सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचनमा जाने सर्तमा संविधान संसोधनका विषयमा एमाले लचिलो हुने संकेत

बुधबार, ०४ फागुन २०७३, १९ : ४३
बुधबार, ०४ फागुन २०७३
काठमाडौं, प्रमुख प्रतिपक्ष नेकपा एमालेले निर्वाचनमा जाने सर्तमा संविधान संशोधनका विषयमा पनि लचिलो हुन सकिने संकेत जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जान दलहरु सहमत भए संविधान संशोधन गर्र्ने विषयमा पनि छलफल गर्न सकिने स्पष्ट पार्नु भएको हो । बुधबारबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउन पहलकदमी लिन तयार रहेको समेत उल्लेख गरिएको छ । निर्वाचनमा जाने सर्तमा संविधान संशोधन लगायतका विषयमा पनि छलफल गर्न आफनो पार्टी तयार रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनले निर्वाचनको वातावरण बनाउन व्यवस्थापिका संसद र बाहिर रहेका दलहरुसँग पनि आवश्यक छलफल गर्ने बताएका छन । ‘अध्यक्ष ओलीको प्रतिवेदनमा पार्टीका आसन्न मेची महाकालीको तयारीका विषयमा पनि ठोस धारणा तय गरिनेछ । एमालेले सामाजिक सदभाव र राष्ट्रिय एकताका लागि भन्दै आगामी फागुन २१ गतेबाट मेची महाकाली अभियान संचालन गर्दैछ’–पार्टी सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने । सोही अभियानलाई कसरी अघि बढाउने भन्ने विषयको कार्यसूचि पनि बैठकमा राखिएको उनले जनाए । त्यस्तै, बैठकमा स्ववियू निर्वाचनमा पार्टी निकट अनेरास्ववियूलाई कसरी विजयी बनाउने भन्ने विषयमा पनि छलफल हुने बताए । बैठक भोली नै सकिने र त्यसले एक वर्ष भित्र तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने गरी पार्टीले तय गर्ने तथा कार्यक्रमलाई ठोस रुप दिने एमालेले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप