शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मुस्लिम बालबालिकाकी बुद्धिष्ट गुरुआमा

सोमबार, २९ चैत २०७२, १३ : ३३
सोमबार, २९ चैत २०७२

काठमाडौंको जामे मस्जिद परिसरभित्र ७५ वर्ष पुरानो स्कुल छ– मदरसा इस्लामिया स्कुल । जहाँ इस्लाम धर्म मान्नेहरूका छोराछोरीमात्र अध्ययन गर्दछन् । तर शिक्षक भने इस्लाम धर्म मान्नेमात्रै छैनन् । दुई सय ७८ विद्यार्थी अध्ययन गर्ने मदरसामा १७ शिक्षकले पढाउँछन्, जसमा ११ जनामात्रै इस्लाम धर्म मान्छन्, अरूचाहिँ हिन्दू र बुद्ध धर्म मान्छन् । बालाजुकी शान्ता लामा त्यसैमध्येकी एक हुन् । उनी बुद्ध धर्म मान्छिन् । तर विगत ८ वर्षदेखि मदरसा इस्लामिया स्कुलमा पढाउँदै आइरहेकी छिन् ।

पहिलो पटक मदरसा परिसरभित्र प्रवेश गर्दा उनीलाई निकै डर लागेको थियो । ‘त्यसदिन दुइटा कुराले मेरो मुटु काँपिरहेको थियो । पहिलो, त्यो दिन म जीवनमै पहिलोपटक कुनै संस्थासँग जोडिदै थिएँ । अर्को, पहिलोपटक नै मुस्लिम समुदायसँग जोडिँदै थिएँ ।’ उनले सम्झिन् । मदरसा आउनुपूर्व लामाले मुस्लिम समुदायका व्यक्तिसँग त्यति संगत गरेकी थिइनन् । उनले सुनेकी थिइन्, ‘मुसलमानहरू भनेका कट्टरपन्थी र आतंककारी हुन्छन् । उनीहरूले जसको पनि धर्म परिवर्तन गरिदिन सक्छन् ।’ त्यसदिन कतै आफ्नो पनि धर्म परिवर्तन गरिदिने हो कि भन्ने डरले उनलाई सताएको थियो । पहिलो दिन फरक धार्मिक समुदायका मान्छेबीच उनलाई नौलो अनुभूति भयो । हिजाबले गम्लङ्ग टाउको छोपेका स्कूले नानी र शिक्षिका, लामा¬ कुर्ता सुरुवाल र सेतो टोपी लगाएका पुरुषहरू देख्दा उनीलाई अर्कै संसारमा पुगेजस्तो लाग्यो । त्यसअघि सिनेमामा मात्रै शान्ताले त्यस्तो माहौल देखेकी थिइन् । ‘तर मदरसा पसेपछि मुसलमानप्रतिको मेरो गलत धारणा पूर्णतः परिवर्तन भयो ।’ उनले एलकेजीमा गणित विषय पढाउने जिम्मा पाइन् । पहिलो दिन पढाउन र बच्चाहरूसँग कुराकानी गर्न पनि कठिनाइ भयो । सबैले नेपाली राम्ररी बुझ्दैनथे । हिन्दी र उर्दू उनीहरूको मातृभाषा थियो । लामालाई न हिन्दी आउँथ्यो न त उर्दू नै । हिन्दी बुझे पनि बोल्न सक्दिनथिन् । कसरी पढाउने ? त्यसदिन उनी धेरै नै आत्तिइन् । कतिपय विद्यार्थी त भोजपुरी र मैथिली भाषा मात्र बुझ्थे । उनलाई झनै चुनौती थपियो । त्यस्तो अफ्ठेरो परिस्थितीलाई सम्हाल्न उनीले आफूले जानेको टुटेफुटेको हिन्दीलाई प्रयोग गरिन । मदरसामा पढाएको पहिलो दिन उनले जीवनमै पहिलोपटक हिन्दी बोलेकी थिइन् । उनी यति आत्तिएकी थिइन् कि आफैंले बोलेको कस्तो थियो भन्ने पत्तो पाइनन् । उनले भनिन्, ‘मैले हिन्दी बोल्दा विद्यार्थी छक्क परेर हेरिरहेका थिए ।’ आफूले विद्यार्थीको भाषा नबुझ्ने, विद्यार्थीका भाषा आफूले बुझ्न गाह्रो हुने अवस्था भएपछि उनलाई मदरसामा काम गर्नै छोडिदिउँझैं लागेको थियो । त्यसो त मदरसामा अरू शिक्षक पनि थिए, जो मुस्लिम थिएनन्, इस्लाम धर्म मान्दैनथे । तिनले आफ्नो अनुभव सुनाएर शान्तालाई उत्प्रेरित गर्थे । सुरुवातमा सबैलाई उस्तै महशुस हुँदो रहेछ । त्यस्तै त्यहाँ धर्म परिवर्तनको कुरा पनि आउँदोरहेनछ भन्ने पनि बुझिन् ।

कतिपटक त उनीका कतिपय साथीले मदरसामा नपढाउन सल्लाह दिए । उनीहरूको पनि कुरा उही हुन्थ्यो, मुसलमानहरू त उस्तै परे मार्न पनि पछि पर्दैनन् । तर केही साथी थिए, जसले त्यस्तो धारणाबाट प्रभावित हुन निरन्तर प्रेरित गरिरहे । भन्थे, ‘फरक समुदायसँग संगत गर्न पाउनु त राम्रो अवसर हो । यदि तिमीलाई डर नै लाग्छ भने मुस्लिमसम्बन्धित किताब पढ, फिल्महरू हेर ।’

उनले बुझे पनि घरमा लामाको घरमा कुरा बुझाउन मुश्किल भयो । ‘सबै मुसलमान भारतीय हुन्छन् भन्ने उनको बुबाको बुझाइ रहेछ । यो बुझाइ फेर्न उनलाई केही समय लाग्यो । तर पनि अझै घरमा र कतिपय साथीलाई शान्ता इस्लामिक हुन्छिन् कि भन्ने चिन्ता लागिरहन्छ । ‘८ वर्ष मुसलमानको संगतका कारण कहिलेकाहीँ बोलचालमा चाँद, दावतजस्ता हिन्दी र उर्दूका शब्द मिसिन्छन् । त्यस्तो सुन्दा म इस्लामिक हुन्छु कि भनेर डराउने गर्छन् । अंग्रेजी किताब पढ्दैमा कोही अमेरिकन वा क्रिस्चियन नभएजस्तै उर्दू बोल्दैमा कोही मुसलमान हुने होइन भनेर जवाफ दिन्छु ।’ कतिपटक त उनीका कतिपय साथीले मदरसामा नपढाउन सल्लाह दिए । उनीहरूको पनि कुरा उही हुन्थ्यो, मुसलमानहरू त उस्तै परे मार्न पनि पछि पर्दैनन् । तर केही साथी थिए, जसले त्यस्तो धारणाबाट प्रभावित हुन निरन्तर प्रेरित गरिरहे । भन्थे, ‘फरक समुदायसँग संगत गर्न पाउनु त राम्रो अवसर हो । यदि तिमीलाई डर नै लाग्छ भने मुस्लिमसम्बन्धित किताब पढ, फिल्महरू हेर ।’ त्यो उपायले उनीलाई मुस्लिम समुदायसँग घुलमिल हुन सघाउ पुर्यायो । मदरसाका बालबालिकासँग घुलमिल बढ्दै गएपछि केही महिनामै लामा हिन्दी बोल्न सक्ने भइन् । विद्यार्थीलाई बुझाउन सक्ने भइन् । तथापि बच्चाहरूले नेपाली भाषा बुझिदिए कति राम्ररी पढाउँथे भन्नेचाहिँ उनलाई लागिरहन्थ्यो । त्यसो त उनीहरूलाई अन्य धर्मबारे पढाउन पनि कठिन हुने उनको अनुभव छ । एकदिन कक्षा आठमा सामाजिक शिक्षा पढाइरहेकी थिइन् । जनैपूर्णिमाबारे पाठ थियो । जनैपूर्णिमाको किम्बदन्तीअनुसार जनैपूर्णिमाका दिन नारीमा बाँधिने डोरो लक्ष्मीपूजाका दिन गाईको पुच्छरमा बाँधिदिने होे भने मरेपछि गाईको पुच्छर समातेर बैतर्नी नदी तर्न पाइन्छ, जसले स्वर्गसम्म पुर्याउँछ । यति बुझाइसक्दा एक विद्यार्थी बेस्सरी हाँसे । उनको कुराको खिल्ली उडाए । त्यस्तै कतिपय विद्यार्थी हिन्दू भाषाका देवी, भगवान, मातापिताजस्ता शब्द उच्चारण गर्नै मान्दैनन् । त्यस्तो बेला उनी अलि गाह्रो अनुभव गर्छिन् । तर समुदायको भावनाप्रति संवेदनशील हुन्छिन् र सहज बन्छिन् । मदरसाको वातावरणमा भिज्दा–भिज्दै उनलाई रमजान, इद, जकातलगायत इस्लाम धर्मसम्बन्धी धेरै कुरा जानकारी भइसकेको छ । इस्लाम धर्म सम्बन्धी जति जान्यो उती जान्न मन लाग्दै गएको उनी बताउँछिन् । त्यती मात्र होइन, उनीले उर्दू र अरेबिक लेख्न समेत सिकिसकेकी छिन् । उनको धर्मअनुसार महिलाको विवाहपश्चात पतिकै धर्ममा या जातमा परिवर्तन हुन्छिन् तर इस्लाममा यदि कुनै अन्य धर्मावलम्बी पुरुषले मुस्लिम महिलासँग विवाह गर्छ भने ऊ पनि मुस्लिम नै हुन्छ । यस्तो ठ्याक्कै उल्टो संस्कृतिबारे थाहा पाउँदा निकै अचम्मित भएको उनीले सुनाइन् । धर्मबारे उनको बुझाइ छ, ‘धर्म भनेको समाजले लगाइदिएको एउटा चस्मा मात्र हो, त्यही चस्माबाट हेरेर हामीले संसारलाई मूल्यांकन गर्दछौं । मदरसा परिसरभित्र बसुन्जेल धर्मको कुरा हुन्छ, यसको पर्खाल नाघेपछि को कुन धर्मसँग जोडिन्छ, मतलपको विषय बनेको छैन ।’ धर्म र जातकै कारण शिक्षामा असर पर्न नहुने उनको धारणा छ । ‘मदरसामा जातीय वा धार्मिक भेदभाव छैन, हुने वातावरण पनि छैन । यदि हुन्थ्यो भने त मदरसा छिरेको सातै दिनमा म यहाँबाट हिँडिसकेको हुन्थेँ होला ।’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप