शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

गणेश नेपालीको मृत्युबारे यस्तो छ वीर अस्पतालको आधिकारिक विज्ञप्ति

शुक्रबार, २६ असार २०८३, १५ : १९
शुक्रबार, २६ असार २०८३

सारांश

  • जलनका बिरामी मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको छ ।
  • शरीरको करिब ५५ प्रतिशत भाग जलेको अवस्थामा अस्पताल भर्ना भएका नेपालीको जीवन बचाउन विशेषज्ञ टोलीले अथक प्रयास गरेको थियो ।
  • विदेश लैजाने तयारी भइरहेका बेला स्वास्थ्यमा जटिलता आएपछि उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

काठमाडौँ । जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान ११ः१९ बजे निधन भएको छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालले आधिकारिक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको हो । 

अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा गणेश नेपाली शरीरको करिब ५५ प्रतिशत भाग जलेको (सिभियर बर्न) अत्यन्तै नाजुक र जटिल अवस्थामा बिहीबार अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको उल्लेख छ ।

अस्पतालका अनुसार भर्ना भएदेखि नै उनलाई आइसियुमा राखी मेकानिकल भेन्टिलेटरको सहयोगमा चौबीसै घण्टा निरन्तर उपचार गरिएको थियो। प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयरका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ टोलीले उनको जीवन बचाउन चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै प्रयास गरेको अस्पतालले जनाएको छ।

विज्ञप्तिमा उनलाई थप उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारीसमेत भइरहेको अवस्थामा अचानक स्वास्थ्यमा गम्भीर जटिलता देखिएको उल्लेख छ। त्यसपछि चिकित्सकहरूले तत्काल सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) तथा जीवनरक्षक औषधिको प्रयोग गरी अन्तिम क्षणसम्म बचाउने प्रयास गरे पनि सफल हुन नसकेको अस्पतालको भनाइ छ।

अस्पतालका अनुसार बहु–विशेषज्ञ टोलीले उपलब्ध सबै प्रविधि, औषधि र विशेषज्ञताको प्रयोग गरेर निरन्तर उपचार गरे पनि उनको स्वास्थ्यमा सुधार आउन नसकेपछि उपचारकै क्रममा शुक्रबार बिहान ११ः१९ बजे निधन भएको हो।

वीर अस्पतालले उपलब्ध उच्चतम चिकित्सा सेवा र अथक प्रयासका बाबजुद बिरामीलाई बचाउन नसकेकोमा गहिरो दुःख व्यक्त गरेको छ। बिहीबार राजधानीको त्रिपुरेश्वरमा महानगर प्रहरी बलसँग विवादपछि उनले आत्मदाह गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप