दृष्टिविहीनहरुः जसले रचे नयाँ इतिहास
काठमाडौँ– अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिन्छ ? चाहिँदैन । मन र आँट भएमा सुनेर पनि विद्यावारिधि पूरा गर्न सकिँदो रहेछ । इच्छा र जाँगर भए आँखाले हेरेर भन्दा कानले सुनेर गर्ने उच्च अध्ययन सर्वोत्कृष्ट हुँदो रहेछ । दृश्यविहीन दुई नारीले विद्यावारिधि पूरा गरी नयाँ इतिहासको रचना गरेका छन् । लक्ष्मी पोख्रेल र श्वेता सिंहले आफ्ना नामका अगाडि डा थप गरी आफ्ना नामका अगाडि झुन्डिएका दृष्टिविहीन भन्ने शब्द सदाका लागि अन्त्य गरिदिए । समाजले जहाँ गए पनि लाञ्छना लगाउँथ्यो “यिनका त आँखा छैन, के गर्न सक्छिन् र ?” त्रिवि, मानविकी तथा समाजशास्त्र अध्ययन सस्थानबाट इतिहास विषय अन्तर्गत ‘देवघाटको धार्मिक तथा ऐतिहासिक महत्व’का विषयमा पोख्रेलले भर्खर विद्यावारिधिको प्रमाण लिएकी हुन् । यसैगरी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट ‘जेन्डर एन्ड मिडिया’ विषयमा सिंहले विद्यावारिधि प्राप्त गरिन् । आँट गरे के सकिँदैन, उनीहरु पथप्रदर्शक बने । ती दुई विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो दृष्टिविहीन महिलाको नामाङ्कन समेत लगाए उनीहरुले । तेह्र र नौ वर्षीया छोरीकी आमा पोख्रेलले भनिन्“ अध्ययन, अनुसन्धान गर्न आँखाको दृष्टि नै चाहिँदैन, सुनेर गर्न सकिन्छ । यसका लागि आफूमा आँट र सहयोग गर्ने सहृदयी मनहरु आवश्यक पर्छ ।”
त्रिविवि अन्तर्गतका विभिन्न सङ्कायबाट स्नातकोत्तर पूरा गर्नेको सङ्ख्या हालसम्म एक सय नाघ्न सकेको छैन । बालकुमारी उमावि नारायणघाटबाट पोख्रेलले विसं २०४६ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी थिइन् । यसैगरी वीरेन्द्र बहुमुखी क्याम्पसबाट विसं २०५५ मा इतिहास विषयमा स्नातकोत्तर तह पूरा गरेकी पोख्रेलले विसं २०५७ देखि सोही क्याम्पसमा अस्थायी प्राध्यापनरत रहेकी छन् । “नौ वर्ष अगाडि विद्यावारिधिका लागि शोध प्रस्ताव लिएर कीर्तिपुरस्थित डिनको कार्यालयमा आएँ, तत्कालीन डिन शिशिर सुब्बालाई भेटेँ, उहाँले कुरा गर्न नै चाहनुभएन । म कलङ्कीमा बसबाट झरेर यता ठोक्किँदै, उता ठोक्किँदै त्यहाँ पुगेकी थिएँ । डिन कार्यालय बाहिर निस्केर एक्लै रोएँ । फेरि उहाँको टेबलमा प्रस्ताव छाडेर आफन्तकहाँ गएँ । भोलिपल्ट घर फर्किएँ ।” आफ्नो मनको वह पोख्रेलले यसरी पोखिन् । “केही महिनापछि डिनको कार्यालयबाट फोन गयो, तपार्इँको शोध प्रस्ताव पास भयो । पास त भयो, शोधनिर्देशक को पर्नुभयो होला भन्ने चिन्ताकै बीचमा । काठमाडौँ आएँ र इतिहास विभागका प्रा डा कृष्णवहादुर थापा शोधनिर्देशक भएकामा खुसी लाग्यो । उहाँ अनामनगरमा बस्नुहुँदो रहेछ । यसपछि विषयसित सम्बन्धित कयौँ पुस्तक सहयोगीलाई पढ्न लगाउँदै सुनेँ । सयौँ पटक चितवन–काठमाडौँ आवतजावत गरेँ । कुनै दुर्घटनामा परिन । शोध कार्य पूरा गरेँ ”उनले भनिन् । विसं २०७१ भदौ २९ गते डिनको कार्यालयले उनलाई विद्यावारिधिको उपाधि प्रदान गरेको थियो । “आँखाले अध्ययन गरेजस्तो कहाँ सजिलो हुन्छ र सुन्ने काम । बिर्सन सकिन्छ ।” पोख्रेलले सुनाइन् । “अझै पनि केही गरुँ जस्तो लाग्छ । स्थायी प्राध्यापक पदमा नाम निकाल्न सकेँ भने मेरो जीवनमा विद्यावारिधि पूरा गरेँ भन्दा ठूलो खुसी केही हुने छैन ।” वाल्मीकि विद्यापीठमा प्राध्यापरत उनका श्रीमान् नारायणप्रसाद तिमल्सिनाले पनि विद्यावारिधि गर्दै छन् । “ दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ” यसैगरी जन्मजात दृश्यविहीन अविवाहिता सिंहले छ वर्षका उमेरमा अक्षर आरम्भ गरेकी थिइन् । उनले भनिन् “दिदी र भाइले नपढेर बुबाको गाली खाँदा म पढ्न विद्यालय जान पाएँ भने गाली खाँदिन होला, यो कुरा सुटुक्क आमालाई सुनाएँ ।” आमाले बुबालाई सुनाएछन्। तत्काल बुबाले आफैँ बोकेर विद्यालय भर्ना गरिदिइन् । काठमाडौँ चाबहिलकी रैथाने सिंहको मस्तिष्क तीक्ष्ण रहेछ । ल्याबोरेटरी विद्यालय कीर्तिपुरबाट उनले प्रवेशिका परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरिन् । “उच्च शिक्षाका लागि म दिल्ली विश्वविद्यालयमा गएँ । त्यहाँबाट स्नातकोत्तर र एमफिल पूरा गरेँ । सन् २०१२ मा जवाहरलाल विश्वविद्यालयबाट ‘जेन्डर र महिला’ विषयमा विद्यावारिधि पूरा गरेँ र हाल इन्दिरा गान्धी ओपन विश्वविद्यालयमा सहायक क्षेत्रीय निर्देशक पदमा कार्यरत छु । ” सिंहले कुराकानीका क्रममा भनिन् । जवाहर विश्वविद्यालयका नेपाली मूलका प्रा डा महेन्द्र पी लामाले उनलाई शोध निर्देशन गरेका थिए । आफ्नी आमाको नाममा अक्षयकोष स्थापना गर्न नेपाल आएकी सिंहले अगाडि भनिन् “समाजले हामीलाई महिला र दृष्टिविहीन भन्छन्, केही गर्न नसक्ने भन्दछन् । यसो होइन, हामी केही गर्न सक्छौँ । दृष्टिविहीनहरु दृष्टि हुनेका लागि उदाहरणीय बन्नुपर्छ ।” सिंहले आफ्नो सफलताका लागि आमाको योगदान उच्च रहेको सम्झिन् । “आमा मलाई भन्ने गर्नुहुन्थ्यो “नानी म मरेको छैन, तिमीलाई पढ्ने इच्छा जति छ पढ, खर्च पु¥याउँछु ।” उनले भनिन् । तर हालसालै आमा गुमाएकी सिंहले भक्कानिँदै अब आमाको सपना पूरा गर्छु भनिन् । उनले आफ्नो कमाइको अधिकांश भाग दृष्टिविहीनकै उच्च शिक्षाका लागि खर्च गर्छु भन्ने योजना सुनाइन् । उसो त सिंहले आफ्नो आम्दानीमध्ये रु एक लाख आमाका नाममा स्थापित कोषमा जम्मा गरिदिएकी छिन् । कोषले प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्ने दृष्टिविहीन महिलालाई सीप सिकाउन सहयोग गर्ने लक्ष्य राखेको छ । यसैबीच नेपाल नेत्रहीन सङ्घले आफ्नो २१ औँ वार्षिक साधारणसभाका अवसरमा उनीहरुलाई आज यहाँ सम्मान गरेको छ । कार्यक्रममा अर्थराज्यमन्त्री दामोदर भण्डारीले आगामी बजेटमा सामाजिक सुरक्षाको भत्तामा वृद्धि हुने जानकारी दिए। सङ्घका अध्यक्ष रमेश पोखरेलले नेत्रहीनहरु सम्मानित र उत्पादनशील भएर समाजमा बाँच्न चाहन्छन् भने। कार्यक्रममा सङ्घका कार्यकारी सल्लाहकार नरबहादुर लिम्बूले नेत्रहीनको सशक्तीकरणमा सङ्घले काम गरिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण