शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
ढिलासुस्ती

बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण

शनिबार, २७ असार २०८३, २० : ००
शनिबार, २७ असार २०८३

सारांश

  • चक्रपथको आकाशे पुल र जेब्रा क्रसिङ निर्माण समयमा नसकिँदा सडक दुर्घटनाको जोखिम बढेको छ ।
  • बल्खु चोकमा निर्माणाधीन आकाशे पुलको संरचना वैज्ञानिक नभएको र यात्रुहरूका लागि ओर्लिने बाटो स्पष्ट नभएको गुनासो छ ।
  • विभिन्न ढिलासुस्तीका बाबजुद बल्खुको आकाशे पुल आगामी तीन महिनाभित्र सम्पन्न गरी सञ्चालनमा ल्याइने बताइएको छ ।

काठमाडौँ । चक्रपथअन्तर्गत पर्ने आकाशे पुल र जेब्रा क्रसिङको निर्माण कार्य समयमै पूरा नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दै गएको छ ।

करिब एक दशक बित्न लाग्दा समेत यी पुलहरू सम्पन्न हुन सकेका छैनन् भने भइरहेका निर्माणमा समेत विभिन्न त्रुटिहरू देखिएका छन् । लामो समयदेखि निर्माणाधीन अपाङ्गमैत्री भनिएको पुलको काम अझै नसकिँदा र सडकको दुवैतर्फ निकासको उचित व्यवस्था नहुँदा पैदलयात्रीहरू जोखिमपूर्ण रूपमा बाटो काट्न बाध्य छन् । 

ringroad-aakashepurl (1)

विशेषगरी बल्खु चोकमा निर्माण भइरहेको आकाशे पुलको संरचना वैज्ञानिक र व्यावहारिक नभएको भन्दै स्थानीय र पैदलयात्रीहरूले असन्तुष्टि व्यक्त गरेका छन् । पुलको भौतिक संरचना अन्तिम चरणमा पुगेको देखिए पनि यात्रुहरू पुलबाट ओर्लिएपछि जाने बाटो वा निकास नै स्पष्ट छैन ।

चक्रपथजस्तो व्यस्त र तीव्र गतिको सडकमा पैदलयात्रीहरूका लागि सहज बाटो नभएको सरोकारवालाहरू बताउँछन् । पठाओ चालक शंकर श्रेष्ठका अनुसार यो पुल पैदलयात्रीलाई सहज होस् भनी बनाइएको भए पनि हाल उपयोगमै आउन सकेको छैन । पुलबाट निस्किने उपयुक्त बाटो नभएका कारण सर्वसाधारणले निकै सास्ती भोग्नुपरेको र बाटो नै नभएपछि यसलाई सहज भन्न नमिल्ने उनी बताउँछन् । 

ringroad-aakashepurl (2)

बल्खु क्षेत्रमा मात्र नभई चक्रपथ खण्डका सानेपा, महालक्ष्मीथान, थसिखेललगायत ६ वटा स्थानमा आकाशे पुल निर्माणको कार्य अहिले अन्तिम चरणमा पुगेको छ । यी स्थानहरूमा पनि यात्रुले सास्ती पाइरहेको अवस्थालाई मध्यनजर गर्दै कलेजबाट फर्किँदै गरेकी पैदलयात्री खुसी श्रेष्ठले पुलको बाँकी काम चाँडोभन्दा चाँडो सम्पन्न गरी पैदलयात्रीका लागि उचित व्यवस्थापन मिलाउन माग गरेकी छन् । 

यो आकाशे पुल ललितपुर महानगरपालिकाको आफ्नै आर्थिक लगानीमा निर्माण भइरहेको हो । महानगरका मेयर चिरिबाबु महर्जनको पहिलो कार्यकालमै यसको डिजाइन तयार पारिएको भए पनि सडक विभागसँगको समन्वय र दोस्रो कार्यकालको सुरुआतपछि मात्र काम अघि बढेको थियो ।

सिनिअर आर्किटेक्ट विनोद न्यौपानेका अनुसार यस क्षेत्रमा हालसम्म सवारी दुर्घटनाका कारण २२ जनाभन्दा बढीको ज्यान गइसकेकाले यस पुलको औचित्य ठुलो छ । यो चोक ६ वटा फरक फरक सडकको केन्द्रविन्दु भएकाले पनि यो ठाउँ निकै संवेदनशील रहेको उनको भनाइ छ । 

ringroad-aakashepurl (3)

आर्किटेक्ट न्यौपानेले यो पुल नेपालकै पहिलो उदाहरणीय अशक्तमैत्री आकाशे पुल हुने जानकारी दिएका छन् । आरसीसी र फलामको संयोजनबाट अण्डाकार स्वरूपमा निर्माण भइरहेको यस पुलमा ललितपुरको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने परम्परागत कलात्मक इँटाहरू प्रयोग गरी सौन्दर्यीकरणको काम भइरहेको छ ।

यात्रुहरूको सुविधाका लागि पुल परिसरमा एउटा सार्वजनिक शौचालयसमेत निर्माण गर्ने योजना छ । विविध परिस्थिति र आन्दोलनका कारण गत फागुनमै सकिनुपर्ने निर्माणकार्य केही ढिलो भएको स्वीकार गर्दै उनले आगामी ३ महिनाभित्र सम्पूर्ण काम सम्पन्न गरी पुल सञ्चालनमा ल्याइने बताए ।

पुल पूर्ण रूपमा सञ्चालनमा आएपछि बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन र पैदलयात्री सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।

ringroad-aakashepurl (7)ringroad-aakashepurl (6)ringroad-aakashepurl (8)ringroad-aakashepurl (4)ringroad-aakashepurl (5)ringroad-aakashepurl (10)ringroad-aakashepurl (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप