बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

फोरम (लो) महाधिवेशनः अध्यक्षमा गच्छदारको उम्मेदवारी दर्ता

बुधबार, २२ वैशाख २०७३, १३ : १०
बुधबार, २२ वैशाख २०७३
विराटनगर - मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्षमा विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीको विराटनगरमा जारी अधिवेशनको तेस्रो दिन आज १०ः३० बजे उनले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उनका प्रस्तावक र समर्थकमा पाँच पाँच जना छन् । प्रस्तावकमा सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिक, धनुषा अध्यक्ष उमाशङ्कर अरगरिया, काभ्रे अध्यक्ष गोविन्दबहादुर थापा, नवलपरासी अध्यक्ष सुभाष गिरी र केन्द्रीय सदस्य (काठमाडौं) बाबुराम पोखरेल छन्।

त्यसैगरी समर्थकमा चितवन जिल्ला अध्यक्ष जोखाप्रसाद चौंधरी, काठमाडौं अध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, मोरङ अध्यक्ष भक्तिनाथ माझी, सुनसरी अध्यक्ष प्रदीप चौंधरी र केन्द्रीय सदस्य महेशदत्त रहेका छन् ।

सो अवसरमा पार्टी अध्यक्ष गच्छदारले आपmू सर्वसम्मत अध्यक्षमा निर्वाचित हुने विश्वास व्यक्त गर्दै लोकतान्त्रिक विधिबाट हुने निर्वाचनमा केन्द्रीय सदस्यमा पनि सर्वसम्मतिको प्रयास हुने र नभएको अवस्थामा मतदान हुने जानकारी गराए।

सो पार्टीका ४२ केन्द्रीय सदस्य पदको निर्वाचन हुन लागेकामा समावेशीतर्फ २१ र खुलातर्फ २१ पदका लागि मनोनयनपत्र दर्ता भइसकेको छ । तीमध्ये आरक्षित पदमा मधेसीका चार, महिला, दलित (पहाडी), दलित (मधेसी), आदिवासी जनजाति (मधेसी) आदिवासी जनजाति (पहाडी), पिछडावर्ग र खसआर्यका लागि दुई दुई पद आरिक्षत गरिएको छ । एक पद कर्णाली क्षेत्रका लागि आरक्षित गरिएको सूचना अधिकारी सुनिलरञ्जन सिंहले जानकारी गराए ।

अध्यक्षको उम्मेद्वारी दर्ता शुल्क रु २५ हजार र केन्द्रीय सदस्यको दर्ता शुल्क रु पाँच हजार निर्धारण गरिएको छ । केन्द्रीय सदस्य उम्मेवारी दिन खोज्ने कतिपय व्यक्तिले उम्मेदवारीको शुल्क बढी भएको प्रतिक्रिया दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप