बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
प्रदेश सत्ता राजनीति

लुम्बिनीमा कांग्रेससँगको सहकार्य जोगाउने प्रयासमा छौं, विकल्पका ढोका पनि खुला छन् : मुख्यमन्त्री आचार्य

बिहीबार, ३२ असार २०८३, १६ : ३८
बिहीबार, ३२ असार २०८३

सारांश

  • लुम्बिनी प्रदेश सरकारको भविष्य अनिश्चित बनेको छ, जहाँ मुख्यमन्त्री आचार्य कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास गरिरहेका छन्।
  • केन्द्रमा कांग्रेसले एमालेसँग गठबन्धन तोड्ने निर्णय गरेपछि प्रदेशमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको छ, तर कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको छैन।
  • मुख्यमन्त्री आचार्यले कांग्रेससँग गठबन्धन जोगाउने पहिलो प्राथमिकता रहेको बताए पनि राजनीतिक परिस्थितिअनुसार नेकपासँग पनि सम्भावित सहकार्यका ढोका खुला रहेको उल्लेख गरेका छन्।

बुटवल। नेपाली कांग्रेस केन्द्रले प्रदेशमा एमालेसँगको सत्ता गठबन्धन तोड्ने भएसँगै लुम्बिनी प्रदेश सरकारको भविष्य पनि अन्योलमा परेको छ। 

कांग्रेस–एमाले गठबन्धनबाट नेतृत्व गरिरहेका मुख्यमन्त्री चेतनारायण आचार्य अझैपनि कांग्रेससँगको सहकार्यलाई निरन्तरता दिन प्रयास भइरहेको बताउँछन्। कांग्रेससँग गठबन्धन जोगाउने प्रयास, नेकपासँग सम्भावित सहकार्य र प्रदेश सरकारको भविष्यबारे रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः

केन्द्रमा नेपाली कांग्रेसले एमालेसँगको सत्ता गठबन्धन तोड्ने निर्णय गरेपछि लुम्बिनी प्रदेश सरकार पनि संकटमा पर्ने देखियो। तपाईंको धारणा के छ ?

कांग्रेस, एमालेलगायत दलहरूको सहकार्यमा मैले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गरिरहेको छु। केन्द्रको निर्णयपछि प्रदेशमा पनि नयाँ राजनीतिक परिस्थिति बनेको छ। तर अहिलेसम्म कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएको वा मन्त्रीहरूले राजीनामा दिएको अवस्था छैन। हामी कांग्रेससँग सकेसम्म सहकार्यलाई निरन्तरता दिन आग्रह गरिरहेका छौं। अहिले पनि छलफल भइरहेको छ। आगामी दिनमा राजनीतिक गतिविधि कसरी अघि बढ्छ, त्यसका आधारमा परिस्थिति स्पष्ट हुँदै जानेछ।

कांग्रेससँग गठबन्धन जोगाउने प्रयास भइरहेको छ ?
अहिलेसम्म लुम्बिनीमा कांग्रेसको औपचारिक निर्णय आएको छैन। केन्द्रको निर्देशनअनुसार निर्णय आउन सक्छ। प्रदेश तहमा कांग्रेसका नेताहरूसँग निरन्तर छलफल गरेर गठबन्धन जोगाउने प्रयास गरिरहेका छौं। अन्तिम निर्णय भने केन्द्रीय नेतृत्वबाट हुने भएकाले त्यसतर्फ पनि पहल भइरहेको छ।

एमालेले नेकपासँग नयाँ समीकरण बनाउने सम्भावना छ ?

नेताहरूले आफ्नो तहबाट विभिन्न दलसँग छलफल गरिरहेका छन्। कांग्रेसका नेताहरूसँग पनि सम्पर्क छ, नेकपाका नेताहरूसँग पनि अनौपचारिक संवाद भइरहेको छ। तर अहिलेसम्म कुनै ठोस निष्कर्षमा पुगिएको छैन। हाम्रो पहिलो प्राथमिकता कांग्रेससँगकै सहकार्यलाई निरन्तरता दिनु हो। तर राजनीतिक परिस्थितिअनुसार नेकपासँग पनि छलफल र विकल्पबारे कुराकानी हुन सक्छ। सम्भावनाका सबै ढोका खुला छन्।

प्रदेशको भविष्य अब केन्द्रकै निर्णयमा निर्भर रहने हो ?

प्रदेशमा छलफल भए पनि त्यसलाई कार्यान्वयन गर्न केन्द्रीय नेतृत्वको सहमति आवश्यक हुन्छ। त्यसैले कांग्रेस, एमाले र अन्य दलबीचको अन्तिम समझदारी केन्द्रबाटै तय हुने सम्भावना बढी छ। हामी पनि सोहीअनुसार समन्वय गरिरहेका छौं।

अहिलेसम्म कांग्रेससँग सरकार सञ्चालनमा कुनै समस्या आएको थियो ?

हामीले सरकार राम्रोसँग सञ्चालन गरिरहेका थियौं। केन्द्रको राजनीतिक निर्णयका कारण अहिले नयाँ अवस्था सिर्जना भएको हो। सकेसम्म गठबन्धन जोगाउने प्रयास गर्छौं। यदि त्यो सम्भव भएन भने त्यसपछि अन्य विकल्पबारे छलफल अघि बढ्छ। सबै कुरा आगामी राजनीतिक निर्णयमा निर्भर रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप