बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

पत्रकारिता दिवस अङ्कित चाँदीको सिक्का सार्वजनिक

शुक्रबार, २४ वैशाख २०७३, १६ : ४९
शुक्रबार, २४ वैशाख २०७३
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताले सत्य, तथ्य समाचार र सन्तुलित विचार प्रवाहको धर्म निर्वाह गरी पाठकको मन जित्नुपर्ने बताएकी छन् । प्रथम राष्ट्रिय पत्रकारिता दिवस तथा गोरखापत्र दैनिकको ११६औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा राष्ट्रपति भण्डारीले गोरखापत्र दैनिकले स्वच्छ र प्रतिस्पर्धी बन्दै भौतिक पूर्वाधार र प्रविधियुक्त हुन आग्रह गर्दै यसका लागि सरकारले आवश्यक सहयोग गर्नुपर्ने बताइन् । उनले गोरखापत्र पत्रिकाको जन्मदिनमा राष्ट्रिय पत्रकारिता दिवस मनाउन थाल्नु महत्वपूर्ण भएको उल्लेख गर्दै भनिन् – ‘‘गोरखापत्र राष्ट्रको धरोहर हो । मुलुकको जिउँदो इतिहास हो ।’’ पुरस्कार प्रदान राष्ट्रपति भण्डारीले यसवर्षदेखि प्रदान गर्न थालिएको रु ५५ हजार ५५५ राशिको गोरखापत्र राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई प्रदान गरिन्। यसैगरी, गोरखापत्र सम्मान भाषासेवी कमलमणि दीक्षित र पत्रकारिता विज्ञ लालदेउसा राईलाई प्रदान गरिएको थियो । सिक्का सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले नेपाल राष्ट्र बैंकले निष्कासन गरेको प्रथम पत्रकारिता दिवस अङ्कित चाँदीको सिक्का सार्वजनिक गरिन् भने सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशप्रसाद थपलियाले हुलाक सेवा विभागले प्रकाशन गरेको गोरखापत्रको पहिलो अङ्क अङ्कित विशेष संस्मरणात्मक आवरणमा टाँचा लगाइन् । विसं १९५८ मा गोरखापत्रको प्रकाशन आरम्भ भएको थियो भने मन्त्रिपरिषद्को गत फागुन १६ को बैठकले हरेक वर्ष वैशाख २४ लाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप