शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

इटहरी डुबाउने शेरा खोला नियन्त्रणको थालनी

आइतबार, १२ असार २०७३, १३ : ३९
आइतबार, १२ असार २०७३

इटहरी – इटहरी उप–महानगरपालिकाका भूभागहरु डुबानमा पार्ने शेरा खोला अब नियन्त्रणमा आउने भएको छ । प्रत्येक बर्खाको समयमा शेरा खोलामा आएको बाढी खोला कटान गरेर इटहरी पस्ने गरेको छ । आइतबार बिहान सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाई नेतृत्वको टोलीले शेरा खोलाको निरीक्षण पछि खोलाको धार परिवर्तनको लागी तत्काल च्यानल खन्ने निर्णय गरेको हो। खोला जमिन सतह भन्दा माथिबाट बग्न थालेपछि त्यहाँ आउने बाढी सिधै जंगल हुदै इटहरीको टेडग्रा खोलामा मिसिने गरेको छ । जस कारण इटहरीका बिभिन्न वार्डहरु जलमग्न हुने गरेको छ । केही दिन अघि शेला खोलामा आएको बाढी टेडग्रा खोला हुदै इटहरीमा पस्दा एक जनाको मृत्यु समेत भएको थियो । प्रमुख जिल्ला अधिकारी चापागाई नेतृत्वको टोलीले शेराको स्थलगत निरीक्षण गरेपछि खोलाको पश्चिम भागमा एक किलोमिटर लामो च्यानल खनेर खोलाको धार पुरानै स्थानमा फर्काेउन निर्देशन दिएका छन् । च्यानल बनाएर त्यसमाथि तारजाली लगाइने छ । तारजालीमा खोलाकै ढुंगा प्रयोग गर्न पनि प्रजिअ चापागाईले इटहरी उप–महानगरपालिकालाई निर्देशन दिएका छन् । प्रमुख जिल्ला अधिकारी सहित सुनसरी प्रहरी प्रमुख पोषराज पोख्रेल, स्थानीय बिकास अधिकारी राम प्रसाद वाग्ले, इटहरी उप–महानगरपालिकाका कार्यकारी अधिकृत महेशराज तिस्सीना, इटहरीका राजनितिक दल तथा नागरिक समाजको प्रतिनिधिले खोलाको निरीक्षण गरेका थिए । अहिले शेरा खोलाको बाढी नियन्त्रण गर्न खोलाको बिच भागमा रहेको गिटी बालुवालाई किनारा लगाउने कार्य भइरहेको छ । खोलाका दुई किनारामा गिटी थुपारी बिचको भागलाई होचो बनाएर पानीको बाटो बनाइदैछ । विपद व्यवस्थापन समिति अध्यक्ष हेमकर्ण पौडेलले शेरा खोला नियन्त्रण गर्न बाटो खुलेको बताउदै पहिलो चरणमा आइतबारबाट नै च्यानल खन्ने कार्य शुरु गर्ने बताए । त्यसको विपद व्यवस्थापन समिति , राजनितिक दल तथा इटहरी उप–महानगरपालिकाले नियमित अनुगमन गर्ने समेत पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप