बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा

बिहीबार, ३२ असार २०८३, ११ : ५५
बिहीबार, ३२ असार २०८३

सारांश

  • उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा १०१.६० प्रतिशत बढी मुद्दा फर्स्यौट गरेको छ।
  • गत आर्थिक वर्षमा कुल ६,५१६ मुद्दा दर्ता भएकामध्ये ४,६१९ मुद्दा फर्स्यौट भएका छन्, जसले गर्दा हाल १,८९७ मुद्दा मात्र विचाराधीन छन्।
  • १८ महिना र दुई वर्षभन्दा पुराना सबै मुद्दा शून्यमा झार्न सफल भएको छ।

जनकपुरधाम । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी मुद्दा फर्स्यौट गर्न सफल भएको छ। 

अदालतले आफ्नो वार्षिक लक्ष्यको तुलनामा १०१.६० प्रतिशत प्रगति हासिल गरेको हो।

अदालतको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अघिल्लो वर्षबाट सरेर आएका २ हजार २ सय ६७ र नयाँ दर्ता भएका ४ हजार २ सय ४९ गरी कुल ६ हजार ५ सय १६ मुद्दा रहेका थिए। तीमध्ये ७०.८८ प्रतिशत अर्थात् ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट भइसकेका छन्। अदालतका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरका अनुसार हाल १ हजार ८ सय ९७ मुद्दा मात्र विचाराधीन अवस्थामा छन्। 

विशेष गरी पुराना मुद्दा फर्स्यौटलाई प्राथमिकतामा राखेर रणनीतिक योजनाका साथ कार्यसम्पादन गरिएकाले १८ महिना तथा दुई वर्ष नाघेका सबै मुद्दाहरू शून्यमा झार्न सफल भएको अदालतले जनाएको छ।

चालु आर्थिक वर्षका लागि अदालतले ४ हजार ५ सय ४६ मुद्दा फैसला गर्ने लक्ष्य निर्धारण गरेको थियो। तर कार्यसम्पादनमा प्रभावकारिता ल्याउँदै निर्धारित लक्ष्यभन्दा बढी अर्थात् ४ हजार ६ सय १९ मुद्दा फर्स्यौट गरिएको हो। 

अदालतले आगामी आर्थिक वर्षमा ६ हजार ८ सय २६ नयाँ मुद्दा दर्ता हुन सक्ने अनुमान गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप