शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्मचारीको निर्वाचनमा ‘थ्रेसहोल्ड’ विवाद

आइतबार, ३० फागुन २०७२, १८ : ५७
आइतबार, ३० फागुन २०७२

काठमाडौँ - आगामी चैत २८ गते हुन लागेको कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा मतको सीमा ‘थ्रेसहोल्ड’ राख्ने की नराख्ने भन्नेमा कर्मचारी सङ्गठनबीच विवाद देखिएको छ ।

श्रम तथा रोजगार मन्त्री दीपक बोहराले आज सात कर्मचारी सङ्गठनका पदाधिकारीसँग मन्त्रालयमा गरेको छलफलमा सातमध्ये चार सङ्गठनले थ्रेसहोल्ड राख्न नहुने अडान लिएका थिए । अहिलेको प्रावधानअनुसार खसेको मतको कम्तीमा २० प्रतिशत मत पाउनेले मात्रै निर्वाचित हुन पाउने प्रावधान छ ।

एकीकृत नेकपा (माओवादी) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती कार्यसमिति) सहित नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी सङ्गठन र राष्ट्रिय कर्मचारी सङ्गठन (निजामती कार्य समिति)ले मतसीमा राख्न नहुने अडान लिएका छन् । उनीहरुले आजको छलफलमा उपस्थिति पुस्तिकामा समेत हस्ताक्षर गर्न मानेनन् ।

छलफलमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले भने थ्रेसहोल्ड राख्नुपर्ने पक्षमा मत राखेका थिए ।

प्रमुख निर्वाचन अधिकृत राजीव गौतमले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले आजसम्म ६९ जिल्लाको मतदाताको नामावली आइसकेको र सोमबारसम्म ७५ जिल्लाको विवरण आइपुग्ने जानकारी दिए । उनले सोमबारदेखि मतदाताको नामावलीसमेत वेवसाइटमा राख्न सुरु गरिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप