शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोट र रुकुमका बजेट रु दुई–दुई अर्ब

सोमबार, ०१ चैत २०७२, १९ : ०३
सोमबार, ०१ चैत २०७२

नुवाकोट– जिविस नुवाकोटले आगामी आव २०७३÷७४ का लागि करिब रु दुई अर्ब पाँच करोड बजेट सार्वजनिक गरेको छ । तेइसौँ जिल्ला परिषदले गरेका निर्णय आइतबार सार्वजनिक गर्दै स्थानीय विकास अधिकारी नारायणप्रसाद रिसालले पुँजीगततर्फ रु एक अर्ब १९ करोड ४५ लाख ११ हजार र चालुतर्फ रु ८६ करोड ६९ लाख १९ हजारको बजेट प्रस्तुत गरे । परिषद्ले सन् २०१६ भित्र जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सबै पक्षसँग सहकार्य गर्ने, आर्थिक रुपमा विपन्नलाई जिल्ला अस्पतालसँग समन्वय गरी प्रभावकारी सेवा प्रवाह गर्ने, मिर्गौला, मुटु र अर्बुदरोगबाट पीडितलाई आर्थिक सहयोगमा निरन्तरता दिने, पर्यटन गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने लगायत कार्यक्रम राखेको छ ।

कार्यक्रममा प्रजिअ विष्णुप्रसाद पोखरेलले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए । नेपाली काँग्रेसका जिल्ला सभापति तथा सांसद जगदीश्वरनरसिंह केसीले तोकिएको समयमा विकास निर्माणका योजना सम्पन्न गराउने बातावरण बनाउनुपर्नेमा जोड दिए । रुकुम– जिविस रुकुमको नवौँ जिल्ला परिषद्ले करिब रु दुई अर्ब रु पाँच करोडको बजेट पारित गरेको छ ।

आइतबार सम्पन्न जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी भरतकुमार शर्माले सो बजेट प्रस्ताव गरे । सोअनुसार पुँजीगततर्फ रु एक अर्ब १३ करोड ४९ लाख १९ हजार र चालुतर्फ रु ८२ करोड ८७ लाख ९० हजार विनियोजन गरिएको छ ।

नीति तथा कार्यक्रममा सुशासन तथा दिगो विकास, समावेशीकरण, मानव संसाधन, सूचना व्यवस्थापन, युवा–खेलकुद, पर्यटन, संस्कृति, कृषि, खाद्य सुरक्षा, समन्वय, वन तथा वातावरण, आन्तरिक स्रोत, सडक यातायात लगायतलाई प्राथमिकता दिइएको छ ।

परिषद्को उद्घाटन गर्दै आपूर्तिमन्त्री गणेशमान पुनले नयाँ संविधानलाई कार्यान्वयन गर्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप