शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किन सहज हुँदैन डिजेल र ग्याँस ?

बुधबार, ०३ चैत २०७२, ११ : ५९
बुधबार, ०३ चैत २०७२

काठमाडौं–नाकाबन्दीको बेला प्रति लिटर २ सय रुपैयाँ तिरेर चलाएको सानेपाको सौगात प्रिण्टिङ प्रेस नाकाबन्दी खुलेपछि चल्नै मुस्किल छ । नाकाबन्दीको बेला चलाएको प्रेस अहिले नाकाबन्दी खुलिसक्दा पनि डिजलको अभावकै कारण बन्द गर्नुपर्ने अवस्थामा पुगेको सञ्चालक विनोद अधिकारीले गुनासो गरे ।‘पहिला बरु सहज थियो, महंगो तिरेरै भएपनि चलाईयो’ उनले भने ‘तर अहिले त न पेट्रोल पम्पले दिन्छ, न कालोबजारीको पाईन्छ ।’

दाउरामा खाना पकाएर नाकाबन्दीको सययमा छाक टारेका गुल्मी घरभई किर्तिपुर डेरा गरी बस्ने सन्तोस मरासिनीले नाकाबन्दी खुलेपछि ग्याँस नै पाउन सकेका छैनन् । ‘पहिला त बरु नाकाबन्दी हो भनेर दाउरा बालेर बसियो, नाकाबन्दी खुलेपछि झन् २ हप्ता भयो खाना खान नपाएको’ मरासिनीले भने । यी दुई उदाहरणमात्र हुन् । भारतको नाकाबन्दी खुलेपछि नेपालमा दिनहुँ पेट्रोलको लाईनमा बस्ने मोटरसाईकलहरु अहिले लाईन बस्नु पर्ने अवस्था छैन । तर नेपालमा डिजल र ग्याँसको अभाव भने उस्तै छ । नाकाबन्दी खुलेको भनिएपनि हप्तौँसम्म ग्याँस नपाएर भोकै बस्ने र डिजल नपाएर उद्योग धन्दा चलाउन नसक्ने अवस्था आएको उपभोक्ताको गुनासो छ । नाकाबन्दी खुलेपछि ग्याँस सहज हुने उपभोक्ताले आशा राखेपनि नाकाबन्दी खुलेपनि भारतले आवश्यकता अनुसार ग्याँस र डिजल नदिएको कारण यस्तो समस्या भएको हो । नाकाबन्दी पछि पनि सामान्य अवस्थामा जस्तो डिजल र ग्याँस आपूर्ति हुन नसकेको आयल निगमले जनाएको छ । ‘हाम्रोमा आवस्यकता अनुसार डिजल र ग्याँस आउन सकेको छैन’ निगम प्रवक्ता मुकुन्द घिमीरेले भने ‘त्यसैले सहज हुन नसकेको हो । घिमिरेका अनुसार सामान्यतया १ लाख १० हजार किलोलिटर (केएल) डिजल माग भएकोमा फागुन महिनामा जम्मा ९० हजार केएल मात्रै भित्रीएको उनले बताए । नाकाबन्दीको बेला रोकिएका निर्माण कार्य, उद्योग धन्दा लगायतमा धेरै डिजल माग भएकोले यस्तो समस्या आएको घिमीरेको भनाई छ । उनले एक हप्तामा डिजल सहज हुने बताए । ‘हामीले अव पेट्रोलको डिमाण्ड घटाएर पनि डिजल मगाउँछौँ ’ उनले भने ।

निगमका अनुसार मासिक ३०÷३२ हजार मेट्रिकटन ग्याँस आवश्यक पर्नेमा फेब्रुअरीमा जम्मा १६ हजार मेट्रिकटन मात्र आएको छ । यो महिनामा २२ हजार मेट्रिकटन जति भित्रने भएपनि तत्काल सहज नहुने उनले बताए । ‘१५ दिन जतिमा सहज बनाउने प्रयासमा छौँ ’ घिमिलेले भने । आयल निगमले यसरी एक हप्ता पन्ध्र दिनमा सहज हुने भन्न थालेको धेरै समय भएकोले निगमको कुरामा विस्वास गरिहाल्न सक्ने अवस्था नभएको उद्योगीहरुको गुनासो छ । ‘नाकाबन्दीकै समयमा त सहज हुन्छ हुन्छ भन्दा भन्दै चरम संकट भयो’ एक उद्योगीले भने ‘भारतसंग आपूर्तिका लागि पहल नगरीकन सहज भईहाल्छ भन्ने कुरामा कसरी विस्वास गर्नु ?’ आयल निगमले भने आफूहरुले भारत संग पहल गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप