बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चिलिमेका आयोजना युद्धस्तरमा अघि बढ्यो

शनिबार, ०८ जेठ २०७३, १४ : ५५
शनिबार, ०८ जेठ २०७३

रसुवा– चिलिमे जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सान्जेन र माथिल्लो सान्जेनको निर्माण कार्यले गति लिएको छ ।

भूकम्प र भारतको नाकाबन्दीका कारण समस्यामा परेको आयोजना पछिल्लो समयमा निर्माण कार्यलाई द्रुतरुपमा अघि बढाइएको हो । निर्माण सामग्रीको अभाव हुन दिइएको छैन ।

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका अधिकांश आयोजना विवादको घेरामा फसिरहेको बेला चिलिमे कम्पनीका आयोजनाको काम युद्धस्तरमा अगाडि बढिरहेको हो ।

साञ्जेन आयोजनाका प्रमुख गिरिराज अधिकारीले आगामी असार भित्रै सान्जेनको काम लगभग ७० प्रतिशतको हाराहारीमा सम्पन्न हुने जानकारी दिए ।

उनले हाल बाँधस्थलको निर्माण अगाडि बढिरहेको र सुरुङको काम पनि ६५ प्रतिशत सम्पन्न भएको बताए । चिलिमे जलविद्युत् कम्पनीमार्फत हाल सान्जेन, तल्लो सान्जेन, रसुवागढी र मध्यभोटेकोसी जलविद्युत् आयोजना निर्माणको क्रममा छन् ।

कुल १४.८ मेगावाट क्षमताको सान्जेनलाई आगामी एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भए पनि प्रसारण लाइनको अभावमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुने देखिएको छ ।

प्राधिकरणले निर्माण गर्ने भनेको चिलिमे हवको विषयमा हालसम्म कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन । जग्गा प्राप्तिमा देखिएको समस्याका कारण प्राधिकरणले सन् २०२० सम्म पनि प्रसारण लाइन निर्माण सम्पन्न गर्न नसक्ने देखिएको छ ।

प्राधिकरणले जग्गा विवाद मिलाउन नसक्दा चिलिमेलगायत निर्माणाधीन अन्य आयोजना समेत मारमा पर्ने देखिएको छ । “हामीले दैनिक १८ घन्टासम्म काम गरेका छौँ, आयोजना तोकिएको समस्यभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य राखेका छौँ” निर्माण कम्पनी बज्रगुरुका स्थानीय प्रतिनिधि प्रणव खड्काले भने, “निर्माण चाँडै सम्पन्न गरेर एक घन्टा भने पनि विद्युत् भार कटौती अन्त्य गर्न सकियो भने हामीलाई नेपाली जनताको आर्शिवाद लाग्नेछ ।”

निर्माण स्थलमा भेटिनु भएका इन्जिनियर सुदनसिंह महतले भूकम्प र नाकाबन्दीले समस्या नल्याइदिएको भए आयोजना लगभग निर्माण सम्पन्न हुने चरणमा पुग्ने बताए । “हामीले पछिल्लो दिनमा असाध्यै मेहनत गरेका छौँ, निर्माण सामग्री, मजदुर तथा अन्य कुनै पनि समस्या छैन, यही गतिमा काम अगाडि बढ्यो र कुनै समस्या आएन भने आगामी एक वर्षभित्र आयोजना पूरा हुन्छ ।”

आयोजना प्रमुख अधिकारीले प्रसारण लाइनको अभावमा सान्जेनको पचास प्रतिशत विद्युत् चिलिमेकै प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको बताए ।

“हामीले तल्लो सान्जेन सम्पन्न गर्दा प्रसारण लाइन नबन्ने भएकाले समस्यामा परेका छौं, हामीसँग कुनै उपाय नै छैन” आयोजना प्रमुख अधिकारीले भने “ठेकेदारलाई पूर्णरुपमा परिचालन गर्न सक्ने अवस्था पनि प्रसारण लाइनकै कारण देखिएको छ ।”

प्राधिकरणले हरेक पल्ट प्रसारण लाइन अगाडि बढाउने बताउँदै आए पनि त्यसतर्फ ध्यान नदिएका कारण आयोजना समस्यामा परेको छ । कुल ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनको हाल सुरुङमार्ग निर्माण जारी छ । करिब पाँच किलोमिटर सुरुङमध्ये हाल ७५४ मिटर सम्पन्न भएको छ ।

भारत र नेपाली निर्माण कम्पनीको संयुक्त उपक्रम एसइडब्ल्यू एण्ड तुदी जेभीले तल्लो साञ्जेन निर्माण गरिरहेको छ । सान्जेन खोलामा सुपर साञ्जेन ७८ मेगावाट, सोमदाङ पाँच मेगावाटलगायत आयोजना निर्माणको चरणमा रहेका छन् ।

यस्तै महत्वपूर्ण ठानिएको लाङटाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा पर्ने ३९० मेगावाट क्षमताको लाङटाङ जलाशययुक्त आयोजनाको अनुमतिपत्र भने हाल विद्युत् विकास विभागले खारेज गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप