मेस्सी–यामालको त्यो अविश्वसनीय भेट र चीरप्रतिक्षित यो भिडन्त
सारांश
- लियोनेल मेस्सी र लामिन यामाल आइतबार विश्वकप फाइनलमा पहिलो पटक एकअर्काविरुद्ध आमनेसामने हुँदैछन्, जसमा मेस्सीको अर्जेन्टिना र यामालको स्पेन उपाधिका लागि भिड्दै छन् ।
- मेस्सी र यामालको पहिलो भेट सन् २००७ मा भएको थियो, जब मेस्सी २० वर्षका थिए र यामाल पाँच महिनाका शिशु थिए ।
- फोटो पत्रकार जोआन मोनफोर्टले खिचेको उक्त तस्बिरले दुई दशकपछि यामालले स्पेनलाई युरो २०२४ जिताउन महत्त्वपूर्ण भूमिका खेलेपछि पुनः चर्चा पाएको थियो ।
काठमाडौँ । सर्वकालीन महान् फुटबलर लियोनेल मेस्सी र बार्सिलोनाको दायाँ विङमा उनको उत्तराधिकारी मानिएका लामिन यामाल आइतबार हुने विश्वकप फाइनलमा पहिलो पटक एकअर्काविरुद्ध आमने–सामने हुँदैछन् । मेस्सीको अर्जेन्टिना र यामालको स्पेन उपाधिका लागि भिड्दै छन् ।
मेस्सी अहिले ३९ वर्षका भएका छन् भने यामाल भर्खरै १९ वर्षका । यस्तो उमेर अन्तर हुँदाहुँदै पनि दुवै एउटै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्नु मेस्सीको अदम्य निरन्तरता र यामालको असाधारण प्रतिभाको प्रमाण हो ।
तर यी दुईको भेट भने पहिलो पटक हुन लागेको होइन । उनीहरूको पहिलो भेट सन् २००७ मा भएको थियो । त्यतिबेला २० वर्षीय मेस्सी बार्सिलोनाको पहिलो रोजाइका खेलाडी बनिसकेका थिए भने लामिन यामाल जम्मा पाँच महिनाका शिशु थिए ।
त्यो ऐतिहासिक क्षण फोटोग्राफर जोआन मोनफोर्टले खिचेका केही तस्बिरमा कैद भएको थियो ।
यी तस्बिरहरू दुई वर्षअघि पुनः चर्चामा आए, जब यामालले स्पेनलाई युरो २०२४ को उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेले । त्यसबेला उनका बुबाले एउटा तस्बिर इन्स्टाग्राममा पोस्ट गर्दै क्याप्सन लेखेका थिए, ‘दुई महान् खेलाडीहरूको सुरुवात ।’
ती तस्बिरमा मुस्कुराइरहेका मेस्सीले एउटा सानो शिशुलाई काखमा बोकेर नुहाइरहेका देखिन्छन् । त्यो शिशु भविष्यमा फुटबलमा मेस्सीकै पाइला पछ्याउने लामिन यामाल हुनेछन् भन्ने कसैले कल्पना पनि गरेको थिएन ।
‘यो वास्तवमै भाग्यको एउटा चमत्कार हो,’ मोनफोर्टले बीबीसी स्पोर्टसँग भने । त्यो तस्बिर सार्वजनिक नगर्दासम्म मोनफोर्टलाई नै थाहा थिएन, यी यामाल आफूले फोटो खिचेको त्यही शिशु हो भनेर !
‘यो त्यस्तो संयोग हो, जसले तपाईंले कल्पना गरेभन्दा धेरै ठुलो र विशेष कुरा भेटाइदिन्छ । यदि यस्तो कथा फिल्ममा लेखिएको भए पनि मानिसहरूले विश्वास गर्ने थिएनन्,’ उनले भने ।
‘मेस्सीलाई बच्चासँग के गर्ने भन्ने नै थाहा थिएन’
तस्बिर खिच्ने कार्यक्रम बार्सिलोनाको क्याम्प नोउ रंगशालाको अबे ड्रेसिङ रुममा आयोजना गरिएको थियो । त्यहाँ पुग्ने अवसर लामिन यामालको परिवारले एउटा प्रतियोगिता जितेर पाएको थियो । यामालका मोरक्कोमा जन्मिएका बुबा मुनिर नास्राउई र इक्वेटोरियल गिनीकी आमा शिला एबाना आफ्ना परिवारसँग बाल्यकालमै क्याटालोनिया बसाइँ सरेका थिए ।

लामिन उनीहरूका पहिलो सन्तान हुन् । उनको जन्मपछि परिवारले क्याटालान पत्रिका स्पोर्ट, बार्सिलोनाका जर्सी प्रायोजक र अन्तर्राष्ट्रिय बाल अधिकार संस्था युनिसेफले संयुक्त रूपमा सञ्चालन गरेको एउटा लक्की ड्रमा भाग लिएको थियो ।
छनोट भएका परिवारका शिशुको बार्सिलोनाका पहिलो टोलीका खेलाडीसँग व्यावसायिक फोटो खिचिने व्यवस्था गरिएको थियो । भाग्यले लामिन यामालको परिवारको जोडी मेस्सीसँग मिलायो ।
मोनफोर्ट भन्छन्, ‘सन् २०२४ मा मेरा एक साथीले फोन गरेर यामालका बुबाले त्यो तस्बिर इन्स्टाग्राममा राखेको बताएपछि मात्रै मलाई त्यो बच्चा लामिन यामाल रहेछन् भन्ने थाहा भयो । मेस्सी निकै अन्तर्मुखी, लजालु र शान्त स्वभावका थिए । उनी ड्रेसिङ रुममा आए र अचानक एउटा नानीसँग फोटो खिच्नुपर्यो । त्यो पनि सामान्य बच्चा होइन, एकदमै सानो शिशु । उनको अनुहार नै बदलियो, मानौँ उनलाई के गर्ने भन्ने थाहा थिएन ।’
युवा उमेरका लागि यस्तो अवस्था सहज हुँदैन । तर लामिन निकै हँसिला र रमाइला बच्चा थिए । त्यसमाथि उनकी आमा शिलाले अवस्था सहज बनाइदिएकी थिइन् ।
‘यस्ता कार्यक्रममा मेस्सी सधैँ व्यावसायिक हुन्थे र उनले पनि चाँडै परिस्थितिअनुसार आफूलाई ढालिहाले,’ मोनफोर्ट स्मरण गर्छन् ।
त्यतिबेला मेस्सीले बार्सिलोनामा नम्बर १९ को जर्सी लगाउँथे । एक वर्षपछि रोनाल्डिन्हो क्लब छाडेपछि मात्र उनले प्रतिष्ठित नम्बर १० जर्सी पाएका थिए ।
‘म मेरा आमाबुबाको ऋण कहिल्यै तिर्न सक्दिनँ’
१९ वर्षको उमेरसम्म मेस्सीले आफ्नो करियरमा ११ गोल गरिसकेका थिए । उनले एक–एक पटक ला लिगा र यूईएफए च्याम्पियन्स लिग जितिसकेका थिए ।
तर सोमबार १९ वर्ष पुगेका लामिन यामालले यसअघि नै ५६ गोल गरिसकेका छन् । उनले तीन पटक ला लिगा, एक पटक कोपा डेल रे र युरो २०२४ को उपाधि जितिसकेका छन् ।

यामाल वास्तवमा उनको थर होइन । उनको पूरा नाम लामिन यामाल नास्राउई एबाना हो । उनले आफ्नो जर्सीमा ‘लामिन यामाल’ लेखाउने निर्णय आफ्नो परिवारलाई कठिन समयमा सहयोग गर्ने दुई व्यक्तिप्रति सम्मानस्वरूप गरेका हुन् ।
स्पेनी सञ्चारमाध्यमका अनुसार आर्थिक अभावका बेला परिवारलाई सहयोग गरेका दुई साथीको सम्मानमा उनका बुबाले छोराको नाम उनीहरूकै नामबाट राख्ने वाचा गरेका थिए । अरबी भाषामा लामिनको अर्थ इमानदार वा विश्वासयोग्य हुन्छ भने यामाल (जमालको अर्को रूप) को अर्थ सुन्दरता वा आकर्षण हुन्छ ।
उनी बार्सिलोनाबाट करिब ३२ किलोमिटर उत्तरमा रहेको मातारो सहरको श्रमिक बस्ती रोकाफोन्डामा हुर्किए । यो बस्ती १९६० को दशकमा स्पेनका विभिन्न क्षेत्रबाट आएका आप्रवासीका लागि बनाइएको थियो । पछि पुराना बासिन्दा अन्य सम्पन्न क्षेत्रमा सरेपछि १९९० को दशकदेखि विभिन्न देशका आप्रवासीहरू यहाँ बस्न थाले ।
विश्वकप प्रतियोगिताको सुरुआतमै यामालले एल पाइससँग भनेका थिए, ‘मेरो आमाले जे गर्नुभयो, मेरो बुबाले जे गर्नुभयो, त्यो म आफ्नै सन्तानबाहेक अरू कसैका लागि गर्न सक्दिनँ । यदि तपाईंसँग पैसा छैन भने आफ्नो बच्चालाई फुटबल खेलाउने अवसर दिन निकै कठिन हुन्छ । तर मेरा आमाबुबाले त्यो सम्भव बनाइदिनुभयो । म उनीहरूको त्यो ऋण जीवनभर तिर्न सक्दिनँ ।’
‘मेरो मन दुई भागमा बाँडिएको छ’

बार्सिलोनाका समर्थक तथा क्याटालान फोटोग्राफर मोनफोर्टका लागि यी दुईको विश्वकप फाइनलमा हुने भेट झन्डै दुई दशकअघि सुरु भएको कथाको सबैभन्दा सुन्दर अन्त्य हो । ५८ वर्षीय मोनफोर्ट भन्छन्, ‘मलाई लाग्छ, हामी उनीहरूको कथाको एउटा चक्र पूरा हुँदै गरेको क्षण देखिरहेका छौँ । यो सुखद अन्त्य हो ।’
‘म बार्सिलोनाको समर्थक हुँ । मेस्सीले दोस्रो पटक विश्वकप जित्दै आफ्नो करियर समाप्त गर्न सके त्यो उनका लागि सबैभन्दा उपयुक्त हुनेछ । मलाई लाग्छ, उनी त्यसका हकदार छन्’ उनी भन्छन्, ‘लामिनसँग भने विश्वकपजस्ता उपाधि जित्न अझ धेरै समय छ ।’ तर अहिले स्पेन र लामिन दुवै उत्कृष्ट लयमा छन् । यदि उनले अहिले नै विश्वकप जिते भने त्यो उनको अहिलेसम्मका सबै उपाधिभन्दा पनि विशेष हुनेछ ।
‘मेरो लागि यो निकै कठिन अवस्था हो । मेरो मन दुई टुक्रामा विभाजित भएको छ ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युगान्डामा स्कुल बस दुर्घटना, २१ जनाको मृत्यु
-
कक्षा १२ प्राविधिक धार तर्फका विद्यार्थीका माग सम्बोधन गर्न ध्यानाकर्षण
-
एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
-
निजामती कर्मचारीले सम्पत्ति विवरण म्यादभित्र नबुझाए सेवा सुविधा रोक्का हुने
-
राष्ट्र बैंकलाई स्वायत्त र प्रविधिमैत्री बनाउन ऐन संशोधन अनिवार्य: अर्थमन्त्री वाग्ले
-
प्रत्येक १० मिनेटमा ध्रुवे हात्तीको गतिविधि निगरानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण