बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कराँते महासंघका महासचिवले सभासद्को भाञ्जादेखि खेलाडीसम्म ठगे

बुधबार, ०५ जेठ २०७३, ११ : २१
बुधबार, ०५ जेठ २०७३

काठमाडौं–धेरैजसो राजधानीको ठुला होटलमा भेटिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त कराँते महासंघका महासचिव केदारबावु शिवाकोटी नेपाल प्रहरी र आर्मीका अफिसरको कुरा गर्थे । दर्जनौं न्यायाधिश र सिडीओहरुसँग उनको कुनै न कुनै साईनो थियो । दोलखाको सुनखानी स्थायी घर भएका शिवाकोटी कराँते महासंघको महासचिव बाहेक सितोरीयो कराँते संघको अध्यक्ष समेत थिए । खेलकुदमा लागेकाहरुले टेलिफोन गर्दा कहिले पशुपती, कहिले अदालत, कहिले पुजापाठ र ब्रतबन्ध जस्ता ठाउँमा छु भन्दै आफुलाई ब्यस्त देखाउने तिनै खेल पदाधिकारी केही समयदेखी ‘ठगी धन्दा’मा लागेको पाईएको छ । बाराका प्रकाश श्रेष्ठलाई राष्ट्रिय अुनसन्धानको असई बनाईदिन्छु भन्दै ७ लाख पचास हजार ठगेपछि प्रहरीको फन्दामा परेका शिवाकोटीले जिल्ला अदालत काठमाडौंका न्यायाधिशलाई समेतसँग १ लाख असि हजार तथा पुर्व सभाषद् किरण राईको भाञ्जसँग बिस लाख ठगेको पाईएको हो ।

यसरी डुब्यो सभासद्को भाञ्जाको बीस लाख पहिलो संविधानसभामा एमाओवादीका सभाषद् थिए, सुनसरीका किरण राई । पुरेन्द्र विक्रम लाखे नेतृत्वको कराँते महासंघका उपाध्यक्ष समेत रहेका राई र शिवाकोटीको सम्वन्ध राम्रै थियो । किरण राई उपाध्यक्ष हुँदा शिवाकोटी महासंघको सचिव थिए । किरणका सहोदर भाञ्जा पदम राईले आफ्ना मामा मार्फत शिवकोटीलाई चिनेका थिए । पदम सँग चिनजान भएको केही समयपछी केदारबावुले राम्रो ब्याज दिने शर्तमा पदमसँग विस लाख मागे । ‘मामाको साथी भनेर भाञ्जाले बिस लाख दिएछन्, दुई बर्ष भयो ब्याज त परै जाओस साँवा पनि फिर्ता गरेको छैन’ पुर्व सभाषद् किरण राई भन्छन्, ‘पछि उनले मेरो नाममा बिस लाखको चेक काटिदिएका थिए तर बर्षौ देखी कारोबार नभएको खाता रहेछ, चेक साटिएन ।’ यसरी तिन महिनाको लागी भनेर लगेको लाखौं रुपैंयाँ फिर्ता गर्नुको साटो शिवकोटी पदमसँग टाढा हुन थाले । पदमको सम्पर्कमै आउन छाडेपछि बल्ल उनले आफ्नो मामालाई शिवाकोटीले पैसा लगेको कुरा जानकारी गराएका थिए । ‘भाञ्जाले मसँग पैसा दिएको कुरा गरेपछि मैले फोन गरेँ’ किरण भन्छन्, ‘मेरो फोन लगातार काटिरहन्थे, पछि बल्ल बल्ल चेक कटाउन सफल भएपनि चेक साट्न सकिएन।’ यसरी पैसा दिएको दुई बर्षपछि नसाटीने चेक पाएपछी पदम राईले अनाहकमा बिस लाख गुमाए, अब कसरी उठाउने पत्तो छैन । बेला–बेला विदेश गईरहने शिवाकोटी कराँते महासंघलाई आएको अन्तर्राष्ट्रिय निमन्त्रणाको चिठी लुकाएर समेत विदेश घुम्ने गरेको महासंघका पदाधिकारीहरु बताउँछन् । एउटा समय थियो जुनबेला कराँतेमा केदारबाबुको एकछत्र राज जस्तै थियो । खेलकुद पदाधिकारीको हैसितयमा सामाजिक प्रकारको काम गरेपनी उनको ब्यवहार पहिल्यै देखी अस्वाभावीक रहेको कराँतेमा लाग्नेहरु बताउँछन् ।

‘रेप केश’मा न्यायाधिश मिलाउँछु भन्दै दुई लाख झ्वाँम जिमको वल्र्ड च्याम्पियनसिपमा पहिलो नेपाली महिला सहभागी निर्मला खड्काको भाई निलकण्ठ महर्जनलाई लैनचौर प्रहरीले जबर्जस्ती करणीमा पक्राउ गरेको थियो । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर घटनाको अनुसन्धान गरिरहेको थियो । यो कुरा केदारबाबुको कानमा ठोक्कियो । त्यसपछी शिवाकोटीले ‘काठमाडौंको जिल्ला आदालतको न्यायाधिश र सरकारी वकिल चिनेको छु, सवैसँग मिलाएर तिम्रो भाई छुटाईन्छिु’ भन्दै निर्मला सँग दुई लाख मागे । पछि निर्मलाले एक लाख असि हजार मात्रै दिन सक्ने भनेपछी ‘त्यतिले त पुग्दैन तर बिस हजार पछी दिनु’ भन्दै एक लाख असि हजार उठाए । अदालतबाट पटक–पटक म्याद थप भयो, जबर्जस्ती करणी जस्तो जघन्य अपराध कसैले मिलाएर मिल्ने कुरै थिएन । निलकण्ठ पुर्पक्षका लागी थुनामा पुगे । यता शिवाकोटीले १ लाख असि हजार फिर्ता गरेनन् । ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले गत साता केदारबावुलाई पक्राउ गरेपछी निर्मालाले उनिबिरुद्ध काठमाडौं प्रहरीमा ठगीको उजुरी दर्ता गराएकी छिन् । ‘हामिकोमा रेप केश मिलाउँछु भन्दै ठगेको उजुरी आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रम सिंह थापाले भने, ‘यसबारे थप अनुसन्धान भईरहेको छ ।’

असई बनाइदिने भन्दै ठगी

बाराका प्रकाश श्रेष्ठले कराँते खेलाडी अरुण बहादुर कुँवर मार्फत केदारबावुलाई चिनेका थिए । प्रकाशसँग चिनजान भएको करिब पाँच महिनाको बिचमा शिवाकोटीले ‘तिमीलाई राष्ट्रिय अनुसन्धानको असईमा जागिर लगाईदिन्छु’ भन्दै सात लाख पचास हजार ठग्न सफल भए । प्रहरीका अनुसार ‘एआईजि र डिआईजिहरु मेरा मान्छे छन्, उनिहरुको कोटामा पारेर बिना प्रतिस्पर्धा असई बनाईदिन्छु’ भन्दै प्रकाशसँग सात लाख पचास हजार ठग्न शिवकोटी सफल भएका थिए । पैसा दिएको लामो समयसम्म असईको नियुक्ती पत्र हात नपरेपछि राजधानीमा पढ्दै गरेका प्रकाशले महानगरीय प्रहरी परिसर काठमाडौंमा शिवाकोटी विरुद्ध ठगीको उजुरी दिए । करिब २० दिनअघि उनले दिएको उजुरीको आधारमा केदारबावु पक्राउ परे । अहिले जिल्ला अदालत काठमाडौंबाट तेस्रो म्याद लिएर शिवाकोटीको ठगीधन्दाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप