बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

युवा संघको समानान्तर समिति गठन, दुई पक्षको छुट्टाछुटै अधिवेशन

बिहीबार, ०६ जेठ २०७३, १० : २४
बिहीबार, ०६ जेठ २०७३

जाजरकोट–नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल जाजरकोट दुई खेमामा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुई खेमामा विभाजित भएको युवा संघले औपचारिक रुपमा अधिवेशन नै गरेर समान्तर समिति गठन गरेको छ । जिल्ला स्तरीय नेताहरु पनि आ–आफ्नो गुटलाई समर्थन गरेर औपचारिक रुपमा विभाजित देखिएका छन् ।

संस्थापन पक्षले जिल्लाको पश्चिम थलह बजारमा गत सोमवार जिल्ला अधिवेशन गरेर नेतृत्व छनौट गरेको छ । दिपेन्द्र शाहीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमिती गठन गरेको छ । उक्त समितिको उपाध्यक्षमा दुर्गेस थापा, सचिवमा जयबहादुर बस्नेतलगायत चयन गरेको छ ।

उक्त अधिवेशनमा नेकपा एमालेका केन्द्रिय सदस्य भैरवसुन्दर श्रेष्ठ र सविच सिपी घर्तीको उपस्थिति रहेको थियो । अधिवेशन उद्घाटनका लागि आएका केन्द्रिय अध्यक्ष राजिव पहारी विवाद देखिएपछि उद्घाटन नै नगरेर फर्किएका थिए ।

त्यस्तै नेपाल पक्षको सदरमुकाम खलंगामा मंगलवार भएको जिल्ला अधिवेशनले विश्वविक्रम शाहको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा वीरबहादुर घर्ती, सचिवमा नविन बस्नेत, कोषाध्यक्षमा धनमाया वली सहसचिवमा विरेन्द्र खत्री लगायतका निर्विरोध निवाचित भएका छन् । नेपाल पक्षको अधिवेशनको उद्घाटन केन्द्रिय सचिव हस्तबहादुर शाही र अशोक चन्दले उद्घाटन गरेका थिए ।

१ सय ४७ प्रतिनिधी मध्य एक सय बढी प्रतिनिधी आफ्नो पक्षमा रहेकोले वैधानिक रुपमा आफूहरुले नै मान्यता पाउने संस्थापन पक्षका नवनिवाचित अध्यक्ष दिपेन्द्र शाहीले दावी गरे । संगठन विभागका प्रमुख समेत रहेका केन्द्रिय उपाध्यक्षले उद्घाटन गरेको पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज भैरव सुन्दर श्रेष्ठ र पार्टी सचिव सिपि घर्ती समेत उपस्थित रहेको हुनाले आफूहरु नै आधिकारिक रहेको दावी गरे ।

उनले विधिवत रुपमा केन्द्रिय निर्देशन अनुसार नै अधिवेशन भएको दावी गरे । विधी र प्रक्रिया अनुसार नभई केही ब्यक्तिको महोत्वकांक्षाले नेपाल पक्षको भेला भएकोले सो भेला अवैधानिक रहेको संस्थापन पक्षको दावी छ ।

तर नेपाल पक्षबाट नवनिवाचित अध्यक्ष विश्वविक्रम शाहले जम्मा प्रतिनिधि १ सय ६७ रहेकोमा एक सय बढी आफ्नो पक्षमा भएको, केन्द्रिय सचिव शाही र चन्दले उद्घाटन गरेको, २६ मध्ये २१ गाविस, एक नगरपालिका र दुई वटै निर्वाचन क्षेत्रका प्रतिनिधी आफ्नो पक्षमा रहेकोले आफ्नो समिति नै वैधानिक रहेको नेपाल पक्षको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप