बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दुई घण्टाको स्कुले बाटो, दुई घण्टा पँधेरोमा

मङ्गलबार, २१ वैशाख २०७३, १९ : १३
मङ्गलबार, २१ वैशाख २०७३

गुल्मी– आगोले क्षतिग्रस्त गुल्मीको दजाकोट गाउँका विद्यार्थी बहिनीहरुले विहान उठेर दुई घण्टाको ओरालो–उकालो गरेर पँधेरोमा पानी लिन जान्छन् भने साढे दुई घण्टाको बाटो हिँडेर स्कुल जाने गर्दछन् ।

यसरी दिनमा झण्डै पाँच घण्टा पैदल यात्रामा समय खर्चिदाँ उनीहरुका लागि पढ्ने समय एकदमै कम हुने गरेको छ । वडागाउँ गाविस वडा नम्वर– १ मा पर्ने त्यस दजाकोटमा आगो लागेर प्राय सिंगो गाउँ ध्वस्त हुनुअघि देखि नै खाने पानीको यस्तो समस्या भोग्दै आइरहेका हुन् ।

त्यहाँका विद्यार्थी बहिनीहरु मध्येकी कक्षा १० मा अध्ययनरत विपना पेमीले भनिन्– ‘बिहानै उठेर तल दुई घण्टाको ओरालोमा पर्ने सिमाखोलामा पुगेर पानी ल्याउछौं, त्याँबाट आएर स्कुल जान भ्याई–नभ्याई हुन्छौँ र साढे दुई घण्टा हिँडेर स्कुल जान्छौं पढ्ने समय त एकदम कम हुन्छ ।’

कक्षा १० मैं पढ्ने अर्की विद्यार्थी पुष्पा सनारी भन्छिन्– ‘त्यही पनि अहिले त मुल सुकेर गाग्री भर्न धेरै बेर पर्खिनु पर्दा ढिला हुन्छ ।’ उनीसहित त्यस गाउँका दर्जनौं विद्यार्थीहरु माध्यमिकतहको शिक्षा लिन पारी त्रिभुवन उच्च माध्यमिक विद्याली भुवाचिदी र यता मुसिकोट माध्यमिक विद्यालयमा जाने गर्दछन् ।

त्यो भन्दा तलको शिक्षा भने त्यहाँका विद्यार्थीहरुले सोही गाउँमा रहेको पशुपति निम्न माध्यामिक विद्यालयमा लिने गरेका छन् । सोही विद्यालयका प्रधानध्यापक हरिप्रसाद छन्त्याल भन्छन्– ‘उक्त पँधेरोको मुल सुकेर अहिले ट्याक्टरमा पारी डेढ घण्टाको दुरीमा पर्ने खोलाबाट ट्याङकीमा भरेर ल्याँउदा यहाँका वासिन्दाले प्रति लिटेर डेढदेखि दुई रुपैयाँसम्म किनेर पानी खाने गरेका छन् ।’

झण्डै डेढ दशकदेखि त्यस गाउँलाई समेत पुर्याउने गरी ह्याङदी पौदीअमराई मुसिकोट बडागाउँ खानेपानी योजना सञ्चालन भएपनि त्यसको पनि मुल सुकेर त्यस योजनाका धाराहरु जिर्ण भईसकेका छन् । गाउँदेखि माथि कुनै पनि पानीको मुल नहुँदा त्यहाँका वासिन्दाले लिफ्टीङ्ग सिस्टम खानेपानी योजना अगाडी सारेको स्थानीय समाजसेवी समेत रहेका छन्त्यालले बताए ।

शनिवार दिउँसो सिंगो गाउँ नै ध्वस्त हुने गरी लागेको आगो अझैँ पूर्ण रुपले निभ्न सकेको छैन् । पानीकै अभावका करण तिन दिन अघिदेखि लागेको आगो निभाउन नसकिएको बताउँदै प्रधनाध्यापक छन्त्यालले भने– ‘७० भन्दा बढि घर र त्यति नै संख्यामा गोठ–बङला जलेर नष्ट हुनुको मुख्य कारण पानीकै अभाव हो ।’

उनकाअनुसार त्यस गाउँमा ८३ घरधुरी बसोबास गर्दछन् । उक्त गाउँ पुरै जनजाती वस्ती हो । आगो लागी भएपछि त्यहाँ पानीको झन समस्या परेको छ । मंगलवार अवलोकनमा आएका गृहमन्त्री शक्ती बस्नेतले यहाँको खानेपानीको विकराल अवस्था बुझेपछि सरकारले तत्काल लिफ्टीङ्ग सिस्टम खाने पानी योजना सञ्चालन गर्ने उद्घोष गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप