शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलँदा आकासमुनिको बास

मङ्गलबार, ०२ चैत २०७२, ०९ : ३१
मङ्गलबार, ०२ चैत २०७२

पर्वत - सामुदायिक वनमा लागेको आगो बस्तीमा फैलँदा सबै घर जलेर सखाप भएपछि धाईरिङका पाँच परिवार खुला आकासमुनि बस्न बाध्य भएका छन् ।

उत्तरी पर्वतको धाईरिङ गाविस–१ लालुङका पाँच घर खुला आकासमुनि बस्न बाध्य भएका हुन् । गत शुक्रबार बस्ती नजिकैको बिन्दवासिनी सामुदायिक वनमा लागेको आगो बस्तीमा पुग्दा खरले छाएका उनीहरुका सबै घरगोठ जलेर नष्ट भएका हुन् ।

विपन्न परिवारको घरगोठ जलेर नष्ट भएपछि अहिले उनीहरु खुला आकासमुनि रात काट्न बाध्य भएका हुन् । तत्काल घरगोठ निर्माण गर्ने आर्थिक तथा जनशक्तिको अभावका कारण खुला आकासमुनि बस्नुपर्ने बाध्यता भएको पीडित उजेली परियारले बताए ।

आगालागीमा परी स्थानीय दीपा आचार्य, उजेली परियार, कर्णबहादुर परियार, मने दमार्इं, कृष्णबहादुर दमाईंको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

घरभित्र रहेका लत्ताकपडा, नगद र खाद्यान्नसमेत जलेर नष्ट भएपछि झनै समस्या थपिएको कर्णबहादुरले गुनासो गरे । आगलागीका बेला सबै मजदुरी गर्न गएकाले घरभित्र भएको अन्नपात र लत्ताकपडा, नागरिकता, लालपुर्जालगायतका महत्वपूर्ण कागजातसमेत निकाल्न पाएनौँ, अहिले हरमा लगाएको कपडाबाहेक अरु केही छैन, नाङ्गो शरीरले खुला आकासमुखी बस्नुपर्दा निकै समस्या र कष्ट भएको छ, उनले भने । पाका उमेरकालाई त्यति धेरै पीडा नभए पनि बालबच्चालाई भने चिसोका कारण रुघाखोकी, निमोनियालगायतले च्याप्न थालेको मने दमार्इंले बताए । न आङ छोप्ने कपडा छ न किन्ने पैसानै निकै समस्यामा परियो, उनले भने ।

जीवनमा सबैभन्दा ठूलो नसोचेको घटना व्यहोर्न बाध्य भएका स्थानीय दलित परिवारले घरभित्र भएको नगदसमेत जल्दा किन्नसमेत नपाएका र ठूलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । उता दलित परिवारका आधा दर्जनभन्दा बढी विद्यार्थी पनि किताब कापी जलेको र दैनिक विद्यालय जाने पोसाक जलेपछि समस्यामा परेका छन् । कक्षा ७ मा पढ्ने समिर परियारले परीक्षा आएका बेलामा किताब कापी, र पोसाक नहुँदा परीक्षानै प्रभावित हुने भन्दै चिन्तित बनेका छन् ।

शुक्रबार १ बजेनै विद्यालयबाट फर्केर घरमा झोला र पोसाक परिवर्तन गरेका उनीहरु साँझपखको आगोले पूरै जलाइदिएपछि चिन्तित बनेका र आवश्यक पाठ्यपुस्तक र स्टेसनरीको कतैबाट व्यवस्था भए परीक्षामा सहभागी हुन सहज हुने बताएका छन् ।

आगालागी पीडितले खुला आकासमुनि बस्नुभन्दा सामान्य आवासको व्यवस्था गरिदिन गाविस र प्रशासनसँग मागसमेत गरेका छन् । घटनापछि गाउँमै पुगेका प्रमुख जिल्ला अधिकारीलगायत प्रहरी प्रशासनसँग उक्त माग गरेका हुन् । आगालागीबाट पशु चौपाया जोगाउन सकेपनि उनीहरुले खाने परालको टौवा र अन्नपातसमेत नहुँदा पशुचौपाया पाल्नसमेत मुस्किल परेको पीडितको गुनासो छ ।

यसैबीच, आगलागी पीडितलाई पर्वत उद्योग वाणिज्य सङ्घले ३०–३० किलोग्राम चामल, एक–एक किलो दाल, दुई–दुई पोका आयोडिन नुन सहयोग गरेको छ भने जिल्ला दैवी प्रकोप उद्धार समितिले नगद रु पाँच–पाँच हजार सहयोग गरेको प्रमुख जिल्ला अधिकारी झकनाथ ढकालले जानकारी दिए ।

त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले एक थान त्रिपाल, कम्बल र भाडाकुँडा सहयोग गरेको जनाएको छ । सबै पीडितको ठूलो परिवार भएकाले सानो सहयोगले कुनै पनि गुजारा चलाउन समस्या भएको मने दमाईंले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप