शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

भूकम्पले भत्काएका १० सम्पदाको पुनःनिर्माण सुरु

शनिबार, २७ चैत २०७२, १० : ४८
शनिबार, २७ चैत २०७२

भक्तपुर– जर्मन सरकारको आर्थिक सहयोगमा भूकम्पले क्षति पुगेको भक्तपुर नगरभित्रका १० वटा सम्पदाको पुनःनिर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको छ ।

जर्मन विकास सहायताअन्तर्गत जर्मन विकास बैंक, नेपाल सरकार र भक्तपुर नगरपालिकाको संयुक्त लगानीमा भक्तपुरका १० वटा सम्पदाको पुनःनिर्माणको प्रारम्भिक काम शुक्रबार दत्तात्रयस्थित पुजारी मठमा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको हो ।

दत्तात्रयस्थित पुजारी मठमा जर्मन सरकारका प्रतिनिधि, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, भक्तपुर नगरपालिका, पुरातत्व विभाग लगायतका प्रतिनिधिसहित सम्मिलित उक्त कार्यक्रममा पुनःनिर्माण कार्यको उद्घाटन गरिएको थियो । दत्तात्रयस्थित पुजारी मठ, पाँचतले मन्दिर, राष्ट्रिय कला सङ्ग्रहालय, दरबारस्क्वायरको फसिदेग, भक्तपुर नगरपालिकाको पुरानो भवन, भैरब द्यो छे, भैलुखेलको च्यासिंमण्डप, नासमनाको हाडा छें, विद्यार्थी निकेतन उमावि र श्रीपद्य उमाविको पुनः निर्माण एवम् जीर्णोद्धारको काम सुरु भएको हो ।

जर्मन सरकारको रु एक अर्ब १९ करोड, नेपाल सरकारले रु २२ करोड र भक्तपुर नगरपालिकाको रु १० करोडको लगानीमा पुनःनिर्माण तथा जीर्णोद्धारको काम गरिने पुरातत्व विभाग राष्ट्रिय कला सङ्ग्रहालयकी प्रमुख अरुणा नकर्मीले बताउनुभयो । जर्मन विकास बैंकका कार्यालय प्रमुख एवम् प्रतिनिधि शङ्करराज पाण्डेले भूकम्पले भत्काएको सम्पदाको पुनःनिर्माणको प्रारम्भिक अनुसन्धान एवम् अन्वेषण पनि गरिने बताउनुभयो ।

“भूकम्पले भत्काएको सम्पदामध्ये कुन कुन सम्पदा पुनःनिर्माण गर्नुपर्छ, कुन कुन सम्पदा जीर्णोद्धार गरे हुन्छ भन्ने कुराको नेपाल र विदेशका विज्ञ टोलीले अन्वेषण एवम् अनुसन्धान सुरु गरेका छन्,” पाण्डेले भन्नुभयो ˗ “विज्ञसहितको उक्त टोलीले आगामी डेढ महिनाभित्र कुन सम्पदा कसरी पुनःनिर्माण एवम् जीर्णोद्धार गर्ने भनेर प्रतिवेदन बुझाउँछन्, त्यसैको आधारमा पुनःनिर्माणको मुख्य काम सुरु हुन्छ ।” आगामी २०१६ सालको डिसेम्बरसम्म सम्पदाको पुनःनिर्माण, जीर्णोद्धार र रेक्टोफिटिङको काम सम्पन्न गरिसक्ने लक्ष्य छ । सम्पदाको जीर्णोद्धारसँगै पाँचतले मन्दिर परिसर अर्थात् तौमढीबाट दत्तात्रय मन्दिरसम्म ढुङ्गा छाप्ने काम पनि सम्पन्न गरिने भएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप