शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आन्तरिक पर्यटक बढे, प्रमुख पर्यटकीय क्षेत्रका होटलको बुकिङ पूर्ण

सोमबार, २९ चैत २०७२, १७ : ०९
सोमबार, २९ चैत २०७२

काठमाडौँ -  नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुगेको छ ।

विगतका वर्ष झँै यो वर्ष पनि प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको छ । त्यहाँका होटल शतप्रतिशत पूर्ण रहेका छन् । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले खासगरी आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको हो ।

यो सयममा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणमा निस्कन्छन् । राजधानी आसपासका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ । काठमाडौँ नजिकका गन्तव्य नगरकोट, धुलिखेल, चितवन, पोखरालगायत पर्यटकीय क्षेत्रमा अहिले पर्यटक खचाखच भरिएका छन् । ती गन्तव्यका पर्यटकस्तरीय होटल शतप्रतिशत पूर्ण रहेका व्यवसायीले बताएका छन् ।

पछिल्लो समय परिवार, साथीभाइबीच रमाइलो गर्न व्यक्तिगत तथा सामूहिक रुपमा पर्यटकीय गन्तव्यमा पुगेर नयाँ वर्ष मनाउने चलन बढेको छ । काठमाडौँ नजिकको पर्यटकीय क्षेत्र धुलिखेलमा विदेशी तथा स्वदेशी पर्यटकको चाप बढेको र त्यहाँका पर्यटक स्तरीय होटल शतप्रतिशत पूर्ण रहेका क्षेत्रीय होटल सङ्घ धुलिखेलका अध्यक्ष प्रेमकण्ठ श्रेष्ठले बताए।

नयाँ वर्ष मनाउन नजिकका गन्तव्य जाने आन्तरिक पर्यटकको रोजाइमा धुलिखेल पर्छ । धुलिखेल लज रिसोर्ट सेन्टरका सञ्चालकसमेत रहनुभएका श्रेष्ठले पर्यटक बढेसँगै व्यवसायी पनि उत्साहित भएको बताए । धुलिखेलमा ३० वटा पर्यटक स्तरीय होटल छन्, तिनमा ५०० बेड क्षमता छ ।

यस्तै पर्यटकीय क्षेत्र नगरकोटमा नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको छ । मुख्य पर्यटकीय मौसम वसन्त ऋतुको आगमनसँगै नगरकोटमा पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष दीपक लामिछाने बताउँछन् ।

नयाँ वर्षमा आन्तरिक पर्यटकले भरिभराउ हुने नगरकोटका होटल शतप्रतिशत पूर्ण छन् । नगरकोटमा ४३ वटा पर्यटकस्तरीय होटल छन् जहाँ ६०० भन्दा बढीको पूर्णता छ । नगरकोटमा सूर्योदय, सूर्यास्त र हिमालको दृश्यावलोकन गर्न पर्यटक जान्छन् ।

त्यसैगरी प्रमुख पर्यटकीय क्षेत्र पोखरा र चितवनको मध्यवर्ती क्षेत्र सौराहमा पर्यटकको भीड लागेको छ । बिदा मनाउन उपयुक्त गन्तव्य मानिने ती क्षेत्रका होटल भरिभराउ छन् । सौराहामा जङ्गल सफारी, हात्ती, गैँडाजस्ता जनावर तथा विभिन्न पशुपक्षीको अवलोकनका लागि उल्लेख्य सङ्ख्यामा पर्यटक पुग्छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका प्रथम उपाध्यक्ष सुमन घिमिरेले भूकम्प र नाकाबन्दीपछि अहिले मध्यवर्ती क्षेत्रका होटलमा पर्यटकको चाप बढेको बताए । नयाँ वर्षका लागि झन्डै एक महिनाअघिदेखि प्रमुख पर्यटकीय क्षेत्रमा होटल बुकिङ हुन्छन् । मध्यवर्ती क्षेत्र चितवनमा झन्डै १०० वटा पर्यटकस्तरीय होटल छन् । सौराहामा छ महिना पर्यटकको चाप हुन्छ । सामान्य अवस्थामा ७० देखि ८० प्रतिशत आन्तरिक तथा विदेशी पर्यटकको चाप हुने त्यहाँ नयाँ वर्षको सन्दर्भमा सबै होटल खचाखच भएका छन् ।

पर्यटकीय क्षेत्र पोखरामा पनि वसन्त ऋतुको आवागमनसँगै पर्यटकको सङ्ख्या बढेको छ । नयाँ वर्षका लागि पोखराका होटल पूर्ण रहेका पश्चिमाञ्चल होटल सङघका अध्यक्ष भरतराज पराजुलीले बताए । पोखरामा विदेशी पर्यटक पनि उल्लेख्य सङ्ख्यामा गएका छन् । पोखरामा गरिने विभिन्न महोत्सवले पनि आन्तरिक तथा विदेशी पर्यटक बढाएको व्यवसायी बताउँछन् । त्यहाँ ४०० वटा पर्यटकस्तरीय होटल छन् । तिनमा करिब २२ हजार बेड क्षमता छ ।

मुख्य पर्यटकीय मौसममा विदेशी पर्यटकको सङ्ख्या पनि बढेको पर्यटन व्यवसायी केशव पाण्डेको भनाइ छ । “अहिले विद्यार्थीको परीक्षा सकिएको र कर्मचारीको बिदा कटाउने र नयाँ वर्ष पनि परेकाले प्रमुख पर्यटकीय क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटक बढेका छन्”,–उनले भने । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल, वसन्तपुर, दरबार मार्गलगायतका क्षेत्रमा विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल देखिन्छ । पवित्र धार्मिकस्थल तथा महत्वपूर्ण सांस्कृतिक सम्पदाको अवलोकन गर्ने पर्यटक पनि यतिखेर बढेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप