शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एक करोड नक्कली भारु : कराँचीबाट कसरी आयो काठमाडौं ?

शुक्रबार, २६ चैत २०७२, १३ : ३२
शुक्रबार, २६ चैत २०७२

काठमाडौं– कराँचीबाट काठमाडौं आएका मोहम्मद नदिमको हुलिया हेर्दा उनी नक्कली भारुको कारोवार गर्ने ब्यक्ति हुन् भनेर सजिलै पत्यार नलाग्न सक्छ । तर उनैले दुईओटा सुटकेसमा पाकिस्तानको कराँचीबाट कतार हुँदै काठमाडौं ल्याएको एक करोड नक्कली भारतीय रुपैयाँ नेपाल प्रहरीको विशेष ब्युरो र काठमाडौं प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ । सिडी ९४५८७४२ नम्बरको पाकिस्तानी पासपोर्ट बोकेका नदिम काठमाडौं आएको चार दिन मात्र भएको थियो । कराँचीमा एक भारतिय नागरीकले दिएको दुईओटा अटैंची बोकेर कतार उडेका नदिम दोहाबाट कतार एरयवेजको जहाज चढेर त्रिभुवन विमानस्थल ओर्लेका थिए ।

त्रिभुवन विमानस्थलमा प्रहरीको उनको साथमा रहेको दुईओटा सुटकेश चेकजाँच गर्यो तर अटैंची भरी कपडा मात्र भेटेपछि प्रहरीले उनलाई छोडिदिएको थियो । सामान्य कपडा लगाएका अन्दाजी ५० बर्ष पुगेका नदिमको दाह्री फुलिसकेको छ । हेर्दा सामान्य देखिएपनि दुईओटा ठुला–ठुला अटैंची बोकेर आएको देखेपछि प्रहरीले उनको पिछा गरेको थियो । चार दिन काठमाडौं बस्दा विभिन्न होटल चहार्न थालेपछि उनको गतिविधिमाथि प्रहरी प्रधान कार्यालयको विशेष ब्युरो र काठमाडौं प्रहरीले उनीमाथिको निगरानी झनै बढाए । अन्ततः काठमाडौंमा पाईला टेकेको पाँचौ दिनमा उनी प्रहरीको फन्दामा परे, उनको साथबाट पाँच सय दरका ५० लाख नक्कली भारु बरामद गरिएको महानगरी प्रहरी कार्यालय रानिपोखरीका एआईजी प्रताप थापाले जानकारी दिए । थापाका अनुसार उनलाई प्रहरीले काठमाडौंको ठमेलबाट समातेको थियो । प्रहरीका अनुसार नदिम पाँच सय अमेरिकी डलर कमाउने लोभमा नक्कली भारु बोकेर नेपाल उडेका थिए । उनले बोकेको अटैंचीमा फल्स बटन लगाईएको थियो । जसका कारण उनी त्रिभुवन विमानस्थलबाट सजिलै बाहिरीए । शुक्रवार महानगरीय प्रहरी आयुक्तले नदिम सहित अन्य पाँच नेपालीलाई नक्कली भारु सहित सार्वजनिक गरेको छ ।

जसमध्ये काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेकी ५५ बर्षिय उमादेवी पाण्डेले नदिमसँग लिएको पचास लाख नक्कली भारु बिरगञ्जबाट आएका महादेव तिमल्सिनालाई हस्तान्तरण गरिसकेकी थिइन् । त्यसबापत उमादेवीलाई भारु तस्करले नेपाली पाँच हजार दिने बाचा गरेका थिए । महादेव तिमल्सीना काठमाडौंबाट नक्कली भारतीय रुपैयाँ बिरगञ्जसम्म पुर्याउने जिम्मा लिएर काठमाडौं आएका थिए । बाराको सिमरा स्थायी घर भएका ५६ बर्षिय तिमल्सीना राजधानीको नयाँ बानेश्वरबाट समातिए । महोत्तरी माईस्थानका ४० बर्षिय दिल बहादुर थापाले महादेव तिमल्सीनासँग सामान बुझेर भारत तर्फ लैजाने समुहलाई बुझाउने जिम्मा लिएका थिए । सो समुहलाई अटैंची जिम्मा लाएबापत दिलबहादुरले पाँच हजार नेपाली रुपैयाँ पाउँथे, काठमाडौं आउने जाने र खाने बस्ने सुविधा नक्कली नोट कारोबारीले ब्यहोर्ने बाचा गरेका थिए । त्यस्तै नेपाल भारतको सिमाना र नक्कली भारु वितरणको जिम्मा पाएका परमानन्द यादब र ईश्वर प्रसाद शाहलाई पनी काठमाडौं प्रहरी र विशेष ब्युरोको संयुक्त टोलीले राजधानीको बल्खुबाट पक्राउ गरेर शुक्रवार सार्वजनिक गरेको छ । अनुसन्धानको क्रममा खुलेका एकजना भारतीय नागरीक फरार रहेको प्रहरीको भनाई छ । नक्कली भारु कारोबारमा संलग्नहरुलाई मुलुकी ऐन २०२० खोटाचलनको महल तथा संगठित अपराध ऐन २०७० अन्तर्गतको कसुरमा मुद्धा दर्ता गरेर जिल्ला आदलत काठमाडौंबाट म्याद थपभई अनुसन्धान भईरहेको महानरीय प्रहरी प्रमुख एआईजी प्रताप थापाले जानकारी दिए । प्रहरी प्रधान कार्यालय विशेष ब्युरोका डिआईजी बम बहादुर भण्डारीका अनुसार पाकिस्तानी नदिम यसअघी पनी एक पटक नेपाल आएका थिए । ‘नक्कली मुद्रा कारोबारीहरुले तिन महिनादेखी नेपालतिर पैसा पठाउने प्रयास थालेको देखिन्छ’ डिआईजी भण्डारीले भने, ‘यहाँका नेपालीहरुले केही पैसा बोर्डर ईलाकामा खपत गराउने र केही भारत पुर्याएर सो रकम वितरण गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप