बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दुई वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा शून्य सिकार

आइतबार, १९ वैशाख २०७३, १४ : १४
आइतबार, १९ वैशाख २०७३
चितवन - एक सिँगे गैँडा लगायत जङ्गली जनावरको व्यापक चोरी–सिकार हुने गरेकामा पछिल्ला वर्षमा सुरक्षा रणनीति परिवर्तन गरी कडाइका साथ सुरक्षा गर्न थालिएसँगै चितवन राष्ट्रिय निकुञ्जले लगातार दोस्रो वर्ष शून्य चोरी–सिकार वर्ष पूरा गरेको छ । विसं २०७१ वैशाख १९ गते यता निकुञ्जमा दुर्लभ एक सिँगे गैँडा, बाघ लगायत कुनै पनि जङ्गली जनावर चोर–सिकारीका कारण मारिएका छैनन् । विसं २०७१ वैशाख १९ गते राति १२ः४ मिनेट जाँदा निकुञ्जको ध्रुव क्षेत्रमा पछिल्लो पटक सिकारीबाट गैँडा मारिएको थियो । आजको राति १२ः५ मिनेट पुग्दै गर्दा ७३० दिन चोरी–सिकार शून्य दिन हुनेछ । विसं २००७ मा ८०० एक सिङ्गे गैँडा रहेको चितवन राष्ट्रिय निकुञ्जमा २०२३ सम्म आइपुग्दा १०० गैँडा बाँकी थिए । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार आव २०५५÷५६ देखि २०७०/७१ सम्म १७२ गैँडा चोर–सिकारीका कारण मारिएका छन् । आव २०५५/५६ देखि आव २०७१/७२ सम्म २१२ गैँडा प्राकृतिक कारणबाट मरेको निकुञ्जका प्रवक्ता अर्यालले बताए । चोर–सिकारीका कारण २०५८/५९ मा सबैभन्दा बढी ३७ गैँडा मारिएका थिए । सो तथ्याङ्क हेर्दा सशस्त्र द्वन्द्वका समयमा सबैभन्दा बढी चोरी–सिकारी निकुञ्जमा भएको देखिन्छ । दुर्लभ वन्यजन्तु कहालिलाग्दो गरी मारिन थालेपछि नेपालमा मात्रै होइन सन् १९८४ मा विश्वसम्पदा सूचीमा निकुञ्ज सूचीकृत भएकै कारण अन्तर्राष्ट्रिय जगत्मा पनि चासोको विषय बन्यो । निकुञ्जको निगरानीमा कर्मचारी, सुरक्षार्थ खटिएको नेपाली सेनासँगै नेपाल प्रहरी र उसको अपराध अनुसन्धान ब्युरोसमेत सशक्त रुपमा लागेको देखिन्छ । यसबाट तस्करको सञ्जाल तोड्न सफल भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल जिकिर गर्छन् । एक साताअघिदेखि गैँडा बाघ संरक्षण सचेतना कार्यक्रम लिएर मध्यवर्ती क्षेत्रमा घुमिरहनुभएका कँडेल भन्छन्,“पछिल्लो समय वन्यजन्तु र मानवबीचको द्वन्द्व अन्त्य भएको छ ।” निकुञ्ज सुरक्षामा खटेको श्रीजङ्ग गणका गणपति माधव थापा सहितको निकुञ्जको टोलीले २२ वटै मध्यवर्ती उपभोक्ता समितिमा पुगेर संरक्षण सचेतना फैलाउने काम गरिरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप