बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सरकारले पुनर्निर्माणमा सहयोग गर्छ : गृहमन्त्री बस्नेत

मङ्गलबार, २१ वैशाख २०७३, १८ : ५९
मङ्गलबार, २१ वैशाख २०७३

गुल्मी– गत शनिबार गुल्मीको वडागाउँ–१ को दजाकोट र वडा नम्वर–२ को माझागाउँमा आगोेले जलेर नष्ट ७० भन्दा बढि घरहरुको अवलोकन गर्न आईपुगेका गृहमन्त्री शक्तिबहादुर बस्नेतले पुनर्निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका छन् ।

उनले तत्कालका लागि सरकारप्रति परिवार दुई बण्डलका दरले जस्ता पाता वितरण गर्ने र पिडित परिवारका सदस्यहरुलाई आयआर्जनका कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरे । जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलालई उनले निर्देशन दिँदै भने– ‘यहाँहरुले तत्काल बैठक बसेर कुन–कुन कार्यक्रम सञ्चालन गर्दा यहाँका पिडित जनताको जीवनस्तरमा सुधार आउँछ, ति कार्यक्रमहरु तत्काल सिफारिस गरेर पठाउनुस् सरकारले अवश्य सम्वोधन गर्नेछ ।’ उनले पुनर्निर्माणका लागि सरकारले थप सहयोग के गर्न सक्छ त्यसका लागि आफूले मन्त्री परिषद्मा कुरा राख्ने बताए ।

एकीकृत नेकपा माओवादीका स्थाई कमिटी सदस्य समेत रहेका गृहमन्त्री बस्नेतले त्यस दजाकोट र माझागाउँमा सरकारले तत्काल लिफ्टिङ्ग सिस्टम खानेपानी योजना सञ्चालन गर्ने लागेको जानकारी दिए । उनले भने– ‘यति ठूलो क्षति हुने गरी आगो लागी हुनुको मुख्य कारण पानीको अभाव भएको समाचारबाट थाहा भयो र यहाँका जनप्रतिनिधी र पूर्वमन्त्रीहरुले समेत यहाँको पानीको समस्याकाबारेमा कुरा राखेपछि सरकारले तत्काल यहाँ लिफ्टिङ्ग सिस्टम खाने पानी योजना सञ्चालन गर्ने निर्णय गरेको छ ।’

उनले बडागाउँ मुसिकोटका राजनैतिक दलहरुले प्रहरी चौकीको माग गरेपछि हाललाई अस्थाई प्रहरी चौकी राख्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन थिए । उनले भने– ‘ति दुई गाविसको कहाँनिर राख्न उचित हुन्छ, त्यसबारे छलफल गरेर मन्त्रालयमा पठाउनुस् स्थाई प्रहरी चौकी स्वीकृत गरिने छ, हाललाई अस्थाई प्रहरी चौकी राखी हाल्नुस् ।’

जिल्लाका सर्वदलीय टोलीले गृहमन्त्री बस्नेतसँग जिल्लाभरका अन्य अग्नी पिडितलाई पनि सरकारले सम्वोधन गर्न आग्रह गरे अनुरुप गृहमन्त्री बस्नेतले सबैलाई सोही अनुरुप सरकारले सम्वोधन गर्ने बताए । त्यस्तै उनीहरुले यहाँको विकास निर्माणमा पनि सरकारको ध्यानकृष्ट गराएका थिए ।

गृहमन्त्री बस्नेतले आफूले मन्त्री परिषद्मा यहाँका समस्याहरुका बारेमा कुरा राख्ने बताएका थिए । सरकारले निकै आकर्षक खालका बजेट ल्याउँदै छ भनिएको छ नि ? भन्ने पत्रकारहरुको प्रश्नमा उनले छोटो प्रतिकृया दिँदै भने– ‘आकर्षक भन्दा पनि जनताको अपेक्षा पुरा गर्ने खालको बजेट ल्याईदै गरेको बताए ।’

नेपाली कांग्रेसलाई समेत सरकारमा ल्याएर राष्ट्रिय सरकार बनाउने चर्चा छ नि ? भन्ने अर्को प्रश्नमा उनले भने– ‘अवश्य पनि आजको आवश्यकता भनेकै राष्ट्रिय सरकारको हो, त्यसका लागि सरकारले पहल गरिहेको छ । गृहमन्त्री सँगै अवलोकनमा आएका नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदिप ज्ञवालीले दजाकोट र माझगाउँका अग्नी पिडितहरुका लागि थप सहयोगका लागि सरकार सँग कुरा राखेको र चाँडै क्याविनेटबाट निर्णय गराउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप