शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

टासी गुरुङ : पढ्दापढ्दै पर्यटक मारे, मदिरा, केटी र क्यासिनोले सिद्धिए

शुक्रबार, २६ चैत २०७२, १७ : २५
शुक्रबार, २६ चैत २०७२

काठमाडौं– राजधानीको म्हैपीमा रहेको कालु गुरुङको घरमा पहिलोपटक पुग्ने धेरैले जिब्रो टोक्छन् । सानोतिनो रंगशाला आकारमा फैलिएको उनको अत्याधुनिक घर दस करोडभन्दा बढी मूल्यमा किनबेच गर्न सकिन्छ । तिनै धनाढ्यका छोरा हुन्– टासी गुरुङ । कुरा २०५२ सालको हो । देशभरि माओवादी आन्दोलन चर्केको बेला काठमाडौंको ठमेलतिर टासीले उद्दण्ड मच्चाउन थालिसकेका थिए । यद्यपि उनी त्यतिबेला विद्यार्थी नै थिए । आफ्नै बाबुले सञ्चालन गरेको महाराजगन्जको ‘भ्याली स्कुल’ मा दस कक्षामा पढ्दै आएका टासी र उनका साथीहरू ०५२ असोज २७ गते राति ठमेलको रेगी पबमा प्रवेश गरे । रेगी पबमा रहेका दुई इटालियन युवती एन्टेनोला केसराइनी र लारा स्किभिनालाई टासीसहितका युवाले डाइरेक्ट सेक्स प्रस्ताव गरे । अपरिचित नेपाली युवाको सेक्स प्रस्तावलाई इटालियन युवतीले अस्वीकार गर्दा टासी र उनको समूह वादविवादमा उत्रियो । छेउमा २१ वर्षीय डेभिड क्यारारो स्नुकर खेल्दै थिए ।

स्नुकर खेलिरहेका क्यारारोलाई आफ्ना साथीहरूप्रति टासीको समूहले गरेको व्यवहार चित्त बुझेन । ‘हामीलाई किन डिस्टर्ब गरेको ?’ डेभिडले यतिमात्र के भनेका थिए, टासीले डेभिडको हातमा रहेको स्नुकरको लौरो खोसेर उनैको टाउकोमा बजारे । मदिराको नशामा लठ्ठ भएर पब छिरेका टासीसहितका पाँच युवाले कुटपिट गरी छुरी प्रहार गरेपछि डेभिड ढले, वीर अस्पताल पुर्याउनासाथ डाक्टरले उनलाई मृत घोषित गरिदिए । त्यसपछि टासीले आफ्नो नाम फेरे । मनाङ जिल्लाको नावल स्थायी घर भएका टासीले त्यसै वर्ष भएको एसएलसी परीक्षा दिएनन् । प्रहरीबाट बच्न सन्डुप घलेको आवरणमा कहिले भारत, कहिले काठमाडौंमा लुक्ने गरेका गुरुङ पर्यटक मारेको डेढ वर्षपछि अमेरिका उडे । अमेरिका उड्नुअघि उनको रोचक कथा बाँकी नै छ । कालुको अवैध सम्बन्धबाट जन्मेका ‘टासी’ मनाङका कालु मनाङ्गे भन्ने तेन्जिङ गुरुङले ‘वन्यजन्तु चोरी सिकार’ प्रकरणमा सजाय काटिसेकका छन् । प्रहरीका अनुसार कालु सुन तस्करीमा पनि संलग्न थिए । प्रहरी स्रोतका अनुसार तिनै कालुको अवैध सम्बन्धबाट जन्मेका थिए– टासी गुरुङ । त्यतिबेला तल्लो मनाङकी सबैभन्दा राम्री मयुरी गुरुङ (नाम परिवर्तन) सँग विवाह नहुँदै टासी जन्मेका थिए । कालुले मयुरीसँग फगत सम्बन्धमात्रै राखे, विवाह गरेनन् । टासी सात वर्षको हुँदा आमाले छाडिन् र मनाङकै सोनाम (नाम परिवर्तन) सँग विवाह गरिन् । मयुरीले छाडेपछि कालु मनाङ्गेले सात वर्षीय टासीलाई दार्जिलिङ लगेर पढाए । ११ वर्षसम्म दार्जिलिङमा पढेपछि काठमाडौं फर्केर भ्याली स्कुलमा चार कक्षामा भर्ना भए । त्यतिबेला कालुको स्वामित्वमा रहेको महाराजगन्जको भ्याली स्कुलको व्यवस्थापन अहिले परिवर्तन भइसकेको छ । विनोदले छुट्याए, मुसलमानले सुताए ! त्यो रात टासीको समूह रेगी पब छिर्नुअघि इटालियन युवतीसँग दुई नेपाली पुरुष कुरा गरिरहेका थिए । रामकृष्ण डंगोलले सञ्चालन गरेको पबमा नेपाली पुरुष विनोद गुरुङ र आरिफ मुसलमान बियर पिउँदै कुरा गर्दै थिए । २१ वर्षीय डेभिड क्यारारो स्नुकर खेल्दै थिए । त्यसपछि टासीको साथमा पाँच स्कुले केटा अचानक पबमा प्रवेश गरे । टासीको साथमा राजु गुरुङ, ललित गुरुङ, खाम्सुङ गुरुङ र सोनाम गुरुङ ‘सेक्सी’ पबमा प्रवेश गरेका थिए । इटालियन युवतीलाई सेक्स प्रस्ताव गर्दा विवाद बढेपछि टासीको समूह डेभिडलाई आक्रमण गर्न थाल्यो । डेभिडलाई स्नुकरको लौरो, कुर्सी, बियरका बोतल र छुरी प्रहार गर्दा विनोद गुरुङले छुट्याएका थिए । यता, विनोदसँगै रहेका आरिफ मुसलमान रमिते बनेर हेरिरहे । डेभिडको मृत्यु भएको यकिन भएपछि टासीको समूह रेगी पबबाट बाहिरिएको थियो । ‘उनीहरू त्यो रात आरिफ मुसलमानले सञ्चालन गरेको क्षेत्रपाटीको फिस्टेल लजमा गएर सुतेको देखिन्छ’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘आरिफ पनि टासीकै ग्याङको केटा थियो ।’रेगी पब सञ्चालक रामकृष्ण डंगोलले प्रहरीको सहयोगमा डेभिडलाई वीर अस्पताल पुर्याए तर बचाउन सकेनन् । राजधानीको विभिन्न स्थानमा करिब २० दिन लुकीछिपी बसेको टासीको ग्याङ त्यसपछि नेपाल–भारत सिमानामा पुगेको थियो । त्यसैक्रममा राजु गुरुङ र खाम्सुङ गुरुङ पक्राउ परे । वर्ष दिनको जेल सजाय काटेर उनीहरू रिहा भइसकेका छन् । अहिले राजु युके बस्छन् भने खाम्सुङ हङकङतिर छन् । पर्यटक मारेको डेढ वर्षपछि टासी अमेरिका उडे । यसरी उडे अमेरिका ! सन्डुप घलेको पासपोर्टमा आफ्नो फोटो टाँसेर अमेरिका उडेका टासीले भिसा लागेको पासपोर्ट त्यतिबेला साँढे चार लाखमा खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । त्यसरी खरिद गरेको नक्कली पासपोर्टमा उनको स्थायी ठेगाना गोर्खा जिल्लाको समा गाविस वडा नम्बर ३ उल्लेख छ । अमेरिकामा टासीले स्टल चलाएका थिए । सो स्टल अहिले पनि भाडामा लगाएर नेपाल आएको टासीले प्रहरीसँगको बयानको भनेका छन् । अमेरिका पुगेको तीन वर्षपछि टासीले सोलुखुम्बुकी निमा शेर्पा ‘नाम परिवर्तन’ सँग विवाह गरे । उनी त्यतिबेला अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । यती एयरलाइन्स सञ्चालक आङछिरिङ शेर्पाको भान्जीसमेत रहेकी निमा हाल लाजिम्पाटको सांग्रिला होटलसँगै रहेको ‘सासा’ नामक फेन्सी पसल चलाएर बसेकी छन् । अमेरिकामा निमाका तीन छोराछोरी जन्मिए । मदिरा, केटी र क्यासिनोले सिद्धिए तीन छोराछोरी जन्मेपछि निमाले काम गर्न सकिनन् । छोराछोरीको हेरचाहमै उनका समय बित्न थाल्यो । यता टासी भने मदिरा, केटी र क्यासिनोको लतमा थिए । अमेरिकाको कमाइले टासीको परिवार टिक्नै नसक्ने अवस्थामा पुग्यो । त्यसपछि टासीले निमालाई नेपाल पठाउने निधो गरे । ‘तिम्रो माइती आर्थिक रूपमा सवल छ, नेपालमै गएर केही काम गरेर बस’ भन्दै उनले निमालाई नेपाल फर्कने टिकट काटिदिए । दुई छोरी र एक छोरा लिएर निमा नेपाल फर्किन् । यो आजभन्दा करिब चार वर्षअघिको कुरा हो । त्यतिबेला टासीले अमेरिकामा आफू मदिरा र क्यासिनोको लतबाट बाहिर निस्कने वाचा गरेका थिए । टासीले वाचा पूरा गर्नै सकेनन् । बरु श्रीमती नेपालक फर्केको केही समयपछि उनी पनि फर्के । करिब साढे तीन वर्षदेखि नेपालमै रहेका टासी अनेक निहुँ झिकेर श्रीमतीसँग झगडा गर्न थाले । उनले पटक–पटक श्रीमतीलाई मार्न खोजेको उजुरी परेको प्रहरीको भनाइ छ । पेट्रोल छर्केर श्रीमती मार्न खोज्दा निमा महाराजगन्जमा बस्थिन् । लाजिम्पाटमा व्यापार गर्थिन् । २०७१ कात्तिक १८ गते श्रीमतीले सञ्चालन गरेको लाजिम्पाटको ‘सासा’ नामक फेन्सी पसल पुगेका टासीले पेट्रोल छर्केर निमालाई जिउँदै जलाउन खोजे । श्रीमती भागेर महानगरीय प्रहरी वृत्त लैनचौर पुगिन् । टासीविरुद्ध उजुरी दर्ता गरिन् । ज्यान मार्ने उद्योगमा मुद्दा चल्यो । करिब २२ दिन थुनामा बसेर टासी छुटे । त्यतिबेला लैनचौर प्रहरीसमक्ष निमाले मयुरी र तेन्जिङ गुरुङको छोरा टासी भन्ने सन्डुप घलेले ज्यान मार्ने नियतले पेट्रोल छर्केर आगो लगाउने खोजेको भन्दै उजुरी दिएकी थिइन् । तर, टासीले आफ्नो बाबुको नाम नोर्बु भनेका थिए । स्थायी घर गोर्खाको समा–३ भनेका थिए । उनले बागमती अञ्चलबाट लिएको सवारी चालक अनुमतिपत्रमा धरानकी चौमाया लिम्बूको नागरिकता नम्बर राखिएको थियो । तर, त्यतिबेला लैनचौर प्रहरी गहिराइमा पस्न चाहेन । काठमाडौं प्रहरीमा पर्यटक मारेको उजुरी तर झुक्कियो प्रहरी तीन महिनाअघि स्वयम्भूस्थित सानो भर्याङमा रहेको एक महिलाको घरमा टासीले ढुंगा प्रहार गरे । उनले हानेको ढुंगाले ती महिलाको झ्यालको सिसा फुट्यो । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंमा टासीविरुद्ध उजुरी दर्ता गर्न पुगेकी ती महिलाले दिएको उजुरीमा सन्डुप घले र टासी गुरुङ एउटै मान्छे हुन्, उसले रेगी पबमा छुरा हानेर आजभन्दा २० वर्षअघि पर्यटक मारेर अमेरिका भागेको कुरा स्पष्ट उल्लेख गरेको थियो । सोही टासीले आफूलाई काट्छु, मार्छु भनेको र झ्यालको सिसा फुटाएको भन्दै ती महिलाले दिएको उजुरीलाई काठमाडौं प्रहरीले सामान्य रूपमा लियो । २० वर्ष पुरानो घटना भएकाले सजाय काटिसकेको हुनुपर्ने अनुमान काठमाडौं प्रहरीले लगाए पनि केन्द्रीय अनुसन्धान व्युरो ‘सीआईबी’ ले भने टासीको फाइल खोलिसकेको थियो । नवराजले खोले फाइल दुई महिनाअघि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो प्रमुख बनेका डीआईजी नवराज सिलवालले पुराना मुद्दालाई प्राथमिकतामा राखेर अनुसन्धान थालेका छन् । ‘पुरानो फाइल पल्टाउँदै जाँदा डेभिड क्यारारोको हत्या गर्नेमध्ये एउटा मान्छे काठमाडौंमा रहेको सूचना आयो,’ डीआईजी नवराज सिलवालले भने, ‘त्यसपछि टोली गठन गरेर खोजीकार्य तीव्र पार्यौं ।’ सीआईबीका इन्सपेक्टर रुगमबहादुर कुँवर नेतृृत्वको टोलीले एक महिनाको अनुसन्धानपछि काठमाडौंको होटल कोर्टयार्डबाट टासीलाई पक्राउ गरेको छ । सीआईबीको फन्दामा पर्नुभन्दा करिब दुई साताअघिदेखि श्रीमतीसँग उनको सम्बन्ध बिग्रेको थियो । ‘काठमाडौंका विभिन्न वृत्तमा टासीविरुद्ध उजुरी परे/नपरेकोबारे अध्ययन गर्यौं,’ इन्सपेक्टर कुँवरले भने, ‘महानरीय प्रहरी परिसरमा आनन्द गुरुङले दिएको निवेदनबाट टासी दुई रात हिरासतमा बसेको देखियो, यसबाट ऊ काठमाडौंतिरै लुकीछिपी बसेकोमा हामी विश्वस्त थियौं ।’ श्रीमतीसँग सम्बन्ध बिग्रेपछि आफ्ना सबै सामान लिएर टासी गुरुङ होटल कोर्टयार्डको ३०२ नम्बर कोठामा बस्न थालेका थिए । बाघको पिक्चर प्रिन्टेड भेस्ट लगाएको टासीको फोटो बोकेर कार्टयार्ड नकिजैकको १३ तले भवबाट दिनभरि निगरानी गरेको सीआईबीको टोलीले चैत १९ गते पक्राउ गरेको थियो । हाल उनी सीआईबीको हिरासतमा छन् । टासीविरुद्ध कर्तव्य ज्यान, सरकारी छाप दस्तखत किर्ते, नागरिकता तथा राहदानी ऐनअनुसार मुद्दा चलाइने सीआईबीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप