बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तस्बीरमा यस्तो देखियो अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी

बिहीबार, ०६ जेठ २०७३, १५ : ०२
बिहीबार, ०६ जेठ २०७३

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका प्रवर्तक शाक्यमुनि गौतमबुद्धको जन्मस्थल नेपालको लुम्बिनी विश्व शान्तिको केन्द्र भएको बताएका छन् । २५६०औँ बुद्ध जयन्तीका अवसरमा राजधानीको भइरहेको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको बिहिबार उद्घाटन गर्दै उनले बुद्ध भूमि र बुद्धको उद्गम थलोमा आफू रहन पाउँदा गौरवको अनुभूति भएको बताए । बुद्धदर्शन विश्व मानव जातिका लागि उपयोगी दर्शन भएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले बुद्धले प्रतिपादन गरेको बुद्ध दर्शन तथा साहित्य विश्व मानव कल्याणका लागि महत्वपूर्ण रहेको र यसले मानव सभ्यता र संस्कृतिलाई धनी बनाएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले गोष्ठीमा विशिष्ट बौद्ध गुरु तथा बौद्ध विद्वान्ले प्रस्तुत गर्ने कार्यपत्रबाट गौतमबुद्धका विषयमा भएका विभिन्न भ्रम हटाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपालमा जनप्रतिनिधिले जारी गरेको संविधान कार्यान्वयनमा लगी मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाइने उनको भनाइ थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल शाक्यमुनि गौतमबुद्धले बुद्धत्व प्राप्त गरेकै कारण २९ वर्षको युवावस्थामा श्रीपेच, दरबार र सुन्दर परिवार त्याग गर्न सफल भएको उल्लेख गर्दै लुम्बिनी क्षेत्र गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धदर्शनको उद्गम स्थान भएको बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति पाठ गरेर गोष्ठीको उद्घाटन गरेका थिए । सो अवसरमा थेरवाद, महायान र बज्रयान तीन सम्प्रदायका धर्म गुरुहरु उपस्थित थिए । समारोहमा गायिका आनी छोइङ डोल्माले बुद्ध दर्शनसँग सम्बन्धित गीत गीत प्रस्तुत गरेकी थिइन् । शुक्रबारसम्म जारी रहने गोष्ठीमा बौद्ध दर्शनसँग सम्बन्धित २४ वटा कार्यपत्र प्रस्तुत हुँदैछ ।

गोष्ठीमा विभिन्न २८ देशका सरकारी प्रतिनिधि, प्रतिष्ठित धर्मगुरु, भिक्षु तथा भिक्षुणी र बौद्ध दर्शनका ज्ञाता तथा विद्वान्को सहभागिता रहनेछ । गोष्ठीमा भाग लिने पाहुनाको आउनेक्रम जारी छ ।

लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्ती समारोहको जेठ ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुनेछ भने सोही समारोहमा मूल गोष्ठीबाट निस्केको निष्कर्षसहितको घोषणापत्र बुद्ध जयन्ती समारोहस्थल लुम्बिनीमा जारी गरिने छ ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार गोष्ठी आयोजनाका लागि प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । सम्मेलनको मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति र विषयगत १३ उपसमितिहरु गठन गरिएको छ ।

[caption id="attachment_51218" align="alignleft" width="840"] [/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप