कहाँ र कसरी जडान गर्ने सोलार वाटर–हिटर ?
शनिबार, ११ मङ्सिर २०७३, ०९ : ५३
जाडो मौसम सुरु हुनेबित्तिकै धेरै पानी खेलाउनुपर्ने गृहिणीहरूलाई समस्या पर्ने गर्छ । अझ ट्यांकीमा जम्मा गरिएको पानी हातले छुनै नसकिने गरी चिसो हुन्छ । जसका कारण नुहाउन त कुरै छोडौँ, बिहान मुख धुन पनि नसक्ने अवस्था हुन्छ । सधैँ पानी तताएर हातमुख धुने, नुहाउने तथा भाँडा माझ्ने कार्य गर्न पनि झन्झटिलो नै हुन्छ ।
यस्तो समस्या समाधानमा उपयुक्त विकल्प सोलार वाटर–हिटर जडान हुन सक्छ । घरमा सोलार वाटर–हिटर जडान गर्दा नुहाउन मात्र नभएर भाँडा माझ्न, लुगा धुन तथा अन्य प्रयोजनका लागि पनि सहजै तातो पानी उपलब्ध हुन्छ । सोलार वाटर–हिटर सामान्य परिवारलाई दुई सय लिटरदेखि पाँच सय लिटर क्षमतासम्मको उपयुक्त हुन्छ । सोलार जडान गर्ने तरिका र टिकाउका लागि ध्यान दिनुपर्ने विषयका बारेमा मोडुलर किचेनका निमा लामाका सुुझाब यस्ता छन्ः
सोलार वाटर–हिटर जडान गर्दा घरको छत वा उच्च स्थान रोज्नुपर्छ । बालबालिका आवतजावत कम हुने स्थान भए राम्रो मानिन्छ । त्यसमा सिसा भएको कारण बच्चाहरूलाई असुरक्षित हुन सक्छ ।
सोलार जडान गर्दा दक्षिणबाट उत्तर दिशातर्फ फर्काएर राख्नुपर्छ । यो दिशामा बिहानदेखि बेलुकासम्मको घाम सोलार हिटरमा पर्छ । पानी राम्ररी तात्न सहयोग हुन्छ ।
सोलार हिटर फिटिङ गर्नुभन्दा पहिला ट्यांकी सोलारभन्दा उच्च स्थानमा राख्नुपर्छ । यसो भएमा पानीको बहाव राम्रो हुन्छ ।
सोलार र सोलारको फिटिङ छनोट गर्दा गुणस्तरीय खिया नलाग्ने रोज्नुपर्छ । सकेसम्म अहिले बजारमा चलेको फिटिङ पाइपका लागि पिपिआर, सिपिभिसी रोज्नुपर्छ । यस्तो पाइपबाट हिट लस कम हुन्छ । खिया नलाग्ने कारण स्वास्थ्य पनि राम्रो हुन्छ । अन्य पाइपभन्दा यसको जडानशुल्क पनि कम छ ।
सोलार जडान गर्दा वरिपरि अनावश्यक सामानहरू जस्तै– पुराना जस्तापाता, प्लाईका टुक्रा वा अन्य सामग्री राख्नु हुँदैन । यसले हावाहुरीको मौसममा सोलारको सिसा फुटाउन सक्छ । त्यस्तै, नजिकै गमला पनि राख्नु हुँदैन ।
सोलार बढीभन्दा बढी समय टिकोस् भन्ने चाहनुहुन्छ भने बोरिङको पानी डाइरेक्ट प्रयोग गर्नु हुँदैन । त्यस्तो पानीमा हानिकारक केमिकलहरू एमोनिया, आर्सेनिक मिसिएको हुन्छ । यस्तो पानी सोलारलाई मात्र नभएर मानिसका लागि पनि हानिकारक हुन्छ
पानी संकलन गर्ने ट्यांकी सकेसम्म खाली राख्नु हुँदैन । यस्तो भएमा पाइपमा भएको पानी र ट्यांकीमा पछि जम्मा भएको पानीको बीचमा हावा मात्र रहन्छ, जसलाई एयर लिनी भनिन्छ । यस्तो भएमा सोलारको तातो पानी सप्लाई हुने पाइप खोलेर बन्द गर्नुपर्छ । अन्यथा पानी सप्लाईमा असर पर्न सक्छ ।
सोलार वाटर–हिटरको पानी जाडोमा मात्र नभएर अन्य समयमा पनि प्रयोग गरिरहनुपर्छ । यसले सोलार सिस्टमलाई सामान्य बनाइराख्छ र टिकाउ पनि हुन्छ । अन्यथा सोलारबाट उम्लेको पानीको ग्यासले निकास नपाएर दुर्घटना पनि हुन सक्छ ।
सोलार हिटर सिस्टममा एकपटक लगानी गरेपछि धेरै वर्षसम्म तातो पानी प्रयोग गर्न सकिन्छ । घरको छतमा राखेपछि घरमा भएको हरेक बाथरुम तथा किचेनमा पनि उस्तै तरिकाले प्रयोग गर्न सकिन्छ ।
सोलार हिटर सिस्टम प्रयोग गर्दा गिजरमा जस्तो खतरा हुँदैन । यसले वातावरणलाई पनि असर गर्दैन ।
नयाँ पत्रिकाबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
मानव सेवा आश्रमलाई श्रीपति समाज सेवा राष्ट्रिय पुरस्कार
-
सिनामङ्गल–बानेश्वर क्षेत्रको बागमतीबाट दुई मेट्रिक टन नकुहिने फोहाेर व्यवस्थापन
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण