बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

लोग्नेस्वास्नीको झगडा र प्रेम : मान भर्सेस मती

मङ्गलबार, १७ फागुन २०७३, १४ : १५
मङ्गलबार, १७ फागुन २०७३

‘लोग्नेस्वास्नीको झगडा परालको आगो !’ नेपालमा प्रचलित लोकोक्ति हो यो । श्रीमानश्रीमतीबीचको झगडा र प्रेमका बिषयमा धेरै लोकोक्ति छन् । त्यस्तै साहित्यमा श्रीमानश्रीमतीको सम्बन्ध प्रचलित बिषय हो । तर विकासक्रमसँगै सम्बन्धका आयाम पनि विकास हुँदै जान्छन् । त्यसका सरलता र जटिलताको प्रकृति पनि बदलिन्छ । यही प्रचलित बिषय तर त्यसको पछिल्लो आयामलाई टिपेर रंगकर्मी केदार श्रेष्ठले नाटक तयार पारेका छन्– मान भर्सेस मती ।

यो नाटक अघिल्लो वर्ष पनि निकै मन पराइएको नाटक हो । कलाकार प्रेमवर्षा खड्का, आकाश मगर, कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ र रोशन सुवेदीको अभिनय क्षमता नाटकमा देखिन्छ । नाटकको परिकल्पना र निर्देशन पनि केदार श्रेष्ठकै छ । ।मध्यमवर्गीय सामान्य परिवारका श्रीमानश्रीमतीबीचको सम्बन्धका उतारचढाव नाटकमा उतारिएको छ ।

कामकाजी श्रीमान र घरमै समय व्यतीत गर्ने श्रीमतीबीचको अन्तरद्वन्द्व नाटकमा छ । हिन्दी सिरियलमा हर समय डुबिरहने मध्यमवर्गीय महिला प्रवृत्तिलाई नाटकमा तिखो व्यंग्य गरिएको छ । हिन्दी सिरियलले पैदा गरेको मनोविज्ञानसँगै श्रीमानलाई हरसमय शंका गर्ने प्रवृत्तिले पैदा गर्ने पारिवारिक कचिंगल र खटपट नाटकमा जीवन्त देखिन्छ । त्यस्तै कुनै पनि पुरुषसँग बोलेको वा भेटेको थाहा पाउनेबित्तिकै श्रीमतीलाई शंका गर्ने पुरुष प्रवृत्ति नाटकमा दुरुस्त उतारिएको छ । नाटकमा श्रीमान भन्छ, ‘दिनभरी रासलीला मच्चाउने गरेको रहेछ र पो मलाई चियासमेत पकाएर दिन अल्छी गर्दी रहिछे त ।’

श्रीमतीको कुरो पनि उत्तिकै कडा हुन्छ, ‘कुनचाहिँ नखरमाउलीको हात समातेर हिँड्नु रहेछ र पो त मलाई अफिस नपुगी हुँदैन भनेको रहेछ त ।’

नाटकका हरेक संवाद यस्तै हास्यपूर्ण र व्यंग्यात्मक छन् । त्यसमा यथार्थ पनि उत्तिकै घोलिएको छ । आफ्नो श्रीमान वा श्रीमतीलाई कहिल्यै राम्रो नदेख्ने र अर्काकोलाई राम्रो देख्ने प्रवृत्तिप्रति पनि नाटकमा व्यंग्य छ ।

समग्रमा नाटक रमाइलो त छ नै, यथार्थप्रति सचेत बन्न पनि उत्तिकै अभिप्रेरित गर्ने खालको छ । यो नाटक चैत्र ५ गते सम्म चल्ने छ । नाटक बुधबार बाहेक हरेक दिन ५ः३० बजे मञ्चन गरिनेछ ।

तस्विर : विजु महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप