लिभिङ टुगेदरपछि विवाह गर्न नमान्ने केटालाई जेल, पछि आफै छुटाएर विवाह
सोलुखुम्बु - साँझ करिब ५ बजेतिर एउटी महिला अत्तालिँदै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु पुगिन् । प्रहरी नायब उपरीक्षकलाई खोज्दै गएकी उनलाई प्रहरीले प्रनाउ माधवप्रसाद बुढाथोकीसँग भेट गराइदिए । बुढाथोकीलाई भेटेपछि उनले जन्तीका लागि भोज तयार गरेको तर जन्ती नआएको र बेहुला पनि सम्पर्क बाहिर गएका कारण आफू बर्बाद भएको बताइन् । उनले तत्काल बेहुलालाई झिकाइदिन प्रहरीलाई आग्रह गरिन् ।
जन्ती कहाँबाट आउने ? प्रनाउ बुढाथोकीको प्रश्नमा रश्मी भुजेल (नाम परिवर्तित) ले भनिन्, जाजरकोटबाट । झनै अचम्म लागेपछि बुढाथोकीले सोधे – “जाजरकोट कहाँ हो, कति टाढा छ, थाहा छ ?” भुजेलको जवाफ आयो – “त्यो त थाहा छैन, जाजरकोट भन्ने मात्र सुनेको ।”
घटना विवरण बुझ्दा थाहा भयो, ती महिला वैदेशिक रोजगारीबाट केही समय अघि फर्केकी रहिछन् । विदेशमा बस्दा ती महिला र जाजरकोट घर बताउने एक पुरुषसँगै बस्दा (लिभिङ टुगेदर) रहेछन् । नेपाल फर्केपछि विवाह गर्ने उनीहरुको सर्त रहेछ । दुवै नेपाल फर्केपछि फोनमार्फत कुराकानी भइरहेको रहेछ । केटाले केही समयपछि विवाह गरौँला भन्दा केटीले चाँडै विवाह गर्न दबाब दिएपछि केटाले जन्ती लिएर आउने साइत सुनाएछन् । सोही अनुसार केटीपक्षले विवाहको लागि धुमधाम तयारी गरे ।
विवाहको दिन निम्तालु पनि भेला भए । खानपिनको व्यवस्था पनि भयो । दिउँसोसम्म आउँदैछौँं भन्दै गरेको केटापक्ष साँझपख एक्कासि आफूहरु नआउने भन्दै सम्पर्क बाहिर पुगेपछि केटी अत्तालिँदै प्रहरीकोमा पुगेकी रहिछन् । उनले तत्काल केटालाई झिकाइदिन भने पनि प्रहरीले स्पष्ट ठेगाना नभएको र टाढा रहेकाले तत्काल झिकाउन असम्भव रहेको बताएपछि केटीले आफू केही दिनसम्ममा फकाएर केटालाई बोलाउने त्यसबेला पक्राउ गर्न सहयोग मागे । प्रनाउ थापाले सहयोग गर्ने आश्वासन दिए र केटी फर्किइन् ।
एक हप्तापछि पुनः प्रहरी कार्यालय पुगेकी ती महिलाले केटा सो दिन जिल्लामा आउने बताए र प्रहरीले केटालाई पक्राउ ग¥यो । सार्वजनिक मुद्दा अन्तर्गत २४ दिन हिरासतमा बसेपछि २५ औँ दिनमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिए, आदेशलगत्तै तिनै महिलाले सो रकम तिरेर केटालाई छुटाइन् र विवाह सम्पन्न गरी गएको शुक्रबार केटी केटासँगै जाजरकोट लागिन् ।
प्रनाउ बुढाथोकी भने – “चलचित्रको कथा जस्तो लाग्ने यस्तो घटना यसअघि कतै सुनेको पनि थिइनँ । वैदेशिक रोजगारीले यस्ता समस्या आउन थालेको छ । यस्तो विषयमा युवायुवती सचेत हुनुपर्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण