बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

दीपक मल्होत्राको विजनेश सिफ्ट : सामसुङ मोवाइलदेखि साङयोङ गाडीसम्म

मङ्गलबार, ०४ जेठ २०७३, १४ : ५१
मङ्गलबार, ०४ जेठ २०७३

काठमाडौ– जसरी मेहिनत विनाको सम्पत्ति, बेहोशीको आनन्द, चरित्र बिनाको ज्ञान र त्याग बिनाको पुजाको अर्थ छैन् । त्यसरी नै नैतिकता बिनाको व्यापारको पनि अर्थ रहदैँन । त्यसैले व्यापारमा नैतिकता र विश्वसनियता अनिवार्य रहन्छ । यो सूत्रसँग आफुलाई जोड्छन् नेपालका चर्चित व्यापारी एवंम् आईएमएसका अध्यक्ष दीपक मल्होत्रा

उनले पछिल्ला १५ वर्ष सामसुङ मोबाइललाई नेपालमा स्थापित गर्न पुरै लगाव र समपर्णका साथ परिश्रम गरे । अहिले उनै मल्होत्राको आईएमएस कम्पनीले नेपाली बजारमा कोरियाली ब्रान्डको साङयोङ मोटर्स बेच्ने भएको छ । सामसुङको व्यापार फस्टाइरहेका बेला एकाएक मल्होत्रा किन लागे त साङयोङ मोटर्सको व्यापारमा ? के मोबाइलमा झैँ सफलता मल्होत्राको समूहलाई मोटर्सको व्यापारमा मिल्ला ?

ब्रान्डप्रतिको लगाव

कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स संसारकै चर्चित ब्रान्ड हो । नेपाली बजारमा सामसुङका टिभी, फ्रिज लगायतका विभिन्न इलेक्ट्रोनिक्स सामानहरु उपभोक्ताको रोजाईमा पर्ने गरेपनि मोबाइल भित्रिन भने लामो समय लाग्यो । सामसुङ ग्रुपको सामसुङ इलेक्ट्रोनिक्सअन्तर्गतका ५ वटा विजनेश युनिटमध्ये सामसुङ टेलिकम्यूनिकेशन एक हो ।

सन् १९७७ मै दक्षिण कोरियाको सिओलमा यस संस्थाको स्थापना गरिएको थियो । १९८३ मा यस व्यापारिक समूहले मोबाइलको विजनेश सूरु गर्यो । १९८६ मा पहिलोपटक सामसुङले एस सी–१०० नामक मोबाइल सार्वजनिक गर्यो । तर राम्रो क्वालिटी नभएका कारण यो मोबाइलले व्यापार घाटा व्यहोर्नुपर्यो । तर, कम्पनीले हरेश खाएन ।

२ वर्षपछि सामसुङले कोरियामै बनेको पहिलो ह्यान्ड सेट मोबाइल एसएच–१०० ल्यायो । यसको व्यापार पनि सन्तोषजनक हुन सकेन । त्यसपछि वर्षेनी नयाँ नयाँ मोडलका मोबाइलहरु बजारमा ल्याएपनि सन् १९९३ सम्म सामसुङको व्यापार राम्रो थिएन ।

यतिबेलासम्म वर्षमा केवल १ देखी २ हजार मोबाइल सेट मात्रै बिक्री हुन्थ्यो । १९९३ देखी १९९८ सम्म कोरियामा आफ्नो व्यापार सुधारेपछि सामसुङले अन्तर्राष्ट्रिय बजारमा यो मोबाइललाई लैजान थाल्यो । अहिले सामसुङ विश्वमै कलिएको ब्रान्ड हो ।

कोरियालीहरुले जसरी सामसुङलाई विश्वबजारमा स्थापित गर्नका लागि कैयन असफलाहरु झेल्दै मेहिनत र समपर्ण जारी राखे । नेपालमा आइएमएस ग्रूपले यो मोबाइललाई स्थापित गर्न त्यस्तै शैलीमा अथक मेहिनत र समपर्ण जारी राख्यो । सन् २००१ मा दीपक मल्होत्राको आईएमएस ग्रुपले यो मोबाइल भित्र्याएको हो ।

यतिबेलासम्म धेरैजसो नेपाली उपभोक्ताहरुलाई सामसुङले मोबाइल बेच्छ भन्ने समेत थाहा थिएन । नेपाली बजारमा नोकियाको अधिपत्य थियो । यस्तो परिस्थितीबीच धेरै ब्रान्डका मोबाइल बेचिरहेका आईएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले अठोट गरे , अब सामसुङ ब्रान्डको मोबाइल मात्रै बेच्ने । तर सुरुआती दिनहरु निकै कठीन थिए ।

‘मैले आफ्ना नजिकका साथीभाईलाई विभिन्न शोरुमको जिम्मा दिएको थिएँ । सन् २००५ मा न्युरोड पाकोस्थित शोरुममा मैले यहाँ सामसुङ मोबाइल पाइन्छ भन्ने बोर्ड राखिदिए । त्यसपछि त्यस शोरुममा रहेको मेरा भाई नै रिसायो । सामसुङको मोबाइल मात्रै पाइन्छ भनेपछि अन्य ब्रान्ड नपाइने बुझेर त्यहाँ ग्राहक आउनै छाडेछन् । सन् २०१५ सम्म आइपुग्दा सामसूङ ब्रान्डको मोबाइल नपाइने पसलमा मानिस छिर्दैनन् । यो सबै ब्रान्डप्रतिको लगाव र ग्राहकलाई हामीले दिलाएको विश्वास हो । ’ मल्होत्रा भन्छन् ।

उनका अनुसार सन् २०११ देखी सामसुङ नेपाली बजारमा नम्बर वान ब्रान्ड बनेको छ ।

नेपालमा सामसूङ मोबाइल भित्र्याएको १० वर्षपछि यसलाई नम्बर वान ब्रान्ड बनाउन सफल मल्होत्रा मेहिनत र ब्रान्डप्रतिको लगावकै कारण सफलता मिलेको बताउँछन् । ‘मेरो मोबाइल राम्रो छ भन्दै कोही आफैँ किन्न त आउँदैनन नि ? पहिला आफ्नो पिआर, मार्केटिङ पोलिसी र विभिन्न कार्यक्रमहरु गरेर यो मोबाइल किन्नलायक छ भन्ने प्रमाणित गर्नसक्नुपर्यो ।’ उनले थपे, ‘त्यसपछि राम्रो क्वालिटी भएको सामानले विश्वसनियता आफैँ जित्छ । यो ब्रान्ड राम्रो छ भन्ने मलाई थाहा थियो । त्यसैले सुरुआतदेखी नै म यसलाई स्थापित गर्न एकोहोरो भएर लागेँ । कैयन असफलका बाबजुद ब्रान्डप्रतिको मेरो लगाव र समपर्ण कायमै रह्यो । मेरो सट्टामा अरु कोही भएको भए हरेश खान्थ्यो होला । तर,मलाई थाहा थियो यो ब्रान्ड एकदिन नम्बर वान हुन्छ ।’

मल्होत्राका अनुसार अहिले सामसुङ भोलुम र भ्यालू दुबैमा नम्बर वान छ । नेपालमा चाइनिज मोबाइलहरुको प्रयोग धेरै हुने भएका कारण जनसंख्याको २० प्रतिशतले सामसुङ प्रयोग गर्ने उनी बताउँछन् । यति धेरै बिक्री अरु कुनै ब्रान्डको नहुने उनको दाबी छ । सामसुङको बजार भ्यालू भने ५० प्रतिशत रहेको मल्होत्रा बताउँछन् । स्मार्टफोनहरु बढी नै बिक्री हुने भएका कारण बजार भ्यालूमा सामसुङ भोलुमको तुलनामा अगाडी रहेको उनको बुझाई छ ।

विजनेश सिफ्ट किन त ?

‘मैले त्यतिबेला सूरु गरेकी थिए जतिबेला मलाई कसरी गर्ने भन्ने थाहा थियो । अहिले मलाई धेरै राम्रोसँग थाहा छ । त्यसैले म अझै राम्रो गर्नसक्छु ।’ अमेरिकी कवि तथा अभिनेत्री मार्गरेट एन जोनसेनको यो भनाईलाई गहिरिएर बुझ्ने हो भने मल्होत्राले किन गाडीको विजनेश सूरु गरे भन्ने स्पष्टै हुन्छ ।

सामसुङ मोबाइललाई नेपालमा नम्बर वान बनाउन पुरै जोडबल लगाएका मल्होत्रा अहिले कोरियाली ब्रान्डै साङयोङ मोटर्स लिएर आएका छन् । स्पष्टै छ, उनको आईएमएस कम्पनीले विगतमा कमाएको विश्वसनियता र बडो मेहिनतका साथ १५ वर्षभन्दा लामो समयमा तयार पारेको व्यापारिक नेटवर्क यस कामका लागि पनि फलदायि सिद्ध हुनेछ । स्पष्ट के पनि छ भने नोकियाको दबदबा चिर्दै सामसुङलाई नम्बर वान बनाउने मल्होत्रा गाडीको व्यापारमा पनि यस्तै सफलताको सपना बोकेर आएका छन् । ‘अहिल्यै नम्वर वान बनाउँछु भन्दा त अपाच्य होला ।’– दरबारमार्गस्थित कम्पनीको कार्यालयमा हाँस्दै मल्होत्राले भने । ‘तर व्यापार बढाउनु र कुनैदिन नम्वर वानको हाराहारीमा पुर्याउछु भन्ने सपना छ किनकी सपना ठूलै देख्नुपर्छ ।’– यसपटक उनको अनुहारमा गम्भीर भाव देखिन्थ्यो ।

मल्होत्रा व्यापारमा विविधिकरण आवश्यक रहने बताउँछन् । ‘अन्य कम्पनीले पनि थुप्रै क्षेत्रमा काम गरेका छन् । म पनि आफ्नो व्यापारमा विविधता ल्याउन चाहन्छु । तर मैलेँ आफूले बेच्ने ब्रान्डप्रति भने म निकै सचेत र इमानदार छु । जसरी मोबाइलको सन्दर्भमा म सामसुङमात्रै बेच्छु । त्यसरी नै गाडीको सवालमा साङयोङ मेरो ब्रान्ड हुनेछ ।’– मल्होत्राले भने ।

उनका अनुसार सानैदेखी मोटर्सको व्यापार गर्ने सौख उनलाई थियो । उनले मोबाइलको व्यापार सूरु गर्नुअघि मोटर पार्टस्को व्यापार पनि गरेका थिए । तर पछि मोबाइलकै व्यापारमा व्यस्त हुदाँ शौखको पाटो मनभित्रै खुम्चिएर बस्यो ।

१ वर्ष प्रवद्र्धनमा

न्युरोडमा मोबाइल किन्दै गरेका दुई युवाहरु सामसुङको फोनमा आईएमएसको होलोग्राम कहाँ छ भने शोरुमवालालाई प्रश्न राख्दै थिए । आईएमएस प्रालीको ट्याग नलागेका सामसूङका मोबाइल नक्कली पनि हुनसक्छन् भन्ने प्रभाव बजारमा छाड्न सक्नु नै यस कम्पनीको उपलब्धि हो ।

मोबाइलको व्यापारबाट हासिल गरेको यस्तो विश्वसनियता र ब्रान्डको प्रत्यक्ष फाइदा कम्पनीले साङयोङ माटर्सको प्रवद्र्धनका क्रममा उठाउनेछ । चर्चित अभिनेत्री मार्गरेटले भनेझैँ मोबाइल बेच्न सूरु गर्दा आइएमएस नयाँ कम्पनी थियो । तर अब यो कम्पनी विशाल भइसकेको छ । त्यसैले साङयोङको प्रवद्र्धन गर्न कम्पनीलाई त्यति गाह्रो स्थिती आउनेछैन्, जति गाह्रो स्थिती सामसुङको प्रवद्र्धन गर्न भएको थियो ।

‘हामीसँग अहिल्यै नेपालभर ३२–३३ वटा वितरण केन्द्र छन् । त्यस्तै एटिएल, बिटिएल, डोर टु डोर, इन्डिभिज्यूयल लगायत सबै मार्केटिङ रणनीति प्रयोग गर्नेछौ । हामी पहिलो वर्ष आइएमएसले यो गाडी ल्याएको छ भन्ने सन्देश फैलाउनमै व्यस्त रहनेछौ । पहिलो वर्ष १ सयदेखी १ सय ५० वटासम्म मात्रै गाडी बेच्ने लक्ष्य लिएको छु ।’– मल्होत्रा भन्छन् ।

आइएमएस कम्पनीले जितेको विश्वासका कारण यो गाडीले दुई वर्षभित्र बजार लिने उनले अनुमान गरेका छन् । दोस्रो वर्ष ५ सयदेखी ६ सयको संख्यामा गाडी बेच्ने उनको योजना छ । गाडीका फिचर्स र स्पेयर्स पार्टस्को सहज उपलब्धतासँगै सर्भिस सेन्टरहरुको सहजताले गाडी बिक्रीमा प्रमुख भूमिका खेल्ने मल्होत्रा बताउँछन् ।

‘अहिले भर्खरै हामीले अस्ति सानो प्रेस कन्फ्रेन्स गर्यौ । अहिले यसको शोरुम उत्तर ढोकामा मात्रै छ । अब हामी उचित ठाउँ हेर्दैछौ । कुन ठाउँ उचित हुन्छ । त्यही खोल्छौ । अहिले सर्भिस सेन्टर २ वटा छ । क्रमशः हामी काठमाडौँ बाहिर पनि जान्छौ । पोखरा लगायत अन्य शहरहरुमा यसलाई बिस्तार गर्दै जान्छौ ।’– मल्होत्राले भने ।

उनले यसबाहेक बैकिङ इमएमआईको सुविधामार्फत पनि गा्रहकलाई आर्कषित गर्ने योजना बनाएका छन् । ‘तर पहिलो शर्त भनेकै गाडीको स्तर हो । जब गाडी नै राम्रो आर्कषक हुन्छ भने त्यसको बिक्री अवश्य राम्रो हुन्छ । हाम्रो गाडीको सन्दर्भमा भन्नुपर्दा मर्सिडिजसँगको कोल्याब्रेशनमा तयार भएका कारण पनि यो गाडी बलियो छ । फेरि ५० लाख रुपैयाँमा कोरियन गाडी नेपालमा पाइने भएपछि चढ्न कसले चाहदैँन ?’– मल्होत्रा भन्छन् ।

नेपालमा गाडी भित्र्याउने क्रममा लाग्ने कर निकै महगोँ हुने भएका कारण कम्पनीले कम मार्जिन राखेर गाडी बिक्री गर्न लागेको उनी बताउँछन् । अहिले कम्पनीले ४ वटा मोडलका गाडीहरु ल्याएको छ । जसअन्तर्गत टिभोली कारको मूल्य ५३ लाख ७५ हजार, कोरान्डो कार ७५ लाख २५ हजार, रेक्सटन ९९ लाख ७५ हजार र एक्टयोन स्पोर्टस्को मुल्य ५५ लाख रहेको छ ।

लाखको मोबाइल किन्नेले गाडी पनि किन्छन्

मल्होत्रालाई सामसुङ मोबाइलको व्यापार गर्दाका सुरुआती दिनमा भित्राभित्रै डर लागेको थियो । उनलाई लाग्थ्यो–‘ एउटा नेपालीले ५० हजारको मोबाइल कसरी किन्छ ?’ तर अनुमान गलत भयो । सामसुङ ब्रान्डको ९० हजारदेखी १ लाखसम्म पर्ने मोबाइलहरु धमाधम बिक्री भए ।

‘रेमिट्यान्समा चल्ने देश भएका कारण हाम्रो देशका जनतासँग पैसा रहेछ भन्ने अनुभव मलाई सामसुङ ब्रान्डका मोबाइल बिक्री गर्दै जाँदा भयो । युवाहरु विदेश पलायन भएपछि हाम्रो देश रेमिट्यान्समा आधारित छ । बाहिरबाट पैसा पठाउनेले काठमाडौँमा घरजग्गा किन्न चाहन्छन् । काठमाडौँको घरजग्गाको पैसा बढेको छ र मानिसहरुसँग पैसा छ । यदी सरकारी अर्थतन्त्र र आयश्रोतकै कुरा गर्ने हो भने त नेपाल बन्द गर्दापनि हुन्छ ।’ मल्होत्रा भन्छन्–‘ नेपालको अर्थतन्त्र ठीक उल्टो छ । अमेरिकामा जनता गरिब छन् । तर देश धनी छ । हाम्रो देशमा जनता धनी छन् ।’

समस्या बाटोमा होइन व्यवस्थापनमा

उनी नेपालमा कारका सौखिनहरु मात्रै होइन कार चलाउनका लागि आवश्यक सडक समेत पर्याप्त भएको बताउँछन् । ‘तपाई लण्डन जानुभयो भने यहाँभन्दा साँघुरा गल्लीहरु भेट्नुहुन्छ । तर त्यहाँ कहिल्यै जाम हुदैँन । त्यसैले हाम्रो सडक साँघुरो होइन । यही सडकमा अझै यत्तिकै संख्यामा गाडीहरु भित्र्याउने हो भनेपनि जाम हुदैँन । तर समस्या व्यवस्थापनमा हो ।’– मल्होत्रा भन्छन् ।

ट्राफिक व्यवस्थापनसँगै भत्किएका सडक र धुलो–धुवाँका कारण नेपालीहरुले समस्या व्यहोर्नुपरेको मल्होत्रा बताउँछन् । ‘अमेरिकामा २० हजार डलर अर्थात २० लाखमा पाइने गाडी किन्न यहाँ १ करोड तिर्नुपर्छ । तर हाम्रो बाटोमा गुडाउँदा त्यो गाडी ३ वर्षमा थोत्रो हुन्छ जबकी अमेरिकामा ५ वर्षसम्म केही हुदैँन । बाटोको स्थिती कति खराब छ हाम्रोमा यूएन पार्कको ज्वागलको स्थिती हेर्नुस् त ? ।’ उनले थपे–‘१ वर्षमा ध्वस्त भयो , त्यो बाटो । महाराजगन्जदेखी बुढानिलकण्ठको बाटो हेर्नुस् त अहिले त मर्मत भयो । तर बनेको २ महिनाभित्र बिग्रियो त्यो बाटो । यस्ता समस्याहरुलाई सरकारले गम्भिरतापूर्वक लिनुपर्छ ।’ सरकारले ठेक्का दिदाँ कम्पनीहरुले सस्तोमै बाटो बनाउने प्रयास गर्नु सामान्य भएको उनी बताउँछन् । ‘ठेक्का पाएका कम्पनीहरुले सस्तोमै बाटो बनाउन खोज्छन् , जून स्वभाविक हो । तर त्यस्ता कम्पनीलाई सरकारले कारबाही गर्न सक्नुपर्यो । कुनै पनि बाटोको एउटा निश्चित मापदण्ड र आयू हुन्छ । आयू सकिनु अगावै बाटो कसरी भत्किन्छ ? छानविन गरेर त्यस्ता कम्पनीहरुलाई कारबाही गर्ने हो भने भविष्यमा ठेक्का लिने कम्पनीहरुले पनि राम्रो बाटो बनाउने प्रयास गर्छन् ।’– मल्होत्राको भर्नाइ छ ।

नेपालको खराब सडककै स्थितीलाई ध्यानमा राखेर आफ्नो कम्पनीले सर्भिस सेन्टर र पार्टस्को उपलब्धतालाई पहिलो प्राथमिकतामा राखेको उनी बताउँछन् ।

अस्थिर सरकार र बेरोजगारीका कारण अर्थतन्त्र चौपट

नेपालको अर्थतन्त्र धरापमा पर्नुका पछाडी अस्थिर सरकार नै प्रमुख कारण रहेको मल्होत्रा बताउँछन् । ‘ सरकार भनेको कम्तिमा पनि ५ वर्षका लागि आउनुपर्यो । ࢪ१ वर्ष नपुग्दै सरकार परिवर्तन हुन्छ । अनि १ वर्षका लागि आउने सरकारले देशका लागि गर्ने वा पार्टी र कार्यकर्ताका लागि ।’ उनी थप्छन्–‘सरकार बन्नासाथ यो सरकारलाई कसरी ढलाउने र आफू सरकारमा पुग्ने भन्ने खेल हुन्छ । त्यस्तो खेले खेल्नेले के याद गर्दैनन् भन्दा भोली आफू पनि सरकारमा पुगेपछि त्यसरी नै बाहिरिनुपर्ने दिन आउँछ । देशमा समृद्धी कायम हुनका लागि स्थिर सरकार आवश्यक छ । तर त्यस्तो नहुनु दुग्भार्य हो ।’

युवाजनशक्ती पलायन हुने नेपालको अर्को दुग्भार्य रहेको उनी बताउँछन् । ‘संक्रमणकाल र बेरोजगारीका कारण थुप्रै युवाहरु विदेशिएका छन् । भोली जब देश विकासको चरणमा जान्छ, जब आर्थिक समृद्धिका कुरा आउँछन् । त्यतिबेला हामीलाई युवा जनशक्तीको अभाव महसूस हुनेछ । त्यसैले समयमै दक्ष जनशक्तीलाई रोजगारी दिएर देशमा राख्नु आवश्यक छ ।’

जलविद्युतको क्षेत्रमा फड्को मार्नसक्ने संभावना रहेपनि सरकार अस्थिर भएकै कारण नेपालीहरुले समस्या व्यहोर्नुपरेको उनको भनाई छ ।‘ कुनै चीज उत्पादन गर्नुपर्दा डबल,तेब्बर खर्च लागिरहेको छ । अनि कसरी फस्टाउँछ स्वदेशी उद्योगधन्दा ? जून देशमा १२ घण्टा लोडसेडिङ हुन्छ । त्यो देशमा उद्योगधन्दा चलाउन किन आउँछन् , अन्तर्राष्ट्रिय बहुउद्धेश्यिय कम्पनीहरु ? हाम्रो देशमा पर्याप्त विद्युत छ भन्ने म्यासेज जानसक्यो भनेमात्रै अन्तर्राष्ट्रिय लगानी भित्रनेछ र देशको विकास हुनसक्छ । तर त्यसका लागि फेरि स्थिर सरकारको कुरा आउँछ । सरकारले प्राथमिकतामा राख्नुपर्यो, विद्युत उत्पादनलाई ।’

अन्त्यमा मजदूरहरुको हकहितका बारेमा बोल्दै मल्होत्रा भन्छन्–‘मजदूरका मागहरु पुरा हुनुपर्छ । उनीहरुको हक–अधिकार सुरक्षित हुनुपर्छ । तर, त्यो अधिकार सुरक्षित गर्ने राज्यले हो । राज्यले कानून बनाउनुपर्यो, मजदूरका पक्षमा । न कि कुनै पार्टी, संगठन वा समूहले ठेक्का लिने हो मजदूर अधिकारको ।’

लामो समय व्यापारमा बिताएका कारण देशका विविध समस्याहरुसँग जुधेर पनि सफलता हासिल गरेरै छाड्ने अठोट राखेका मल्होत्रा भन्छन्–‘मेरा ग्राहकहरुले जसरी मेरो कम्पनीलाई विश्वास गर्दै आउनुभएको छ । यही विश्वास कायम रहन्छ भन्ने मेरो आशा हो । मोबाइलको क्षेत्रमा काम गर्दा मसँग खास अनुभव थिएन । तर अहिले अनुभव र सामसुङको इतिहास छ । त्यसैले नम्बर वान त अहिल्यै नभनौँ, तर त्यसको हाराहारीमा पुर्याउने कोसिस गर्नेछु । किनकी सपना ठूलै देख्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप