शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्र र महन्थ दिल्ली प्रस्थान

आइतबार, ३० फागुन २०७२, २० : ०५
आइतबार, ३० फागुन २०७२

काठमाडौं – संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । चैत १ गते दिल्लीमा हुने ‘नेपाल भारत मैत्री सम्बन्ध अवसर र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिन दिल्ली गएका हुन् । कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेतासहित कमल थापा, मिनेन्द्र रिजाल, शंकर पोखरेललगायतका नेताहरुलाइ समेत निमन्त्रण रहेको छ । नेपाल भारत महिला मैत्री समाजको आयोजनामा हुन लागेको कार्यक्रममा मधेशी मोर्चाआवद्ध तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो जाँदैछन् भने नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमालेका शंकर पोखरेल, नेपाल शक्ति अभियानका खिमलाल देवकोटा, नागरिक समाजका तर्फबाट दमननाथ ढुगांना र विजयकान्त कर्ण पनि जाने भएका छन् । कार्यक्रमका आयोजक समाजका अध्यक्ष चन्दा चौधरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य पनि हुन् । चौधरीले आफूले मात्र यो कार्यक्रम आयोजना गरेको भनेपनि यसमा विदेश मन्त्रालयको पनि सहयोग रहेको बताइएको छ । स्रोतका अनुसार देशको वर्तमान राजनीतिक अवस्थाको बारेमा नेताहरुसँग छलफल गर्नुपर्ने भएकाले भारतले समाजको मार्फत नेताहरुलाई बोलाउन लागेको हो । खासगरि हिन्दु राष्ट्रको बारेमा भारतले नेपालका नेताहरुसँग कुराकानी गर्ने बताइएको छ । यद्यपि यो कुरा अयोजकले अस्वीकार गरेको छ ।

तमलोपाका नेता सर्वेन्द्रनाथ शुक्लका अनुसार भारतमा रहँदा मोर्चाका नेताहरुको भारतीय उच्च अधिकारीसँग विशेष भेटवार्ता हुनसक्छ र त्यसका लागि प्रयास भइरहेको छ । उनले भने – “समाजको मुख्य कार्यक्रम भोलि हो, आज छलफल मात्र हुन्छ । उक्त कार्यक्रममा भारतीय नेताहरु पनि सहभागी हुने भएकाले स्वाभाविक रुपमा मोर्चाका नेताहरुले कुराकानी गर्नुहुनेछ । विशिष्ट भेटवार्ताका लागि प्रयास भइरहेको छ, अहिले टुङ्गो लागिसकेको छैन ।” सद्भावनाका अध्यक्ष राजेन्द्र महतो भने पार्टीको काममा व्यस्त रहेकाले दिल्ली गएनन् । रौतहटको गौरमा पूर्वघोषित कार्यक्रम परेकाले महतो दिल्ली नजानुभएको सद्भावनाका नेता मनिष सुमनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप