कुल गार्हस्थ्य उत्पादन १३ वर्ष यताकै न्यून, प्रतिव्यक्ति आय घट्यो
काठमाडौँ– चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन एक प्रतिशत भन्दा कम हुने भएको छ ।केन्द्रीय तथ्याङ्क विभागका अनुसार चालु आवको कुल गार्हस्थ्य उत्पादन ०.७७ प्रतिशत हुने देखिएको छ । यो वृद्धि दर १३ वर्ष यताकै कम हो ।
भूकम्पपछि पुनःनिर्माणले गति लिन नसकेको, तराई मधेसको आन्दोलनका कारण सीमा नाकामा भएको अवरोधले ६ महिना भन्दा बढी समयसम्म आर्थिक गतिविधिमा परेको नकारात्मक प्रभावका कारण उत्पादन न्यून हुने देखिएको हो ।
विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्था तथा बैंकहरुले कुल उत्पादन बारे फरक–फरक तथ्याङ्क सार्वजनिक गरिरहेको बेला विभागले राष्ट्रिय तथ्याङ्कहरुको मिहीन अध्ययन गरेर नयाँ तथ्य सार्वजनिक गरेको हो । आव २०७०÷७१ मा ५.७२ प्रतिशत रहेको कुल गार्हस्थ्य उत्पादन आव २०७१÷७२ मा २.३२ थियो । सामान्यतः चार प्रतिशतको हाराहारीमा रहेको कुल गार्हस्थ्य उत्पादन हालसम्मकै न्यून विन्दुमा पुग्ने अवस्था सिर्जना भएको हो ।
यस्तै प्राथमिक क्षेत्रको रुपमा रहेको कृषि तथा वन, मत्स्य र खानी तथा उत्खनन क्षेत्रमा कुल मूल्य अभिवृद्धिदर १.२२ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०७१÷७२ मा त्यसको मात्रा ०.७१ प्रतिशत थियो । कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रले ३२.२८ प्रतिशत योगदान दिने गरेको छ ।
द्वितीयक क्षेत्रको रुपमा रहेको निर्माण, उद्योग र विद्युत्, ग्यास र पानी क्षेत्रको वृद्धिदर ६.३ प्रतिशतले ह्रास हुने विभागले जानकारी दिएको छ । सिमानामा भएको अवरोध, निर्माण सामग्री तथा कच्चा पदार्थ जस्ता आयातित वस्तुको प्रवाहमा आएको कमी तथा भूकम्पका कारण यो क्षेत्र निकै प्रभावित भएको छ भने कूल मूल्य अभिवृद्धि वृद्धिदरमा कमी आउने देखिन्छ ।
सेवा क्षेत्रअन्तर्गत थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुराँ, यातायात, सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्तता, रियल स्टेट तथा व्यावासायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, समािजक तथा व्यक्तिगत सेवा पर्छन् । चालु आवको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ५४.२९ प्रतिशत योगदान दिने गर्छ ।
आव २०७१÷७२ को तुलनामा चालु आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर २.६७ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । औद्योगिक वर्गीकरणअनुसार कृषि तथा क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर १.१४ प्रतिशत रहने निर्देशक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । धान, गहुँ, कोदो, आदिको उत्पादनमा आएको ह्रासका कारण यस क्षेत्रको कुल मूल्य अभिवृद्धि वार्षिक वृद्धिदर घटेको अनुमान गरिएको हो भने बढ्दो खडेरीले समेत प्रमुख बालीको उत्पादनमा कमी आएको छ ।
मत्स्यपालनमा चालु आवको कूल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रले ०.५ प्रतिशत योगदान दिएको छ भने सो क्षेत्रको वार्षिक वृद्धिदर ११.६७ प्रतिशत रहनुका पछाडि सरकारी तथा गैरसरकारी क्षेत्रको प्रयास सफल हुँदै गएको, माछा उत्पादन हुने तराईमा भूकम्पको प्रभाव कम भएकाले सकारात्मक प्रभाव परेको हो ।
खानी तथा उत्खनन क्षेत्रमा चालु आवमा वृद्धिदर ऋणात्मक ६.५४ प्रतिशत हुने देखिएको छ । भूकम्प प्रभावित जिल्लामा ढुङ्गा, गिटी, बालुवा र माटोको उत्खननमा धेरै ह्रास आएको छ भने पक्की घर निर्माणमा सरकारले लगाएको रोकसँगै निर्माण सामग्री उत्खनन कम भएको छ ।
विद्युत्, ग्यास र पानीमा आव २०७१÷७२ को तुलनामा १.६६ प्रतिशतले ह्रास हुने अनुमान छ । भोटेकोसी, मैलुङजस्ता एक दर्जन जलविद्युत् उत्पादन केन्द्रहरु भूकम्पका कारण सञ्चालनमा आउन नसक्नु, लामो खडेरीका कारण नदीमा पानीको प्रवाहमा आएको कमीलगायतका कारणले यस क्षेत्रको उत्पादनमा कमी आएको हो ।
यस्तै शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा क्षेत्रमा पनि अघिल्लो वर्षको तुलनामा गिरावट आउने देखिन्छ । शिक्षामा ६।९९ प्रतिशत, स्वास्थ्यमा ८.८५ प्रतिशत र अन्य सामाजिक क्षेत्रमा ५.६ प्रतिशतले वृद्धि हुने विभागको प्रक्षेपण रहेको छ । विभागका महानिर्देशक सुमनराज सिग्देलले आगामी आवमा भूकम्पपछिको पुनःनिर्माणले गतिलिने र अन्य आर्थिक परिसूचक समेत सकारात्मक विकास हुने भएकाले आत्तिइहाल्नुपर्ने अवस्था नभएको बताए ।
‘प्रतिव्यक्ति आय घट्यो’
विभागकाअनुसार नेपालीको प्रतिव्यक्ति आय चालु आवमा कम हुने भएको छ । विभागका अनुसार ७५२ अमेरिकी डलर मात्रै प्रतिव्यक्ति आय हुने देखिएको छ । आव २०७१÷७२ मा ७६२ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा चालु आवमा १० डलर कम हुने देखिएको हो ।
अमेरिकी डलरमा आएको वृद्धिका कारण पनि केही कमी हुने देखिएको विभागका निर्देशक विष्णु भट्टराईले जानकारी दिए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण