन्थिन् । तर अधिकांश समय आमासँगै बसे । आमा इर्मिलिन पेशाले वकिल भएका कारण उनले आमासँगै थुप्रै ठाउँ चहारे । सन् १९८० को मध्यतिर उनीहरु लस फेलिज जिल्लामा आएका थिए । यो इलाका शरणार्थीहरुको इलाका मानिन्थ्यो ।लियोले चार वर्षको उमेरबाटै चार्लिज एन्जल्स, ह्याप्पि डेस र द सिक्स बिलियन डलर म्यान लगायतका शृंखला हेर्ने गरेका थिए । ५ वर्षको उमेरमा रोम्पर रुमबाट निकालिएपछि उनले अडिशनका लागि ठूलो मेहिनत गरे । एक अडिशनमा उनलाई एजेन्टले राम्ररी नियाले । त्यसपछि उनले प्यारेन्टहुड चलचित्रमा आधारित एक टेलिशृंखलामा छोटो भूमिका निभाए । यसलगत्तै १९९० मै द न्यू लासी र रोसियन्नीमा उनी छोटो भूमिकामा देखिएका थिए । क्रिटर्स थ्री नामक हरर चलचित्रमा खेलेपछि उनले १ सय ६६ भागसम्म चलेको चर्चित टेलिशृंखला ग्रोइङ पेन्समा खेले । यस शोकी लेखिका लेइलानी भन्छिन्–‘ उनी झन्डै १४ वर्षका थिए । निकै ह्यान्डसम देखिन्थे । उनको चरित्र पनि त्यस्तै देखिनुपर्ने थियो, जसको पछि केटीहरु लाग्न थालेका छन् । लियोले राम्रो अभिनय ग¥यो । त्यसपछि पुराना अभिनेताहरुले पनि उनको प्रशंशा गरे ।’
१७ वर्षमा ओस्कारको असफल यात्रा लियोको अभिनयप्रतिको प्रतिवद्धताले १७ वर्षको उमेरमा उनलाई गतिलो स्थान दिलाइदियो । चर्चित अभिनेता रोर्बट डि नेरोको भूमिका रहेको चलचित्र ‘दिज ब्वाईज लाईफ’ मा लियोनार्दो ४ सय युवा प्रतिस्पर्धीहरुलाई पछि छाड्दै मूख्य भूमिकामा चुनिए । रोबर्ट डि नेरोले भविष्यका स्पाईडर म्यान टोबी मग्वायरलाई छाडेर लियोलाई यस चलचित्रमा ब्रेक दिएका दिए । आफ्ना आर्दश रोर्बट डि नेरोले नै चलचित्रका लागि चुनेपछि लियोनार्दो निकै खुसी देखिए । लियोले वाट्स इटिङ गिल्वर्ट ग्रेपमा मानसिक रुपमा अशक्त किशोरको भूमिका निभाए । यस चलचित्रमा गरेको अभिनयपछि उनलाई सर्वत्र तारिफ मिल्यो । चरित्रमा निकै डुबेर काम गरेका लियो यस चलचित्रको सुटिङ सकिएपछि लामो समयसम्म पनि आफ्नो घरनजिकै मानसिक रुपमा अशक्त बालबालिकासँग समय बिताउँथे । उनको त्यो स्वभाव अझै हटेको छैन् । त्यतिबेला उनीसँग निकै प्रभावित देखिएका निर्देशक लासी हलस्टे«ाम भन्छन् –‘उनी वास्तविक बच्चाको प्रस्तुती देखाउन चाहन्थे । त्यसैले उनले मलाई एकपटक यस्ता १ सय फरक चरित्रका बच्चाहरु देखेको बताएका थिए । उनको लगाव र कामबाट म निकै प्रभावित भए । मुख्य अभिनेता जोनी डेपभन्दा पनि मलाई उनको अभिनय मन परेको थियो ।’ यस चलचित्रले राम्रो प्रशंसा मात्रै पाएन, लियोनार्दो पहिलोपटक ओस्कारका लागि सह–अभिनेताको भूमिकामा छानिए । सन् १९९६ मा विलियम सेक्सपियरको कथामा आधारित चलचित्र रोमियो जुलियट र त्यसपछि टाइटेनिकको सफलताले लियोलाई संसारभरका युवा–युवतीमाझ लोकप्रिय बनायो । टाइटेनिकले ओस्करमा १९९८ मा किर्तिमानी रुपमा १४ वटा विधामा मनोनयन दर्ता ग¥यो । उत्कृष्ट चलचित्रसहित ११ वटा अवार्डमात्रै जित्यो । तर यसपटक लियो उत्कृष्ट अभिनेताको मनोनयनमा पनि परेनन् । २००५ मा उनी एभियटरका लागि उत्कृष्ट अभिनेताको मनोनयनमा परे । त्यसपछि २००७ मा फेरि ब्लड डायमन्डबाट ओस्कारमा उनी मनोनयनमा परे । २०१४ मा उनी एकैपटक उत्कृष्ट अभिनेता तथा उत्कृष्ट निर्माताका रुपमा वल्फ अफ वाल स्ट्रिटबाट मनोनयनमा परे । तर, ओस्कार जित्ने लियोको आकांक्षा यतिबेलासम्म पनि पुरा भएन । ‘ ‘द रेवेनेन्ट र सफलता नौ महिने सुटिङका क्रममा लियो र उनको टिमले चलचित्रका लागि आवश्यक दृश्य भेट्टयाउन अमेरिका, क्यानेडा र अर्जेन्टिनाका कठित स्थल चहारेका थिए । उनीहरुले यस चलचित्रको सुटिङका क्रममा जंगली जीवन नै बिताउनुप¥यो । ४० डिग्रीभन्दा कम तापक्रम भएका क्षेत्रहरुमा बेलाबेलामा हुरी चल्दा सुटिङ प्रभावित हुनेमात्रै नभएर ज्यानै जाने खतरा समेत बढेको लियोले बताएका थिए । धेरैपटक यस चलचित्रको सुटिङ हिउँकै कारण स्थागित गरेर फेरि सुरु भएको थियो । चलचित्रका लागि कृतिम प्रकाश नभएर प्राकृति प्रकाश प्रयोग गर्ने निमार्ण पक्षको चाहनाका कारण चुनौती थपिएको थियो । १ घण्टा सुटिङका लागि पुरै दिन तयार हुदाँसमेत सोचेजस्तो नभएपछि सुटिङ यूनिट पटक–पटक फेरि सुटिङका लागि जानुपरेको थियो । लियोले आफ्नो करियरमा यो चलचित्रको सुटिङ नै सबैभन्दा व्यवसाहिक काम गरेको बताएका छन् । उनले यस चलचित्रमा काँचो मासू खाएका छन् ।प्रकृतिप्रेमी र नेपाललाई माया गर्ने ओस्कार अवार्ड जितेपछि मन्चमा बोल्दै उनले सबैभन्दा पहिले अर्का अभिनेता टम हार्डी र निर्देशक अले¥यान्द्रो गोन्जालेजलाई धन्यवाद दिए । त्यसपछि लियोले जलवायू परिवर्तनका विषयमा सवाल उठाए । ‘ जलवायू परिवर्तन अहिले भइरहेको छ । यसले हाम्रा सम्पूर्ण प्रजातीहरुमा सबैभन्दा ठूलो चुनौती थपेको छ । त्यसैले हामीले जलवायू परिवर्तनलाई कम गर्न एकजूट भएर काम गर्नुपर्छ र यसमा ढिलाई गर्ने काम बन्द गर्नुपर्छ । हामीले मानवताका विषयमा बोल्ने विश्वका सबै नेताहरुलाई सहयोग गर्नुपर्छ । यसमा ढिलाई गर्नुहुन्न ।’ लियोनार्दो दुलर्भ बाघहरुको संरक्षणमा लामो समयदेखी लागेका छन् । उनले रुसमा भएको एक सम्मेलनमा वन्यजन्तु संरक्षणका लागि १ मिलियन डलर सहयोग गरेका थिए । त्यतिबेला दुईपटकसम्म विमान डिले हुनका बाबजुद उनी सम्मेलनमा भाग लिन पुगेपछि प्रसन्न देखिएका तत्कालिन रुसी प्रधानमन्त्री तथा अहिलेका राष्ट्रपति भ्लादिमिर पुटिनले लियोनार्दो वास्तविक हिरो रहेको बताएका थिए । उनी २०६७ साल जेठ ८ गते नेपाल भ्रमणमा आएका थिए । तर उनको नेपाल भ्रमणको सुचना गोप्य राखियो । उनी डब्ल्यूडब्ल्यूएफका अमेरिकास्थित सिईओ कार्टर रोर्बटससँगै ‘से टाइगर्स नाउ’ नामक अभियान लिएर नेपाल आएका थिए । त्यतिबेला ३ दिने भ्रमणका क्रममा उनी नेपालको बर्दिया राष्ट्रिय निकून्ज घुमेका थिए । लियोनार्दोले त्यसयता नेपालमा दुलर्भ बाघ संरक्षणका लागि पटक–पटक आर्थिक सहयोग गर्दै आएका छन् । यसअघि भूकम्पपछि पुनर्निर्माणका लागि भएको दाता– सम्मेलनमा नेपाल आउने इच्छा व्यक्त गरेपनि उनी आउन पाएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण