बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

भारतमा लुकेर नेपाली बैंकको पैसा तान्दै फरार मुरारका !

मङ्गलबार, २१ वैशाख २०७३, १४ : १५
मङ्गलबार, २१ वैशाख २०७३

काठमाण्डौ – किर्ते कागज गरी राजस्व ठगी आरोपमा नेपाल प्रहरीले पक्रउ पुर्जी जारी गरेका उद्योगी अशोक मुरारका भारतमा बसेर नेपाली बैंकको पैसा तान्न शुरु गरेका छन् । पक्राउ पुर्जि जारी भएपछि नेपाली बैंकमा रहेको खाता रोक्का हुने डरले उनले भारतमै चेकमा हस्ताक्षर गर्दै नेपाली बैंकहरुको पैसा निकालेर भारत लैजान शुरु गरेका हुन् । साझेदारी फर्म अवनिश एग्रीगेटको नाममा धाईजन गाविस वार्ड नं १ मा रहेको जग्गा घरेलुमा दर्ता भएको साझेदारी फर्मको नाम नै किर्ते गरी विक्री गरेको अरोपमा उजुरी परेपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । उनका साझेदार कृष्ण प्रसाद प्रसाईले किर्ते हस्ताक्षर गरी प्रालि बनाएर जग्गा बेचेको आरोपमा उजुरी दर्ता गरेका छन् । १८ करोडको जग्गा १० लाख ९४ हजार रुपैयाँमा विक्री गरेको कागज बनाएर ६९ लाख रुपैयाँ राजस्व ठगी गरेको उनको आरोप छ । उजुरी परेपछि उनी विभिन्न शक्तिकेन्द्र धाउने र प्रहरीलाई नै प्रलोभनमा पार्ने प्रयास गरेपनि झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपि) ठाकुर ज्ञवालीले पक्राउ पूर्जी जारी गरेपछि उनी भागेर भारत पुगेका हुन् । अहिले भारतको कोलकत्तामा भारतमा रहेकी आफ्नी श्रीमतिको नाममा रहेको क्यामेलिया ईण्टरनेशनलमा काम गर्न शुर गरीसेका प्रहरी स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय झापाले गएको मंसिर १६ गते चलानी नं ६९ अनुसार १० नम्बर रजिष्टर अनुसारको किर्ते ठगी र फौजदारी अभियोगमा पक्राउ पुर्जी जारी गरेको हो । ए वारेण्ट जारी भएपछि कार्वाही रोक्नका लागि विभीन्न शक्तिकेन्द्रमा पहल गरेका मुरारका गएको फागुन ४ गते बिहान ७ बजे बिराटनगरस्थित आफ्नो घरबाट निस्किएका थिए । ‘७ बजे पैदल निस्किएका उनले १ घण्टापछि फेरी गाडी मगाएर हिँडेदेखि फर्केका छैनन्’ उनका एक छिमेकीले भने ‘भारतको कलकत्तामा रहेको भन्ने सुनिएको छ ।’ उनी घरबाट निस्केपछि केही समय ईलाममा रहेको आफ्नो चिया कम्पनी ईलाम टि मा बसेका थिए । त्यसपछि भारतको कलकत्ता पुगेर उतैबाट काठमाण्डौ आएका मुरारका १० दिन काठमाडौं समेत बसेका थिए । प्रहरीले गत चैत्र १९ गते काठमाण्डौबाट चलानी नं ५९५६ को पत्र अनुसार वारेण्ट जारी गरेपछि उनी २९ गते नै कलकत्ता गएको स्रोतले बतायो । भारतमा बसेर नेपाली बैंक खाली गर्दै  भारतको कलकत्तामा बसेका उनले नेपालमा आफ्ना बैंकखाताहरु रोक्का हुन सक्ने डरले धमाधम पैसा निकालिरहेको स्रोले बताएको छ । यसका लागि उनका कम्पनीका लेखाशाखाका कर्मचारी जिडी सिँहले सहयोग गरेका छन् । ‘एकपटक पैसा निकालेमा थाहा हुन सक्छ भन्ने डरले जिडी सिँहको नाममा चेक काट्दै थोरै थोरै पैसा निकाल्दै गरेको भेटिएको छ’ स्रोतले भन्यो ‘उनले नेपालका बैंकबाट निकालेको पैसा नगदै लिएर भारत जान्छन र फेरी आउँछन् ।’ नेपालका धेरै बैंकहरुमा उनको कारोबार रहेपनि एनआईसि, नविल र एसविआई बैंकमा बढी कारोबार हुने गरेको छ । उनले यसअघि पनि ईलाम टि बाट उत्पादिन चियाको अण्डरविलिङ्ग गरी घाटा र न्यूननाफा देखाएर श्रीमतिको नाममा दर्ता भएको भारतीय कम्पनीमा पठाउने र नेपालका बैंकबाट ऋण लिने समेत गरेका थिए । चिया उद्योगका लागि चालुपुँजी २ करोडभन्दा बढी नलाग्ने भएपनि उनले २ करोडको उद्योग देखाएर विभीन्न बैँकबाट २० करोड बढी ऋण लिएका छन् । उनले एनआईसि, सनराईज, ग्लोवल आईएमई लगायतका बैंकहरुबाट ऋण लिएको कर्मचारीहरुले बताए । एउटै सम्पत्ति धितो राखेर धेरै बैंकबाट ऋण लिएको पनि स्रोतले बताएको छ । कम धितोको उद्योगबाट धेरै ऋण लिएर भारत पठाउने गरेको विषयमा उनका साझेदार र कर्मचारीहरुले सम्बन्धित बैंकहरुमा जानकारी समेत गराएका छन् । बैंक कसुर ऐन अनुसार एउटा प्रयोजनका लागि लिएको ऋण अर्कोमा चलाउन नपाईने भएपनि उनले लिएको ऋण सोझै हुण्डीमार्फत भारत पठाउने गरेको प्रतिस्पर्धि व्यवसायीहरु बताउँछन् । ‘त्यो ऋण त चिया उद्योग चलाउन आवस्यक नै छैन, तर अवैध तरीकाले हुण्डीमार्फत भारत पठाएको हामीले भेट्याएका छौँ ।’ एक चिया उद्योगीले भने । नेपाल र भारत दुवै देशका नागरिकता मुरारकाले भारत र नेपाल दुवै देशमा नागरीकता बनाएको पनि खुलेको छ । भारतको मधुवनीबाट कक्षा आठमा लाहानमा पढ्ने गरी नेपाल आएका हुन । त्यसपछि कलेज पढ्न भारत गएका उनी २०३५ सालतिर नेपाल आएका हुन् । उनले २०४५ सालमा जन्मसिद्ध अधिकारको आधारमा सगरमाथा अंचलको सिराहा जिल्ला लाहान ७ बाट नागरीकता निकालेका छन् । त्यतिबेलाको नागरिकता टोलीले उनलाई नागरिकता दिएको छ । २०११ सालमा जन्मेका उनी धेरै पछि मात्र नेपाल आएको भएपनि नेपालबाट जन्मसिद्ध अधिकारको आधारमा नागरिकता लिएका छन् । नागरीकता ऐन अनुसार अनुसार नेपालमा जन्मेर १५ वर्ष भन्दा बढी स्थाई रुपमा नेपालमा बसेको भएमा मात्र जन्मसिद्ध अधिकारका आधारमा नागरिकता दिने प्रावधान थियो । तर भारतमै जन्मेर आएका उनले सरकारी अधिकारीहरुलाई झुक्याएर नेपालबाट जन्मसिद्ध नागरीकता लिएको उनका आफन्तहरु बताउँछन् । बर्तमान संविधानले भने जन्मसिद्ध आधारमा नागरिकता दिने प्रावधान राखेको छैन । साझेदार मुरारका समुहसँग पनि लडाई साझेदारी लगानीमा सञ्चालन भएका फर्महरुको व्यवस्थापन एक्लैले हेरी आम्दानी खर्चमा झुक्याएको भन्दै उनका साझेदार मुरारका समुहसंग पनि झगडा शुरु भएको छ । पशुपति आईरन, पशुपति पेण्ट्स लगायतका साझेदारी उद्योगको आय व्यय विवरणमा झुक्याएको भन्दै प्रदिप मुरारकाले अहिले आईरनको व्यवस्थापन लिईसकेका छन् भने पेण्ट्सको पनि लिने तयारी गरेका छन् । ति कम्पनीहरुमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका र उनका भाई प्रदिप मुरारको पनि साझेदारी छ । ‘पाँच सात वर्षदेखि व्यवस्थापन हेरेर हिसाव किताव डामाडोल पारेपछि अहिले विबाद शुरु भएको हो’ मुरारका ग्रुप अफ कम्पनी स्रोतले भन्यो ‘अव यो अवस्थामा उनलाई कसरी विश्वास गर्न सकिन्छ त ?’ राजस्व ठगी र मुद्रा अपचलनेका पनि उजुरी  उनीविरुद्ध जग्गाविक्रीमा किर्ते र राजस्व ठगी बाहेक चियाको अण्डरविलिङ्ग गरी बैदेशिक मुद्रा अपचलन, राजस्व ठगी लगायतका उजुरी विभीन्न निकायमा परेका छन् । मुरारका र प्रसाईको साझेदारीमा रहेको ईलाम टि प्रोड्यूसर्स प्रालिबाट उत्पादित चियाको अण्डरविलिङ्ग गरी भारतमा आफ्नी श्रीमतिको नाममा रहेको कम्पनीमा चिया पठाएर बैदेशिक मुद्रा अपचलन गरेको उजुरी आन्तरीक राजस्व र राजस्व अनुसन्धान विभागमा परेको छ । मुरारकाले उत्पादित समानको अण्डरविलिङ्ग गरी ८७ करोड रुपैयाँ भारत पठाएको उजुरीमा उल्लेख छ । उनले ईलाम टि उत्पादन भएको चिया भारतमा रहेकी आफ्नी श्रीमतिको नाममा रहेको क्यामेलिया ईण्टरनेशनलमा निर्यात गरेर प्रतिकेजी करीव ८० रुपैयाँ अण्डरविलिङ्ग गरी ८२ करोड ३५ लाख ३३ हजार ८ सय ८० रुपैयाँ अपचलन गरेका छन् । त्यस्तै पशुपति स्टोन क्रसरको बाट २०६० देखि २०६४ सम्मको नाफा ५ करोड नदेखाएर अपचलन गरेको उल्लेख छ । ईलाम टिको शुरुदेखि हालसम्म उत्पादन भएको ८६ लाख ९४ हजार १ सय केजि चियाको प्रतिकेजि करीव ८० अण्डरविलिङ्ग गरी ६९ करोड ५५ लाख ३३ हजार ८ सय ८० रुपैयाँ अपचलन गरेका छन् । त्यसैगरी २०१४ र २०१५ को १६ लाख केजिको १२ करोड ८० लाख रुपैयाँ अपचलन गरेको राजस्वमा परेको उजुरीमा उल्लेख छ । ‘यसको पुष्टि यसै प्रकृतिको ईलाम जिल्लाकै हिमालयन साँग्रीला टि प्रालिले आन्तरीक राजस्व कार्यालयमा पेश गरेको सम्पूर्ण राजस्वको विवरण हेरेमा पुष्टि हुन्छ ।’ प्रसाईले भने । ३० करोड ११ लाख राजस्व ठगी ः मुरारका ग्रुपका सदस्य उद्योगी अशोक मुरारकाले ३० करोड बढी राजस्व छली गरेको पनि उजुरी परेको छ । पशुपति आईरन, पशुपति पेण्ट्स, ईलाम टि, पञ्चकन्या चिया, अवनिश एग्रिगेट लगायत आधादर्जन बढी उद्योग बैंक तथा वित्तिय संस्थामा लगानी गरेका मुरारकाले ३० करोड ११ लाख ६६ हजार १ सय ८० रुपैयाँ राजस्व ठगी गरेको उजुरी आन्तरीक राजस्व कार्यालयमा परेको छ । मुरारकाले व्यवसायीक साझेदारलाई समेत झुक्याएर हिसावकिताव गोलमाल पारेको थाहा भएपछि उनी विरुद्ध साझेदारले नै उजुरी गरेका हुन् । साझेदार कृष्ण प्रसाद प्रसाईका अनुसार उनले ईलाम टि प्रोड्यूसर्स प्रा.लि.को आयकर बापत १६ करोड ४६ लाख ६ हजार ७ सय ७६ रुपैयाँ ठगी गरेको उल्लेख छ । त्यसैगरी भ्याटबापत १० करोड ७० लाख ५९ हजार ४ सय ४ रुपैयाँ राजस्व ठगेका छन् । थानकोटमा रहेको पशुपति स्टोन क्रसरको १ करोड आयकर र १ करोड ९५ लाख भ्याट ठगी गरेको प्रमाण प्रसाईले राजस्वमा पेश गरेका हुन् । १८ करोडको जग्गा बेचेर ५४ लाख राजस्व ठगी मुरारकाले अवनिश एग्रीगेटको नाममा रहेको १८ करोडको जग्गा १० लाखमा विक्री गरेको कागज बनाई ५४ लाख रुपैयाँ राजस्व ठगी गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएको साझेदारी फर्मका कागजात किर्ते गरी प्रा.लि.कम्पनी बनाएर विभिन्न स्थानमा रहेको १८ करोडको जग्गा उनले सरकारी कागज किर्ते गरी बेचेको उजुरी जिल्ला प्रहरी कार्यालय झापामा दर्ता भएको छ । २०७२ साल भदौ १३, असोज ३ र कार्तिक ४ गते मालपोत कार्यालयलाई चिठी लेखेर काका अशोक र एजेण्ट मेचेमार्फत अवनिश एग्रीगेटको नाममा धाईजन गाविस वार्ड नं एकमा कित्ता नंबर १२०१ को १ रोपनी, कित्ता नं. ३५३ को १० आना, ११९९ को १५ आना र र १२०० को २ रोपनी १५ आना जग्गा बेचेका जग्गा टुक्रा टुक्रा पारी विक्री गरेको मातलपोत कार्यालय झापाले जनाएको छ । साझेदार प्रसाईका अनुसार बाटोको सुविधा भएको उक्त जग्गामा अठार करोड रुपैयाँ मूल्य पर्छ । तर मुरारकाले किर्ते गरेर कम मूल्यमा बेचेका छन् । ‘मुल सडक सँग जोडिएको पिच सडक भएको जग्गा भएपनि कम्पनीको सञ्चालक समितिको बैठकमा मेरो सही कृर्ते गरी बाटो नभएको भनेर गा.बि.स.वाट घर वाटोको सिफारिस लिएका छन् ।’ उनले भने । श्रीमतिको नाममा भारतमा लगानी ? मुरारकाले भारतका विभीन्न उद्योगहरुमा लगानी गरेका छन् । पछिल्लोपटक बेलायतमा पढेर फर्किएको उनको छोरा मधुसुदनले बिबाह गरेपछि नेपाल आउन नमानेकोले उनी तनावमा परेका थिए । छोरा बुहारी नेपाल आउन नमानेपछि उनी श्रीमति समेत भारतमै गईन् । त्यसपछि मुरारकाले नेपालका उद्योगबाट कमाएर भारतमा लगानी गर्न थाले । उनले नेपालका जयपुरमा रहेको ससुरालीको मार्फत फ्याक्ट्री र हैदारावादमा छोरीज्वाईँको डायमण्ड फ्याक्ट्रीमा लगानी गरेका छन् । उनले भारतमा जग्गामा समेत लगानी गरेर कलकत्तामा बस्ने छोराको नाममा कारोबार गरीरहेको उनका कर्मचारीहरुले जानकारी दिए । राजस्व ठग्न तीन प्रकारको आयव्यय विवरण भारतबाट वाणिज्यशास्त्रमा स्वर्णपदक पाएका मुरारकाले आफ्नो दिमाग भने उद्योग विस्तार र देशको उन्नतीको लागि लगाएनन् । उनका कम्पनीका कर्मचारीहरुका अनुसार साझेदारीमा सञ्चालित उद्योगको आय विवरण तीन प्रकारको बनाउने गरेका छन् । ‘एउटा साझेदारलाई देखाउने र ठग्ने, अर्को आन्तरीक राजस्व कार्यालयमा बुझाउने विवरण हुन्छ जुन वास्तविक आय भन्दा कम देखाईएको हुन्छ’ एक कर्मचारीले भने ‘अर्को एउटा वास्तविक हुन्छ, जुन हिसाव राखेर तुरुन्तै भारत पठाउँछन् ।’ उनका साझेदार प्रसाईका अनुसार उनको सम्पूर्ण आर्थिक कारोबार मुरारकाको एकल निर्णयबाट हुने गरेको थियो । वारम्बार हिसाव माग्दा पनि नदिने गरेपछि उनीहरुविच २०७१ सालमा विबाद भएको थियो । विबाद समाधानका लागि गठन गरीएको मध्यस्थकर्ता समितिले हिसाव हेर्दा ठूलो राजस्व विवरण ठगी गरेको भेटिएको एक मध्यस्तकर्ताले बताए । ‘साझेदारी व्यवसाय त विश्वासमा पो हुनुपर्ने, साझेदारकै विश्वासमा कुठाराघात गरेर करोडौँ रुपैयाँ ठगी गरेको भेटियो ’ उनले भने ‘अहिलेसम्म त्यसको हिसाव क्लियर गरेका छैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप