बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हामीलाई के थाहा मजदुर दिवस ?

आइतबार, १९ वैशाख २०७३, १३ : २२
आइतबार, १९ वैशाख २०७३

भक्तपुर – आज अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरी बिदा दिएको छ । तर दैनिक ज्यालामा दिनभरी श्रम गर्ने मजदुर यो दिवसको बारेमा न हिजो थाहा थियो न आज । पूर्वी नेपालको सुन्दर जिल्ला पाँचथर फिदिम नजिकैबाट शहरमा राम्रो काम गरेर भविष्य सुन्दर बनाउन झरेकी एक महिलाको दैनिकी बालुवा चालेर नै बितेको छ आजभोली । प्रमिला लिम्बु उमेरले ३६ वर्षको भइन् तर जिन्दगीको अनुभवले ६० वर्ष जस्तै लाग्छ रे उनलाई  । ४ जना बच्चा र २ जना बुढाबुढी राम्रैसँग जिवनसंग चलेको थियो तर जहाँ भीर त्यहिँ पहिरो गयो प्रमिलाको जीवनमा । उनको श्रीमान् लोकबहादुर लिम्बुलाई ‘धनीलाई लाग्ने रोग’ (उनकै शब्दमा) मधुमेह लागे पछि जीवन निकै कष्ठकर भएको बताइन् । ४२ वर्षको लोक बहादुरलाई मधुमेह रोग लागेको ५ वर्ष भयो, उनै खासै काम गर्न सक्दैनन् । दिनभर कोठमा नै बस्नु आजभोलि उनको श्रीमान्को दैनिकी हो । यो बैशाखको मध्य घाममा बालुवा चाल्दै उनले भनिन् “१८ वर्षको जेठो छोरो बिक्रमले पनि गत वर्ष एसएलसी परीक्षामा असफल भएपछि पून पढ्ने मन गरेन अहिले चादीँ कुद्ने काम गर्छ” । कान्छो छोरो बिक्रान्त यो वर्ष कक्षा १० मा पुगेको छ । प्रमिलाका २ छोरीहरु बिन्दु र बिमला पनि विद्यालय जादै छन् । उनीहरुले पढेर भविष्यमा सुख देलान की भन्ने आशा प्रमिलामा छ । बिहान ७ बजे भक्तपुरको जगातिस्थित कोठाबाट निस्कने प्रमिलालाई बेलुका ६ बजे मात्र फुर्सद हुने हामीलाई बताइन् । आज अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभरि बिदा छ, तर तपाई काममा हुनु हुन्छ नी ? भन्ने हाम्रो जिज्ञासामा उनले भनिन् “के गर्नु महिना मरेपछि घरभेटीले भाडा छोड्दैन, चामल सकिएपछि बोरा भरिँदैन, काम नगरे र के गर्नु ?” “यो दिवस र चाडपर्व भनेको त धनीमानी र बाठाटाठालाई हो, बालुवा चाल्ने हामीलाई के थाहा मजदुर दिवस ?” प्रमिला मजदुर दिवसबारे थाह नभएको प्रष्ट पारीन् । दिवस त के शनिबार पनि काम गर्ने उनलाई यस्तो दिवस मनाउदैमा श्रमिकहरुको समस्या समाधान होला भन्ने विश्वास पनि नभएको बताइन् । बिहान ७ बजे देखि १० बजे सम्म काम गरेको १ सय ८० रुपैयाँ र ११ बजे देखि ६ बजे सम्म गरेको ४ सय ५० रुपैयाँ ज्याला पाउने गरी उनले दैनिक ६ सय ३० रुपैयाँ कमाउँछिन् । तर, ज्यालामा भएको असमानताले मन दुख्ने प्रमिलाले बताइन् । उनी सरह नै काम गने पुरुष मजुदरले भने ८ सय ५० ज्याला पाउँछन् । समान काम तर असमान ज्यालामा भएको भेदभाव प्रति प्रमिला भन्छिन् “नेताहरुले जति नै नियम बनाए पनि लागु भएन खै किन हो ?”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप