शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

साढे ६ तोला सुन चोरीमा संलग्न चार जना पक्राउ

शुक्रबार, ०१ साउन २०८३, १५ : ४२
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • काठमाडौँको कपनबाट साढे ६ तोला सुन चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • प्रहरीले चोरीको सुन खरिद गर्ने दुई जनालाई पनि पक्राउ गरेको छ ।
  • आरोपीहरूको साथबाट प्रहरीले ३ तोला सुनका गहना र ५ तोला चाँदी बरामद गरेको छ ।

काठमाडौँ । काठमाडौँको कपनबाट सुन चोरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । असार १९ मा बिहान साढे ९ बजेपछि बुढानीलकण्ठ नगरपालिका–१० स्थित कपनबाट सुन चोरी भएको थियो । 

तेह्रथुमको छथर घर भएर कपन बस्ने प्रमिला निरौलाको घरमा कोही नभएको मौकामा आरोपीहरूले सुनका गहना चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

घरमा कोही नभएको मौकामा साढे ६ तोला सुन चोरी भएको पीडित परिवारले दाबी गरेका छन् । चोरीमा संलग्न नुवाकोटको बोलकोटगढी नगरपालिका–१२ घर भएका २७ वर्षीय राहुल न्यौपाने र रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ घर भएका ३२ वर्षीय सनि तामाङसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।

चोरीको सुन खरिद गर्ने दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । चोरीको सुन खरिद गर्ने ललितपुर घर भएका ४७ वर्षीय दिपक दुतराज र काभ्रेको रोशी घर भएर ललितपुरमा खाजा पसल सञ्चालन गर्ने ३३ वर्षीय श्याम बहादुर लामा पनि पक्राउ गरिएको एसपी भट्टराईले बताए । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार तारकेश्वर नगरपालिका–६ जरङ्खुबाट पक्राउ गरेको हो ।

आरोपीहरूको साथबाट प्रहरीले ३ तोला सुनका गहना र ५ तोला चाँदी बरामद गरेको छ । राहुल न्यौपाने र सनि तामाङ बालाजुमा भएको दुई वटा चोरीका घटनामा पनि संलग्न रहेको अनुसन्धानबाट थाहा भएको एसपी भट्टराईले जानकारी दिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप