बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइयो

मङ्गलबार, ०४ जेठ २०७३, १६ : ५४
मङ्गलबार, ०४ जेठ २०७३

ताप्लेजुङ - यसअघिका अनुभवलाई उपयोग गर्दै पासो थापेको दुई दिनमै दुर्लभ वन्यजन्तु हिउँ चितुवालाई स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको छ ।

पासो थापेको दुई दिनमै ताप्लेजुङको ओलाङ्चुङ्गोला गाविसको याङ्मा गाउँको गुन्दाओ भिरमा पोथी हिउँ चितुवा पासोमा परेपछि स्याटेलाइट झुन्ड्याउन कञ्चनजङ्घा संरक्षण क्षेत्र सफल भएको हो ।

योसँगै कञ्चनजङ्घा क्षेत्रमा तीन वटा हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइसकिएको छ । पहिलो पटक २०७० मङ्सिर १० गते लेलेपको खम्बाछेनमा स्याटेलाइट झुन्ड्याइएको थियो जसले डेढ वर्षसम्म उसको गतिविधि देखाएको थियो । गत वर्ष दुई महिनाको पर्खाइपछि दोस्रो पटक स्याटेलाइट लगाइएको थियो । यसले एक महिना भन्दा बढी निरन्तरताको सङ्केत दिन सकेन ।

स्थानीयवासीको अनुभव र सक्रियताले गर्दा पासो थापेको दुई दिनमै पासोमा परेको र वैशाख १५ गते स्याटेलाइट जडान गरिएको बताइएको छ । अब अन्तिम एउटामा समेत पासो लगाई स्याटेलाइट जडान गर्ने तयारीमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यको भनाइ छ ।

नेपालकै जनशक्तिबाट गरिएकाले आफूहरु पनि उत्साही रहेको आचार्यले बताउनुभयो । स्याटेलाइटका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रविधिज्ञ फिरुलाल थारु, भेटनरी सहायक पुरुषोत्तम पाण्डे र विश्व वन्यजन्तु कोष नेपालका समुन्द्र सुब्बा बाहेक अरु सबै स्थानीयवासी रहेका छन् ।

वन मन्त्रालयले २०७० भदौ १९ गते चार वटालाई स्याटेलाइट लगाउन कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई अनुमति दिएको थियो । पहिलो पटक परेको हिउँ चितुवा नेपाल र भारत दुवै देशमा विचरण गरेको अध्ययनले देखाएको छ । याङ्मा क्षेत्रमा स्याटेलाइट लगाएर चीनको तिब्बतमा गए–नगएको बारे अध्ययन गर्ने प्रयास भइरहेको छ ।

हिउँ चितुवा विचरण गर्ने स्थानमा खाल्टो खनेर पासो थाप्ने र त्यसमा परेको सङ्केत पाएपछि बेहोस बनाएर स्याटेलाइट जडान गर्ने गरिएको छ । यसको एक महिनादेखि क्यामेरा ट्र्याप राख्ने र जनावरको गतिविधि अध्ययन गर्ने काम हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए ।

चार हजार मिटरमाथिको क्षेत्रमा बस्ने यसलाई हिमालको रानी पनि भनिन्छ । यसको अध्ययन वर्षको दुई पटक चैत–जेठ तथा असोज–कात्तिक महिनामा मात्रै गर्न सकिन्छ । हिमाली क्षेत्रमा हिउँ परिरहने भएकाले अध्ययन गर्न निकै कठिन हुने गरेको बताइन्छ ।

फाइल तस्विर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप