शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बूढाबूढीको मुहारमा खुशी खोजिरहेकी युवतीको कथा

शुक्रबार, २६ चैत २०७२, १३ : ०६
शुक्रबार, २६ चैत २०७२

‘हामी त डाँडामाथिको जून भइसकिम् ।’ हजुरबा–हजुरआमा भन्छन् । यसो भन्दा उनीहरूको मुहारमा खैरो गम्भीरता पोतिएको हुन्छ । अस्ताउने समयको सन्निकटताको आभाष पोखिएको हुन्छ । जीवनको लामो गोरेटो छिचोलिसकेपछि आउने हरेक देउराली अन्तिमजस्तो लाग्दो हो उनीहरूलाई । लाग्दो हो– आफूसँगै बोकी ल्याएको जीवनदर्शनको सार कसैलाई सुनाउन पाए हुन्थ्यो । हजुरबा–हजुरआमाकै काखमा हुर्केकी आरती पौडेलले ज्येष्ठ नागरिकको यस्तो मनोविज्ञानलाई राम्ररी परख गरेकी थिइन् । उनीहरूको मायाको घनत्व उनीलाई थाहा थियो । संयुक्त परिवारमा हुर्किएर उनीहरूलाई गर्नुपर्ने सम्मानको बोध पनि उनीसँग थियो । ‘प्लस टू’मा विज्ञान पढेपछि आरतीले कलेजमा आफ्नै रूचिको विषय ‘सोसल स्टडी’ पढिन् । त्यस क्रममा वृद्धाश्रम निःसहाय सेवा सदन, तिनकुनेमा छ महिना स्वयंसेवा गरिन् । त्यहाँ उनले आफ्ना हजुरआमा–हजुरबुबाका थुप्रै प्रतिच्छाया भेटिन् । तर उनीहरूको नियती आफ्ना हजुरआमा–हजुरबुबाको भन्दा फरक थियो । कोही नभएका, अपहेलित भएर सडकमा पुगेका वृद्धवृद्धाको क्लान्त अनुहारले उनलाई लखेट्न थाल्यो । उनीहरूले जीवनभर गरेको संघर्ष र प्राप्त गरेको अनुभव घाटको बाटो कुर्दै खेर गइरहेको थियो । पश्चाताप, एक्लोपन र सासको गह्रुँगो भारी बोकेर स्वाँ–स्वाँ गर्दै मृत्युको उकालो चढिरहेका कमजोर यात्रीजस्ता । कलेजको ‘असाइनमेन्ट’ पूरा गरुन्जेल पनि आरतीको मनमा भावुकता लहराउँथ्यो, ‘ओहो, हाम्रो समाजमा ज्येष्ठ नागरिकको यस्तो हाल छ । यस विषयमा न राज्यले केही गरिरहेको छ, न त अन्य सरोकारवालाले । न्यूक्लियर फ्यामिली ट्रेन्ड बढ्दैछ, त्यसपछिको के हुने होला ? जसले जीवनभर नयाँ पुस्ताको लागि आफ्नो रगत सुकायो, तिनकै यस्तो हालत हेर्न कसरी सकिन्छ ? अनि फेरि, मेरो पनि त बुढेसकालको हाल त यही होला नि !’ यही भावनाले लखेटिँदै आरतीले अठोट गरेकी थिइन् कि पढाइ सकेर ज्येष्ठ नागरिककै लागि केही गर्छु । त्यही अठोटलाई कार्यान्वायन गर्न ०६९ मा उनले ‘सार, नेपाल’ संस्था स्थापना गरिन् । त्यतिबेलासम्म एउटा गैरसरकारी संस्थामा गरेको कामले उनीलाई केही पाको बनाइसकेको थियो । चुनौती स्वीकार्न सक्ने बनाएको थियो । त्यसैले खाइपाइ आएको जागीर छोडेर उनी ज्येष्ठ नागरिकको सेवामा सम्पूर्णतः समर्पित हुने बाटोमा हिँडिन् ।

जीवन–चराको चिर्बिर आरतीले सार नेपाल स्थापना गरेपछिका सुरुवाती दिन ज्येष्ठ नागरिकबारे जनचेतनामा बिताइन् । त्यसपछि बिस्तारै आवश्यक कोष निर्माणका कार्यक्रम बने । त्यसपछि ज्येष्ठ नागरिक आउने, बस्ने र सिर्जनशील गतिविधि गर्ने स्थानको खोजीमा उनी लागिन् । त्यसको लागि उनले घना बस्ती भएको नयाँ बानेश्वर क्षेत्र छनोट गरेकी थिइन् । थापागाउँको एउटा सानो घर भाडामा लिइन् । त्यसलाई नेपालको ‘पहिलो ज्येष्ठ नागरिक दिवा सेवा एवम् आजीवन अध्ययन केन्द्र’मा रूपान्तरण गरिन् । ०७० साल असोजमा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस पारेर उद्घाटन पनि गरिन् । स्वयम्सेवक साथीसहित घर–घर पुगेर आफूले सुरुवात गरेको कामबारे प्रचार गर्न थालिन् । काम नयाँ थियो, क्षेत्र नयाँ, नयाँ नै थिए चुनौती, अवसर पनि नयाँ नै । उनले नयाँ काम गर्नुको मज्जा अनुभूति गर्न थालिन् । त्यहाँ कुनै पुराना अपेक्षाको पर्खाल थिएन, जे गरिन्छ, आफ्नै सोचले गरिन्छ भन्ने आत्मविश्वास थियो । त्यसैले उनले कहिले अध्ययन–अध्यापन, कहिले स्वास्थ्य जाँच, कहिले भजन–सत्संगजस्ता कार्यक्रम सुरु गरिन् । बिस्तारै वरपरका ज्येष्ठ नागरिकहरू खाना खाएपछि सार नेपालको कार्यालयतिर हिँड्न थालेको दृश्य देखिन थाल्यो । उनीहरू त्यहाँ आउँथे, आफ्नै जीवनको सारबारे चिन्तन गर्न थाले । आफूजस्तै जीवनको लामो बाटो हिँडेर आइपुगेको अर्को सहयात्रीलाई भेट्न थाले, चिनजान गर्न थाले र उस्तै लयको कथा उस्तै सुसेलीमा सुनाउन थाले । आरती उनीहरूको वरिपरि हुन्थिन् । वृद्धवृद्धाहरू एक–आपसमा कुराकानी गर्दै मुस्कुराएको देख्दा उनलाई उजाड डाँडामा हरियाली फैलिएजस्तो लाग्न थाल्यो, चिरबिर–चिरबिर गर्दै जीवनका चराहरू उडेको देख्न थालिन् । त्यसले उनको हृदयमा आनन्द वर्षा गर्न थाल्यो । मनमा उर्जा भर्न थाल्यो । तीन वर्षको अवधिमा उनले विभिन्न फरक काम थालिन् । जस्तो कि केही समयअघिमात्रै उनले ‘अन्तरपुस्ता अन्तरक्रिया’ कार्यक्रम गरिन् । त्यसअघि आफ्नो जन्मदिनमा ज्येठ नागरिकलाई हजुरबुबा–हजुरआमा बनाउने कार्यक्रम ‘एडप्ट अ ग्राण्डप्यारेन्ट अन दी बर्थडे’ सुरु गरेकी छिन् । बानेश्वरका १०६ बर्षीय राइटर बाजेलाई हजुरबुबा बनाएर उनले नै कार्यक्रमको सुरुवात गरेकी थिइन् । घरबाट अपहेलित भएर सडकमा पुगेका ज्येष्ठ नागरिकलाई परिवारमै पुनस्र्थापना गर्न नसकेपछि उपयुक्त वृद्धाश्रममा पुर्याउने र निगरानी गर्ने काम पनि उनले थालेकी छिन् । त्यसका लागि ‘सोसल वर्क’ अध्ययन गरिरहेका स्वयम्सेवीलाई परिचालन गर्छिन् । त्यस्ता युवालाई समेटेर ‘ज्येष्ठ नागरिकका लागि युवा’ भन्ने समूह नै बनाएकी छिन् ।

ज्येष्ठ नागरिकलाई सिर्जनशील समय बिताउने स्थान निर्माणको लागि घर लिएको केही समयमा एकजना ‘आमा’ पुगिन् । उनले भनिन्, ‘मैले हिजो थाहा पाएकी, आजै आएँ । मलाई त कति खुशी लाग्यो ।’ आरतीले उनीसँग कुरा गर्न थालिन् । तिनको श्रीमानको मृत्यु भएको रहेछ । छोराबुहारी व्यस्त । आफ्नो जीवनसाथी बिताएको वर्षजस्तो गाह्रो कहिले पो हुन्छ र ? त्यस्तो बेला कोही पनि साथ हुँदा एक्लोपनले तिनलाई सताइरहेको रहेछ । सत्तरी वर्षको उमेरमा भोग्नुपरेको एक्लोपनले तिनलाई ‘फ्रस्टेड’ बनाइसकेको रहेछ ।

यी हजुरबुबा, ती हजुरबुबा आरती कपिलवस्तु जन्मिन्, तर हुर्किन् बुटवलमा । अर्घाखाँचीबाट कपिलवस्तु हुँदै बिुटवल पुगेको थियो उनको परिवार । उनको परिवार नेपाल मानव धर्म सेवा समिति भन्ने संस्थासँग जोडिएको थियो । त्यसैले बाल्यकालबाटै समितिले गर्ने समाजसेवाका विभिन्न प्रक्रियामा सहभागी थिइन् उनी । जहाँ परसेवामा लाग्नु नै उत्तम धर्म हो भन्ने पाठ सिकाइन्थ्यो । विभिन्न बालकार्यक्रममा सहभागी भएर उनको शनिवार आश्रममै बित्थ्यो । अर्थात हजुरआमा–हजुरबुबाको सान्निध्यमा बित्थ्यो । उनी पहिलो सन्तान थिइन् । त्यसैले आमा कतै जाँदा सँगै जाने अवसर बहिनीहरूको भागमा बढी पथ्र्यो । उनीलाई भने अर्को सुनौलो अवसर जुथ्र्यो हजुरआमा–हजुरबुबासँग बस्ने । उनीहरूले सुनाएका कथा सुन्ने । जीवनदर्शन बुझ्ने । अहिले आरतीको आफ्नै हजुरआमा–हजुरबुबा भने हुनुहुन्न । हजुरबुबा बितेको एक बर्ष पनि भएको छैन, हजुरआमाचाहिँ केही बर्षअघि नै बित्नुभएको हो । सार नेपालमा आउने ज्येष्ठ नागरिकले उनलाई हरेक पल आफ्नो हजुरआमा–हजुरबुबाको स्मरण ताजा पारिदिन्छन् । ‘आमाबुबाले जे सिकाउन पाउनुभएन, त्यो उहाँहरूले सिकाउनु भएको थियो । बुबाआमाले गाली गर्दा पनि मायाले ढाकछोप गर्ने गर्नुहुन्थ्यो । ती दिन खुप सम्झना आउँछ ।’, उनले भावुक हुँदै भनिन् । हजुरबुबा भूकम्पपछि नै बित्नुभएको हो । भूकम्पपछि राहत वितरणको दौडधूम थिइन् उनी । एक्कासी घर जान मन लाग्यो, पहिले त घर इटहरी गएर माइती बुटवल जाने योजना बनेको थियो । तर उनको मन परिवर्तन भयो र पहिले माइती जाने योजना बन्यो । माइती पुगेर फर्किएको भोलिपल्टै हजुरबुबा बिरामी पर्नुभयो । त्यही कारण बित्नुभयो । ‘मलाई उहाँले विदा माग्न बोलाएझैं लाग्यो । यदि म इटहरी भएको भए उहाँसँग भेट नै नहुने रहेछ । उहाँले कुनै न कुनै रूपमा मलाई बोलाउनु भएको रहेछ भन्ने अनुभूति भइरह्यो ।’ उनले सम्झिन् । आफ्नै हजुरबुबा बित्नुअघि नै आरतीले अर्को हजुरबुबा भने बनाइसकेकी थिइन्, ‘एडप्ट अ ग्राण्डप्यारेन्टस् अन योर बर्थडे’ कार्यक्रम सुरुवात गर्दै । जसबाट उनी हजुरबुबाले दिने माया पाइरहेकी छिन् । उनले आफ्नै हजुरबुबालाई पनि भनेकी थिइन्, ‘मैले अर्को हजुरबुबा पनि बनाएको छु नि ।’ हजुरबुबाको जवाफ थियो, ‘बूढाबूढी सबै तिम्रो हजुरआमा–हजुरबुबा हुन् । त्यसैले सबैलाई माया गर्नुपर्छ ।’ त्यो सम्झेर उनी भावुक हुन्छिन् र आफूप्रति गर्व पनि गर्छिन् । किनकि उनी अहिले त्यही मायाकै बाटोमा छिन् । शुद्ध शाकाहारी बसेर गाईको सेवा गरिरहेका १०६ बर्षीय राइटरबाजेको मायाले पनि उनी हुरुक्कै हुन्छिन् । ‘उहाँलाई हामीले पछिल्लोचोटी कहाँ भेट्यौं भन्ने पनि याद हुन्छ । केही समय उहाँकोमा जान भ्याइएन भने नियास्रो मान्नुहुन्छ । हरेक भेटमा गीताको दुई श्लोक सुनाउनुहुन्छ । केही नखाइ फर्किनै दिनुहुन्न । हरेक चाडवाड र कार्यक्रममा बोलाउनुहुन्छ । बरु मैले उहाँलाई दिने सम्मानमा चुकेको हुँला, उहाँले दिने मायामा कहिल्यै पनि चुक्नुभएको छैन ।’ उनले एकैसासमा सुनाइन् । यस क्रममा उनले अनुभूति गरिन्– यस्तो सम्बन्धलाई जेष्ठ नागरिकले निकै संवेदनशील रूपमा लिँदारहेछन् । आफूले विभिन्न देशको अभ्यास अध्ययन गरेर सुरु गरेको कार्यक्रमको प्रभावकारिता देखेर उनी आफैं छक्क छिन् ।

कहिले दुःखी आँशु, कहिले खुशी आँशु आरती जब आफ्नो कामबारे सूचना दिन आफ्नो समूहसहित घर–घर जान्थिन्, मान्छेहरू झस्किन्थे । कोहीले किताब बेच्न आएका होलान् भन्ने सम्झन्थे त कोहीले धर्मको प्रचार गर्न आएका ठान्थे । ज्येष्ठ नागरिकलाई कसरी आफूले भनेको ठाउँसम्म ल्याउने भन्ने नै समस्या भयो । ज्येष्ठ नागरिकलाई सिर्जनशील समय बिताउने स्थान निर्माणको लागि घर लिएको केही समयमा एकजना ‘आमा’ पुगिन् । उनले भनिन्, ‘मैले हिजो थाहा पाएकी, आजै आएँ । मलाई त कति खुशी लाग्यो ।’ आरतीले उनीसँग कुरा गर्न थालिन् । तिनको श्रीमानको मृत्यु भएको रहेछ । छोराबुहारी व्यस्त । आफ्नो जीवनसाथी बिताएको वर्षजस्तो गाह्रो कहिले पो हुन्छ र ? त्यस्तो बेला कोही पनि साथ हुँदा एक्लोपनले तिनलाई सताइरहेको रहेछ । सत्तरी वर्षको उमेरमा भोग्नुपरेको एक्लोपनले तिनलाई ‘फ्रस्टेड’ बनाइसकेको रहेछ । ‘आमा’को कथा सुनेर उनको आँखा रसाए, एकातिरबाट तिनको दुःखमा दुःखी आँसु बगे, अर्कातिर आफूले सुरु गरेको कामको महत्व प्रमाणित भएको देखेर खुशी आँसु बगे । उनको खुशी आँसु घरमा पनि ‘सेयर’ गरिन् । भैरहेको जागिर छोडेर अनिश्चित बाटोमा दौडिनुको औचित्य पुष्टिको अवसर पनि थियो त्यो उनीको लागि । त्यस रात उनलाई खुशी अँगालो मारिरह्यो र निन्द्राले परैबाट हेरिरह्यो । त्यसो त उनी कहिले खुशी र कहिले चिन्ताले धेरै रात सुतेकी छैनन् । पछिल्लो समय जब सडकमा पु¥याइएका जेष्ठ नागरिकबारे पनि केही गर्नुपर्ने दवाव आयो अनि सडकको ‘केस’ हेर्न थालिन्, त्यबेला पनि उनको निद्रा गायव भयो । बढ्दै गरेको जाडोले कठ्यांग्रिएका ज्येष्ठ नागरिकलाई उपयुक्त ‘सेल्टर’को विकल्प दिन सकिन्छ कि सकिँदैन भन्ने चिन्ताले उनलाई धेरै सतायो । त्यो समस्यालाई उनले केही राम्रो वृद्धाश्रमको सहयोग लिएर सल्टाइन् ।

एकजना ‘बुबा’को कथा सुनाइन्, ‘उहाँ नेवार परिवारको हुनुहुन्छ । जागिरबाट रिटायर्ड हुनुभएको रहेछ । परिवारले पनि माया नै गर्ने । तरपनि जीवनबाट सन्तुष्ट हुनुहुन्नथ्यो । कारण के रहेछ भन्ने बुझ्दै जाँदा उहाँले कत्थक नृत्य सिकेर आउनुभएको रहेछ भारतबाट । तर परिवारको दवावले जागीर सुरु गर्नुभयो । अहिलेसम्म पनि उहाँलाई आफूले सिकेको सीप अरूलाई प्रसार गर्न पाइएन भनेर चिन्ता हुँदोरहेछ । उहाँ बिरामी पनि हुनुहुन्थ्यो । आफ्नो सीप कसैलाई नसिकाइ मर्छु कि भन्ने पीर रहेछ उहाँमा ।

मायाको अभावले कमजोर बढ्दै गएको व्यस्तता र विदेशिने परिपाटीले समाजमा समृद्ध परिवारकै ज्येष्ठ नागरिक पनि पीडामा परिरहेको धेरै कथा उनले नजिकैबाट पढेकी छिन् । ‘एकजना आमा हुनुहुन्छ हाम्रो कार्यालय नजिकै बस्ने । उहाँलाई व्यवहारिक हिसाबले परिवारले दुव्र्यवहार गरेको पनि होइन । आफू पनि सक्षम महिला हो, वायु सेवा निगमबाट सेवानिवृत्त हुनुभएको । तर उहाँलाई एक्लोपनले कसरी कमजोर बनायो भन्ने कथा सुनेपछि हामी निकै हल्लियौं ।’ उनी भन्छिन् । उनका अनुसार उनी केही सिकाउने उद्देश्यसहित स्वयम्सेवा गर्न सार नेपाल पुगेकी थिइन् । त्यहाँ निरक्षरलाई साक्षर बनाउने कार्यक्रममा सहयोग पनि गर्न थालेकी थिइन् । ‘नियमित आउनुहुन्थ्यो र सक्रिय हुनुहुन्थ्यो ।’ पहिलो चरणमा भेटिँदाकी ती आमाप्रति टिप्पणी थियो आरतीको । ‘तर एउटा दुर्घटना भएर उहाँको खुट्टा फ्याक्चर भयो । त्यो सामान्य दुर्घटना थियो, तर ठूलो दुर्घटनाचाहिँ उहाँको मनमा भएछ । छोराछोरी सबै बाहिर भएका कारण उहाँलाई केयर गर्ने मानिस कोही भएन । त्यसले उहाँलाई यति पीडा दियो कि डिप्रेस्ड नै हुनुभएछ । बीचमा हामी घरमै भेट्न गएका थियौं । तर उहाँ हामीकहाँ आउन छाड्नुभयो । उहाँ निकै निराश हुनुभएछ । हामीले फलोअप गरेर परामर्श पनि दियौं । त्यसपछि आउन थाल्नुभएको थियो । त्यसैबेला अर्को दुर्घटना भयो । लड्दा घाँटीनेरको हड्डी नै फ्याक्टर भयो । त्यसपछि उहाँ झनै डिप्रेसनमा जानुभएछ । निको भइसकेपछि हामीले उहाँलाई बोलायौं । कार्यक्रममा आएर उहाँ यसरी भक्कानिएर रुनुभयो कि हामीलाई सम्हाल्न निकै गाह्रो भयो ।’ उनले सुनाइन् । सक्षम र समृद्ध अवस्थाको व्यक्ति पनि माया र हेरचाहको अभावमा कसरी कमजोर हुँदोरहेछ भन्ने यस्ता थुप्रै उदाहरणबाट आरती उत्प्रेरित छिन् । आफूले सही काम गरिरहेकी छु भन्नेमा विश्वस्त । अझ त्यसरी बिरामी भएको बेला हेरचाह गर्ने स्थान पनि भइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ । भन्छिन्, ‘सबै कुरा आफैंले पनि गर्न नसकिने रहेछ । तर त्यस्तो स्थान पनि निकै आवश्यक देखिएको छ ।’

खुशीको खोज त्यसो त जीवनमा आफ्नो रूचिको क्षेत्रमा काम गर्न नपाउँदा पनि बुढेसकालमा मानिसहरू ‘डिप्रेस्ड’ हुँदारहेछन् भन्ने पनि आरतीले बुझिन् । उनले एकजना ‘बुबा’को कथा सुनाइन्, ‘उहाँ नेवार परिवारको हुनुहुन्छ । जागिरबाट रिटायर्ड हुनुभएको रहेछ । परिवारले पनि माया नै गर्ने । तरपनि जीवनबाट सन्तुष्ट हुनुहुन्नथ्यो । कारण के रहेछ भन्ने बुझ्दै जाँदा उहाँले कत्थक नृत्य सिकेर आउनुभएको रहेछ भारतबाट । तर परिवारको दवावले जागीर सुरु गर्नुभयो । अहिलेसम्म पनि उहाँलाई आफूले सिकेको सीप अरूलाई प्रसार गर्न पाइएन भनेर चिन्ता हुँदोरहेछ । उहाँ बिरामी पनि हुनुहुन्थ्यो । आफ्नो सीप कसैलाई नसिकाइ मर्छु कि भन्ने पीर रहेछ उहाँमा । त्यसपछि हामीले हाम्रा भोल्युन्टर बहिनीहरूलाई राखेर कत्थक नृत्यको कक्षा सुरु गर्यौं । त्यसपछि त उहाँ फ्रेस हुँदै जानुभयो ।’

ढिपीको पर्दा पुरानो पुस्तामा जीवनलाई भोगेर आएको एउटा अनुभव हुन्छ । त्यसले स्वभाव पनि बनाइदिएको हुन्छ । त्यसैले कतिमा आफ्नो ढिपी गर्ने स्वभाव हुन्छ । त्यही ढिपीको पर्दाभित्र ज्येष्ठ नागरिकको दुःख लुकेको हुँदोरहेछ । त्यस्ता कतिपय स्वभावलाई ‘अन्तरपुस्ता अन्तरक्रिया’का माध्यमबाट हल गर्न सकिँदोरहेछ भन्ने अनुभव पनि आरतीले हासिल गरेकी छिन् । केही समयअघिमात्रै गरेको अन्तरक्रिया कार्यक्रम सम्झिँदै उनले भनिन्, ‘एकजना नानीले भनिन् कि मलाई हजुरआमाले पाइन्ट लगाएको मनै पराउनुहुन्न । जहिले पनि कराउनुहुन्छ, हिँड्ने बेलामा मुड अफ गराउनुहुन्छ । त्यहाँ एकजना हजुरआमा पनि हुनुहुन्थ्यो । उहाँलाई पनि आफ्नो नातिनीले पाइन्ट लगाएको मन पर्दोरहेनछ । त्यसपछि उहाँले रियलाइज गर्नुभयो । र, आफ्नो ढिपीले आफैंलाई कसरी दुःखी बनाउँदोरहेछ भन्ने बुझेँ भन्नुभयो ।’ विभिन्न अन्तरक्रियाका माध्यमबाट कुरा बुझाउँदा कतिपय ज्येष्ठ नागरिकले परिवारलाई गर्ने व्यवहार पनि फरक भएको पाएकी छिन् उनीले ।

जीवनको सार यसरी सार नेपालमा आइपुग्ने ज्येष्ठ नागरिकबाट उनले उनीहरूको मनोविज्ञानलाई नजिकबाट नियालेकी छिन् । उनीहरूको दुःख र अनुभूतिको तह उनीहरूको पृष्ठभूमिले पनि निर्धारण गर्छ भन्ने बुझेकी छिन् । त्यसैअनुसार सिर्जनशील गतिविधिमा संलग्न गराउने प्रयत्नमा हुन्छिन् उनी । ‘धेरै ज्येष्ठ नागरिकमा पश्चाताप हुँदोरहेछ । त्यससँगै समाजमा आफ्नो कुरा सुन्ने मान्छे छैनन् भन्ने अनुभूतिले खाँदोरहेछ । अघिल्लो दिनसम्म एउटा स्तर भएको मानिसलाई पनि सेवानिवृत्त भइसकेपछि वास्ता नगर्ने परम्पराको असर पनि देखिँदोरहेछ ।’ उनले निष्कर्ष सुनाइन्, ‘त्यो उमेरमा पुगेपछि शारीरिक रूपमा कमजोर हुने नै हुन्छ । त्यसका साथै मानसिक तनाव पनि हुने गरेको देखिएको छ । कसैको घरमा मेलमिलाप हुँदैन । कसैको छोराछोरी साथमा छैनन् । कतिको जीवनसाथी बितेका छन् । जीवनसाथी भएकाहरूमा भन्दा एकल ज्येष्ठ नागरिकमा धेरै समस्या देखिँदोरहेछ । त्यसैले पश्चाताप, एक्लोपन र फ्रस्टेसनले सताइएका हुन्छन् धेरै ज्येष्ठ नागरिक ।’ त्यस्तो अवस्थामा उनीहरूलाई अभिव्यक्त हुने र अन्तरक्रिया गर्ने वातावरण आवश्यक देखिएकोले नै उनले ‘सार नेपाल’ सुरु गरेकी हुन् । त्यसैले संस्थाको नाम पनि ‘सार’ राखेकी हुन् । आखिर ज्येष्ठ नागरिक जीवनको सार नै त हुन् । आरतीको धेरै ठूला सपना छैनन् । तर आफ्नो कामले ज्येष्ठ नागरिकबारे राज्य र सरोकारवाला निकायको ध्यानाकर्षण होस् भन्ने चाहन्छिन् । उनका उमेरका साथी धेरै त विदेशमा छन्, नेपालमै भए पनि व्यक्तिगत सरोकारका काममा बढी व्यस्त छन् । तर आफूचाहिँ सामाजिक क्षेत्रमा सक्रिय हुन पाउँदा उनलाई आनन्द मिल्छ । कहिलेकाहीँ साथीहरूले भनिदिन्छन्, ‘तिमीलाई त सन्तुष्टि बढी नै मिल्दो हो है !’ त्यसो भनिदिँदा उनी अझ खुशी हुन्छिन् । त्यसो त काम गर्न गाह्रो पनि उत्तिकै छ । ‘ज्येष्ठ नागरिकको क्षेत्रमा विदेशी सहयोगको परम्परा नै सुरु भएको देखिँदैन । नेपालकै सरोकारवाला निकायले पनि धेरै वास्ता गरेको देखिँदैन । त्यसैले आर्थिक समस्या भने झेलिरहेकै छौं । अहिलेचाहिँ स्थानीय पञ्चकुमारी श्रद्धा प्रतिष्ठानले स्थान भने सहयोग गरेको छ । त्यसले पनि भाडाको भारबाट भने मुक्त भएका छौं ।’ उनले समस्या बताइन् । तर पनि उनको अनुहारमा चिन्ताको रेखा थिएनन् । ‘जति सकिन्छ, त्यति गर्ने हो’, उनी भन्छिन्, ‘एउटा नागरिकको कर्तव्य निर्वाह गरिरहेको छु भन्ने आभाषले नै मलाई खुशी दिन्छ । यसैमा जीवनको सार खोजिरहेकी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप