बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनमा यस्ता छन् अध्यक्षका महिला उम्मेदवार

मङ्गलबार, १७ फागुन २०७३, १० : ३२
मङ्गलबार, १७ फागुन २०७३

पीएन क्याम्पस पोखरा, शिक्षा क्याम्पस काठमाडौं, आयुर्वेद क्याम्पस कीर्तिपुर र कैलाशकुट बहुमुखी क्याम्पस चाबहिलमा स्ववियुमा अध्यक्ष

नेविसंघ, अनेरास्ववियु र मधेसी विद्यार्थी संगठनलगायतले अवरोध गर्दै आए पनि तोकिएको समयमा ४० प्रतिशत क्याम्पसमा स्ववियु निर्वाचन गराइछाड्ने त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्ष सुधा त्रिपाठीले दाबी गरेकी छन् । त्रिविअन्तर्गत ६० आंगिक र एक हजार ८४ सम्बन्धन क्याम्पस रहे पनि आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको किचलो हुँदै आएको छ ।

प्राज्ञिक थलोमा स्ववियु निर्वाचनको नाममा किचलो हुनु कुनै पनि हालतमा राम्रो होइन । तर, निर्वाचनताका जहिल्यै किचलो हुने गरेको छ । कापी र कलम प्रयोग हुने थलोमा निर्वाचन जितहारलाई दृष्टिगत गर्दै अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । गुणस्तरीय र प्रतिस्पर्धात्मक शिक्षा र स्वच्छ, स्वस्थ शैक्षिक वातावरण निर्वाचनको एजेन्डा उठाइनुपर्नेमा बाहुबलको प्रतिस्पर्धा चल्न थालेको छ ।

स्ववियुको पहिलो निर्वाचन २०२० मा भएको थियो । त्यतिबेलादेखि अहिलेसम्म अध्यक्षमा महिला उम्मेदवार पाउनु भनेको चामलमा बियाँ भेटिएसरह मानिन्छ । सहभागिताको नाममा महिलालाई कोषाध्यक्ष र सदस्यमा राखेर कुनै पनि संघ÷संगठन निर्माण गर्नु परम्पराजस्तै बनेको छ । परम्परा तोड्दै महिलाले पनि अध्यक्षको उम्मेदवारी दिन थालेका छन् । यसपटकको निर्वाचनमा उम्मेदवारीहरूले गुणस्तरीय शिक्षा र सम्बन्धित क्याम्पसको आन्तरिक समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेका छन् । किचलै भए पनि आसन्न स्ववियु निर्वाचनका लागि आ/आफ्नोतर्फबाट तयारीमा रहेका अध्यक्षका महिला उम्मेदवारसँग रातोपाटीका लागि दीपेन्द्र राईले गरेको कुराकानी :

‘पीएन क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउने पहल गर्नेछु’ प्रवीणा अधिकारी, पीएन क्याम्पस पोखरा, अखिल क्रान्तिकारी, अध्यक्षका उम्मेदवार

फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा पीएन क्याम्पस पोखराका लागि अखिल क्रान्तिकारीबाट अध्यक्षको उम्मेदवारी दिएकी छु । अध्यक्षको उम्मेदवार बन्न त्यति सजिलो थिएन । उम्मेदवारका लागि सानोतिनो संघर्ष गर्नुपर्यो । निर्भयतापूर्वक अडान छाडिनँ । अन्ततः अध्यक्षको उम्मेदवार बन्न सफल भएँ ।

पीएन क्याम्पस स्ववियु अध्यक्ष निर्वाचित भएमा आफ्नो कार्यकालमा मैले गर्नुपर्ने कार्ययोजना बनाएकी छु । सर्वप्रथम पीएन क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउन पहल गर्नेछु । क्याम्पसलाई शैक्षिक, प्राज्ञिक र अध्ययन अनुसन्धान थलो बनाउन प्राथमिकतामा राखेकी छु ।

त्यतिमात्रै होइन, क्याम्पसको प्रशासनिक अस्तव्यस्ततालाई दीर्घकालीन समाधान खोज्नेछु । यसैगरी, एकपक्षीय मूल्यांकनका आधारमा छात्रवास र छात्रवृत्ति वितरण प्रणाली अन्त्य गर्न लागिपर्नेछु । गरिब तथा जेहेनदार विद्यार्थीलाई दृष्टिगत गर्दै छात्रवास र छात्रवृत्ति वितरण गरिनुका साथै छात्रवास र छात्रवृत्ति स्तरोन्नति गर्न ढिलाइ गर्ने छैन ।

क्याम्पसका छात्रवास, शौचालय, छात्रामैत्री शौचालय, कक्षाकोठालगायत भौतिक पूर्वाधार निर्माणमा ध्यान दिँदै विज्ञान प्रयोगशाला र पुस्तकालय स्तरोन्नति गर्नेछु । ‘फ्री जोन’ वाइफाइ सञ्चालनमा ल्याइए पनि प्रभावकारी नभएकाले त्यसलाई समेत कामयावी बनाउने प्रयत्न रहनेछ । साथै, पीएन क्याम्पसका ८० प्रतिशत छात्राको क्षमता अभिवृद्धि, नेतृत्व र व्यक्तित्व विकास कार्यक्रम सञ्चालन गर्न अधिकतम प्रयास गर्नेछु । त्यस्तै, स्रोत साधन प्रशस्तै भए पनि अव्यवस्थित भएकाले व्यवस्थित बनाई क्याम्पसको आर्थिक उन्नतिलाई केन्द्रमा राखेर आफ्नो कार्यकाल सफल बनाउनेछु ।

अध्ययन र व्यक्तित्व विकाससँग सम्बन्धित विषय प्राथमिकतामा

शान्ति तिमल्सिना आयुर्वेद क्याम्पस कीर्तिपुर, अनेरास्ववियु, अध्यक्षका उम्मेदवार

म पहिल्यैदेखि संगठनको नेतृत्वमा थिएँ । त्यसैले आयुुर्वेद क्याम्पस कीर्तिपुर सभापतिको उम्मेदवार बन्न त्यति कठिन भएन । उम्मेदवार बनेपछि कठिन भइरहेको छ । किनकि लामो समयपछि स्ववियु निर्वाचन हुँदै छ । त्योमात्रै कारण होइन, विद्यार्थीमा राजनीतिक चेतना शून्यप्रायः भएको छ । विद्यार्थी राजनीतिमा जोडिएका विद्यार्थीसमेत निष्क्रिय भए ।

त्यसमाथि हाम्रो त ‘टेक्निकल फिल्ड’ भयो । म त चिकित्सक हुने हो, राजनीति किन चाहियो भनेर सोच्ने गर्छन् । राजनीति गरेर काम छैन भन्नेको बाहुल्य छ । तर, राजनीतिविना कोही पनि पूर्ण हुन सक्दैनन् ।

राजनीतिलाई ‘डर्टी गेम’ भन्ने गरिन्छ । विद्यार्थीमा पनि त्यसै भन्नेको बाहुल्य छ । राजनीति ‘डर्टी गेम’ हुनका कारण ‘फेयर प्लेयर’ नभएर न हो । हामीजस्ता टेक्निकल फिल्डका विद्यार्थीसमेत राजनीतिमा प्रवेश गरेर फोहोर राजनीतिलाई सफा बनाउन सकिन्छ ।

सम्बन्धित क्याम्पसको प्रकृति हेरेर मुद्दा बनाउनुपर्ने हुन्छ । मैले प्रथमतः समग्र विद्यार्थीको अध्ययन र व्यक्तित्व विकाससँग सम्बन्धित विषयलाई पहिलो मुद्दा बनाएकी छु । क्याम्पसका इ–ल्याब, ल्याब, लाइब्रेरी, हर्बल गार्डेन, रिफ्रेन्स बुकलाई व्यवस्थित बनाउन लागिपर्नेछु । आयुर्वेद क्याम्पसको आफ्नै छात्रवास छैन । जसले गर्दा विद्यार्थी प्रत्यक्ष मारमा परेका छन् । निजी छात्रवासमा बस्नेलाई समेत त्यत्तिकै अप्ठ्यारो परेको छ । क्याम्पसले छात्रवास शुल्क असुले पनि सुविधा दिन सकेको छैन । स्ववियु सभापति निर्वाचित भएँ भने उल्लिखित विषयलाई ध्यानमा राखेर सम्बोधन गर्नेछु ।

‘क्याम्पसको आफ्नै भवनबाट पठनपाठन थाल्नेछु’

गंगा दाहाल, शिक्षा क्याम्पस काठमाडौं, अखिल क्रान्तिकारी, अध्यक्षका उम्मेदवार

शिक्षा क्याम्पस काठमाडौंका लागि अखिल क्रान्तिकारीबाट अध्यक्ष उम्मेदवारका लागि मैले संघर्ष गर्नु परेन । काठमाडौं उपत्यकाका पद्मकन्या क्याम्पसबाहेक आसन्न स्ववियु निर्वाचनका लागि ममात्रै महिला उम्मेदवार हुँ ।

भागबन्डाले नेपाली राजनीतिले थिलथिलो छ । शिक्षा क्याम्पस पनि अछुतो छैन । शिक्षा क्याम्पसमा प्रशासनदेखि क्याम्पसप्रमुखमात्रै होइन कांग्रेस समर्थक लेक्चरकै बाहुल्य छ । उनीहरू पार्टीनिकट विद्यार्थीलाई काखी च्याप्ने गर्छन् ।

त्योसम्म त ठिकै छ तर कांग्रेस समर्थक विद्यार्थीलाई थेसिसमा धेरै नम्बर दिने, अन्यलाई कम दिने संस्कारजस्तै बनेको छ । त्यस्तो परिपाटी हटाउन पहिलो प्राथमिकतामा राखेकी छु । क्याम्पसमा कांग्रेसबाहेकका विद्यार्थी सौतेनी व्यवहार गरिन्छ । त्यसलाई चिर्न लागिपर्नेछु ।

स्ववियुलाई मागिखाने भाँडो बनाइएकोमा मेरो आपत्ति छ । विद्यार्थी कल्याण कोषमा आएको रुपैयाँसमेत उनीहरूले आफूअनुकूल प्रयोग गर्दै आएका छन् । त्यसलाई खारेज गर्न मेरो उम्मेदवारी परेको हो ।

काठमाडौं शिक्षा क्याम्पसको आफ्नो भवन छैन । पद्मोदय माध्यमिक विद्यालय भवनमा अध्यापन गराइन्छ । क्याम्पसको आफ्नै भवन सतुंगलमा रहेको छ । टाढा भएकाले विद्यार्थीलाई अनुकूल हुँदैन भनेर प्रशासनले आलटाल गर्दै पद्मोदयमै अध्यापन गर्न जबर्जस्ती गर्दै आए पनि म स्ववियु सभापति निर्वाचित भएँ भने क्याम्पसको आफ्नै भवनबाट पठनपाठन सञ्चालन गर्न प्राथमिकतासाथ काम गरेर देखाउनेछु ।

शिक्षा क्याम्पस सामुदायिक क्याम्पस हो । यहाँ गगन थापा र कृष्णप्रसाद सिटौलाले भर्ना गरेका लेक्चरको बाहुल्य छ । सबै लेक्चर योग्य नहुँदाहुँदै पनि जबर्जस्ती अध्यापन गर्दै आएका छन् । जसले गर्दा विद्यार्थी सौहार्द वातावरणमा अध्ययन गर्न पाएका छैनन् । त्यो वातावरण अन्त्य गर्दै प्रतिस्पर्धाका आधारमा लेक्चर नियुक्त गरेर गुणस्तरीय शिक्षाका लागि अहोरात्र खट्नेछु ।

क्याम्पस उन्नयनका लागि मेरो उम्मेदवारी मञ्जु श्रेष्ठ, कैलाशकुट बहुमुखी क्याम्पस चाबहिल, अनेरास्ववियु, अध्यक्षका उम्मेदवार

आसन्न स्ववियु निर्वाचनका लागि कैलाशकुट बहुमुखीबाट मैले उम्मेदवारी घोषणा गर्दा आफ्नै संगठनबाट महिलाले के नै गर्लान् भन्ने नभएका होइनन् । त्यसो भन्दैमा आफूलाई कमजोर बनाइनँ । त्यसमाथि सबैको विश्वासका आधारमा अध्यक्षको उम्मेदवार बन्न सफल भएँ ।

कैलाशकुटमा विविध समस्या छन् । पुस्तकालयमात्रै होइन, चमेनागृहमा समेत समस्या छ । हाल सञ्चालनमा रहेको चमेनागृहमा एकैपटक पाँचजना बसेर खान सक्ने ठाउँ छैन । यो गर्छु, त्यो गर्छु भन्नुभन्दा क्याम्पसका आन्तरिक समस्या समाधान गर्नु लाख हुन्छजस्तो लाग्छ । म पनि त्यसमै केन्द्रित हुनेछु । खानेपानी व्यवस्था । दक्ष शिक्षक व्यवस्थापन गर्ने । विद्यार्थीलाई धितो राखेर । मबाहेक अन्यलाई उल्लिखत काम गर्न गाह्रो छ । म यहीं अध्यापनरत रहेकाले मेरा प्रतिद्वन्द्वीभन्दा मलाई क्याम्पसको समस्या बढी थाहा छ । निर्वाचनका लागि बाहिरबाट ल्याइएका उम्मेदवारले जितिहालेमा उसले क्याम्पसको उन्नयनका लागि काम गर्छन् नै भन्ने छैन । त्यस अर्थमा मेरो उम्मेदवारी प्रभावकारी ठान्छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप