शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भूकम्पपीडितको शिविरका विद्यार्थीका दुख : तयारी नपुगी एसएलसी दिनुपर्यो

शनिबार, २० चैत २०७२, १३ : ५२
शनिबार, २० चैत २०७२

भक्तपुर–भक्तपुर नगरपालिका–१० व्यासीमा भूकम्प पीडितको शिविर छ । शुक्रबार मध्यान्न त्यहाँ पुग्दा विसद कोजु पालभित्रै पढेर बसिरहेका थिए ।

उनी एसएलसीको परीक्षा दिइरहेका छन् । तर, पालमुनि बसेर एसएलसीको तयारी अपुरो लागेको छ, उनलाई । यही अपुरो तयारीले नतिजा प्रभावित हुन्छ कि भन्ने चिन्ता छ उनलाई ।

[caption id="attachment_41126" align="alignleft" width="840"] पालमूनि बसेर एसएलसी परिक्षाको लागि तयारी गर्दै विसद कोजु ।[/caption]

उनले भने, ‘भूकम्पले घर भत्कायो । यसै तनाव भयो । एसएलसीको बेला यसरी पालमुनि बसेर पढ्नुपरेको छ ।’

चैतको महिना बेला–बेला आउने हावाहुरीले पाल नै उडाउँछ कि जस्तो हुन्छ । ‘पालमुनि त्रासमै बस्नुपरेको छ । परीक्षाको तयारीमा समस्या भएको छ ।’ विसदले पालबाटै बाहिर हेर्दै भने । उनी बस्ने पाल अलिअलि च्यातिएको छ ।

अहिलेसम्म उनले दुई वटा विषयको परीक्षा दिए, अंग्रेजी र नेपालीको । ‘दुवै विषयको परीक्षा राम्रै भएको छ, अब के हुन्छ ? उनले भने । दिनमा पालमुनि निकै गर्मी हुन्छ, जसले पालभित्र बसेर पढ्न समस्या गराएको छ ।

पालको मात्र होइन, शिविरको हो–हल्लाले उनको पढाईलाई बाधा पुर्याएको छ । ‘दिउँसो पालमा बसेर पढ्न सकिन्नँ, साँझ हो–होल्ला उत्तिकै हुन्छ ।’ उनले भने, ‘शिविरमा बसेर पढ्ने वातवरण नै छैन ।’

[caption id="attachment_41128" align="alignleft" width="840"] नेपाली विषयको परीक्षा दिइरहेकी आकृति सुवाल ।[/caption]

विसदले बागेश्वरी उच्च माध्यामिक विद्यालयबाट एसएलसी परीक्षा दिइरहेका छन् । उनले भूकम्पपछि बसाईसराई गर्नुपरेकाले सोचे जस्तो तयारी नभएको गुनासो गरे । शिविरमै भेटिएको अर्की विद्यार्थी आकृति सुवाल पनि अहिले एसएलसी परीक्षा दिइरहेकी छिन् । शिविरमा पालमुनि बसेर एसएलसीको तयारी उनका लागि अपुरो भएको छ । ‘घर जस्तो नहुँदो रहेछ, समस्या नै समस्याको बीचमा शिविरबाट एसएलसी परीक्षामा दिनुपरेको छ ।’ उनले भनिन्, ‘साँघुरो टेन्टको बसार्इंछ, त्यहींमाथि परिवारको सबै सदस्य एकै ठाउँमा बस्दा पढ्ने वातारण नहुँदोरहेछ ।’ आकृतिलाई दिँउसो टेन्टमा बसिरहँदा टाउको दुख्ने समस्या भएको छ । यो वर्ष भूकम्प र पराकम्पनले स्कूलमा पनि राम्रोसँग पढ्ने वातवरण नबनेको उनले बताइन् । मानसिक तनावकाबीच एसएलसीको परीक्षा विद्यार्थीहरुका लागि ठूलो समस्या बनेको छ । ‘एसएलसीको तयारी सोचे जस्तो भएन’ उनले भनिन् । शिविरमा आवश्यक मात्रामा खानेपानी र शौचालयको सुविधा छैन् । यसले पनि त्यहाँका विद्यार्थीले समस्या झेल्दै आएका छन् ।

त्यही शिविरबाट एसएलसी दिइरहेका सरल काजुले पनि आफ्नो पिडा सुनाए । ‘साँझ घरमा गएर पढ्ने वातवरण पनि छैन् । लोडसेडिङ हुन्छ, कसरी पढ्ने ?’ उनल भने, ‘एसएलसीभर लोडसेडिङ घटाइदिए पनि हुन्थ्यो ।’ उनले पद्धम उच्च माध्यामिक विद्यालयबाट एसएलसी दिइरहेका छन् ।

[caption id="attachment_41127" align="alignleft" width="840"] नेपाली विषयको परीक्षा दिइरहेका सरल काजु ।[/caption]

भक्तपुर जिल्ला शिक्षा कार्यलयका अनुसार करिब एक सय विद्यार्थी अहिले शिविरमा बसेर एसएलसी दिएका छन् । भूकम्प प्रभावित अन्य जिल्लामा पनि यस्ता विद्यार्थी छन् । तर, उनीहरुका लागि कुनै भिन्दै सुविधा भने छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप