सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
सारांश
- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको आरोप लगाएका छन् ।
- उनले सरकारले नागरिक स्वतन्त्रता खुम्च्याएको, राज्यका अंगलाई नियन्त्रणमा लिएको र नागरिकलाई डराएर बस्नुपर्ने स्थिति सिर्जना गरेको दाबी गरे ।
- ओलीले एमाले अरूको भरमा नभई आफ्नै बुतामा उभिने बलियो रुख भएको र पार्टीलाई नवीकृत गर्दै अघि बढ्ने बताए ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानुनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको गम्भीर आरोप लगाएका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारको विरोध गर्ने युवालाई अध्ययन, रोजगारी तथा विदेश जाने अवसरबाट वञ्चित गरिने भन्दै त्रासको वातावरण सिर्जना गर्ने कार्य सरकारले गरिरहेको ओलीको दाबी छ । उनले मुलुकमा नागरिक स्वतन्त्रता खुम्चिँदै गएको तथा राज्यका अंग र निकायहरू समेत कार्यकारिणीको नियन्त्रणमा पुगेको टिप्पणी गरे । सरकार कानुनी शासनको स्थापना गर्नुको सट्टा आफैँ कानुन र नियम मिच्ने कार्यमा सक्रिय रहेको उनको भनाइ छ ।
देशमा नागरिकहरू डराएर बस्नुपर्ने स्थिति सिर्जना भएको भन्दै अध्यक्ष ओलीले आक्रोश व्यक्त गरे । उनले भने, ‘अहिले कोही युवाहरूले सरकारको विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, जागिर खान पाउँदैनस् भन्दै धम्क्याउने काम हुन्छ । धम्काएर, तर्साएर मान्छेलाई वशीभूत बनाउने ? मान्छेहरूलाई त्रासमा पारेर आज देश निसास्सिएको अवस्थामा छ ।’
उनले सरकारको काम कानुनी राज स्थापना गर्ने भए पनि अहिले त्यसको उल्टो भइरहेको बताए । उनले भने, ‘समाज भाँड्ने, बिथोल्ने, समाजमा अराजकता मच्चाउने, कानुन उल्लंघन गर्ने कामको नेतृत्व सरकारले गरिराखेको छ ।’
संसद् समेत सरकारको दबाबमा परेको टिप्पणी गर्दै ओलीले थपे, ‘न्यायपूर्ण कानुन बनाउने संसद्को काम हो । तर संसद् सरकारबाट दमित छ । दमित संसद्ले सरकारी इच्छा अनुसार चार घण्टामा बजेट छलफल गरेर पास गर्छ । राज्यका सबै विभाग र अङ्गको हालत यही छ ।’
उनले राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमले सरकारको काममाथि प्रभावकारी निगरानी र आलोचना गर्नुपर्ने आवश्यकता औँल्याए । ओलीले चेतावनी दिँदै भने, ‘अहिले सबै नागरिक वशीभूत भएर चुपचाप बस्ने हो भने देशको अवस्था अर्कै हुन्छ । देश फासीवादतर्फ उन्मुख हुँदै छ र जनतामा रुवाबासी छ ।’
- ‘एमाले अर्कालाई नसमाती उठ्न नसक्ने लहरो होइन’
सोही कार्यक्रममा अध्यक्ष ओलीले एमाले परिस्थितिसँग आत्तिने र मात्तिने पार्टी नभएको भन्दै आगामी दिनमा नवीकृत हुँदै अघि बढ्ने स्पष्ट पारे । एमाले अर्कालाई नसमातीकन उठ्न नसक्ने लहरो नभई आफ्नै बुतामा उभिने बलियो रुख भएको उनको भनाइ छ । पार्टी र कार्यकर्ता पङ्क्तिलाई पर्याप्त प्रशिक्षित गर्न नसकेका कारण र आईटी प्रशिक्षणमा ध्यान दिन नसक्दा सूचना प्रविधिको आक्रमणमा पार्टी केही पछि परेको उनले स्वीकार गरे ।
आफ्नो पार्टीको स्वतन्त्र अस्तित्वबारे प्रस्ट पार्दै ओलीले भने, ‘हामी यस्तो लहरो होइनौँ जसले अर्कालाई नसमातीकन उठ्न सक्दैन । हामी एउटा स्वतन्त्र, दरो र मजबुत वृक्ष हौँ । हामी अरूको बलमा उम्रेका पनि होइनौँ ।’
उनले एमाले अनेक आँधीबेहरीको सामना गरेर यहाँसम्म आइपुगेको बताए । उनले थपे, ‘हामी आफ्नै बुतामा आएका हौँ र फेरि पनि आफ्नै बुतामा नवीकृत हुँदै अगाडि बढ्छौँ । नेकपा एमाले परिस्थितिसँग आत्तिने वा मात्तिने गर्दैन । अनुकूलता आउँदा हौसिने र प्रतिकूलता आउँदा निराश हुने यो पार्टी होइन ।’
अध्यक्ष ओलीले पार्टीले गरेका सकारात्मक गतिविधिहरूलाई समाजसम्म पुर्याउन आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्न पार्टी कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
-
महाराजगञ्जमा ५ वटा सवारीसाधन आपसमा ठोक्किए, १० जना घाइते
-
राष्ट्र बैंकको सञ्चालक समितिमा अर्थ सचिवलाई राख्न नहुने प्रस्ताव
-
मिटरब्याज पीडित र सरकारबिच ६ घण्टादेखि वार्ता जारी
-
सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने
-
सरकारले नै अराजकता र कानुन उल्लङ्घनको नेतृत्व गरिरहेको छ: अध्यक्ष ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण