बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मालेले ल्यायो ‘नेपाल चिन्तन’ को नयाँ मार्गदर्शन

शनिबार, २५ वैशाख २०७३, ०८ : ०५
शनिबार, २५ वैशाख २०७३

काठमाडौँ– नेकपा मालेले सार्वभौमिकताको जगेर्ना, राष्ट्रिय स्वाधीनताको रक्षा र सिद्धान्तनिष्ठ कम्युनिस्ट पार्टीहरुबीचको एकताका लागि ‘नेपाल चिन्तन’ को नयाँ मार्गदर्शन अघि सारेको छ ।

शनिबारदेखि काठमाडौं हुने सो पार्टीको सातौँ राष्ट्रिय महाधिवेशनमा महासचिव तथा सरकारका उपप्रधानमन्त्री सिपी मैनालीले सो नयाँ वैचारिक दस्तावेज प्रस्तुत गरेका हुन् । झापा विद्रोहकालीन नेता मैनालीले ‘नयाँ जनवाद’ को कार्यक्रम र विचारमा पार्टीलाई सञ्चालन गर्दै आएकोमा त्यसलाई परिष्कृत र समयसापेक्ष बनाउन ३२ पृष्ठे ‘नेपाल चिन्तन’ ल्याउन लागेका हुन् । “नेपाली राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने चिन्तन नै नेपाल चिन्तन हो । नेपालको अस्तित्व र राज्यका रूपमा यसको स्वतन्त्रता, सार्वभौमसत्ता र भूअखण्डताको पक्षमा सुविचारित ढङ्गले व्यक्त गरिएका विचारहरू र तिनको कार्यान्वयन गर्ने नीतिहरूको शृङ्खला नै नेपाल चिन्तनको अर्को महत्वपूर्ण आयाम हो ”, ‘नेपाल चिन्तन–एक मार्गदर्शक’ पत्रकारलाई दिइएको पार्टी दस्तावेजमा भनिएको छ ।

पटक पटक अग्रगामी राजनीतिक परिवर्तन गरिदै अनुकूल अन्तर्राष्ट्रिय स्थितिमा मात्र आमूल परिवर्तन गरी जनवाद तथा समाजवादमा जान सक्ने नेपाली क्रान्तिको विशेषता बनेको जनाउँदै दस्तावेजमा सो स्वीकारोक्ति नेपाल चिन्तनको अर्को महत्वपूर्ण आयाम रहेको बताइएको छ ।

जनक्रान्तिको लक्ष्यप्रति समर्पित कार्यनीतिक कार्यदिशा तय गरी वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्षलाई अघि बढाउनुपर्ने तथा नेपालका हित सम्बोधन हुने गरी नेपालको ठोस वस्तुस्थितिमा माक्र्सवाद–लेनिनवाद तथा माओत्सेतुङ विचारधाराको प्रयोग सिर्जनात्मक रुपमा गर्नु नेपाल चिन्तनको अर्को महत्वपूर्ण आयाम रहेको जनाइएको छ ।

विसं २०५४ मा नेकपा एमालेबाट अलग भई बनेको मालेबाट सहाना प्रधान र वामदेव गौतम लगायत नेता पुनः एमालेमा फर्के पनि मैनालीले मालेको नेतृत्व गर्दै आएका छन् । यसबीचमा वामपन्थीबीचको कार्यगत सहकार्य र एकताका लागि भएका पहललाई ‘नेपाल चिन्तन’ ले सघाउने अपेक्षा गरिएको छ ।

संसद्को सबभन्दा ठूलो कम्युनिस्ट दल एमाले र दोस्रो ठूलो कम्युनिस्ट दल एमाओवादीको सत्ता गठबन्धनमा सहभागी पाँच सांसद रहेको मालेले राष्ट्रियताको जगेर्ना, राष्ट्रिय स्वाधीनताको रक्षा र सिद्धान्तनिष्ठ कम्युनिस्टहरुबीचको एकताका लागि ‘नेपाल चिन्तन’ को मार्गदर्शन ल्याएको सो पार्टीका प्रवक्ता कुमार बेल्वासेले  बताए । एमालेको ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्तमा माले नजिक देखिएको छ ।

नेता बेल्वासेले भने, ‘‘नेपालको हालसम्मको राजनीतिक परिवर्तनलाई हेर्दा यहाँको समस्यालाई पर्गेल्न राष्ट्रियताको संरक्षणका लागि देशभक्त र कम्युनिस्ट शक्ति एक ठाउँमा उभिनुपर्छ, अन्यथा परचक्रीका गतिविधि र आफ्ना रणनीतिक अनुकूलका क्रियाकलाप रोकिने देखिएन ।’’

उहाँले सबैजसो पार्टीलाई नेपाल चिन्तनबारे छलफलका लागि पठाइएको र महाधिवेशन उद्घाटन सत्रमा समेत त्यसमा सुझाव लिइने बताए । पार्टीका नेता तथा सांसद अइन्द्रसुन्दर नेम्वाङका अनुसार प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेतालाई उद्घाटनमा आमन्त्रण गरिएको छ ।

महाधिवेशनमा पार्टीका वैचारिक दस्तावेज, नीति र कार्यक्रम, सङ्घीय विधान र नेतृत्व चयन लगायतको कार्यसूची रहेको कार्यालय सचिव कुमार शाहले जानकारी दिए । चार दिन चल्ने महाधिवेशनमा देशभरका ६५० प्रतिनिधि सहभागी हुँदैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप