सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

नेपालको सीमामा भेटिइन् बाँदरसँग बस्ने ‘मोगली गर्ल’, मानिसलाई देखेर चिच्याउँछिन्, हातखुट्टा टेकेर हिँड्छिन्

शुक्रबार, २५ चैत २०७३, १२ : २०
शुक्रबार, २५ चैत २०७३

डेली मेल

चैत २५ – बाँदरसँगै बस्ने एक आठ वर्षीया किशोरी मानिसजसरी हिँड्न र बोल्न सक्दिनन् । उत्तरी भारतको बाहाराइच रिजर्भमा भेटिएकी उनी चिच्याउँछिन् मात्र र चार हात खुट्टा टेकेर हिँड्छिन् ।

उनलाई ‘मोगली गर्ल’ को उपमा दिइएको छ । उनको जीवनशैली रडयार्ड किपलिङले लेखेको किताब ‘द जंगल बुक’ को मोगली नामका एक पात्रसँग मिल्छ जसलाई ब्वाँसोहरुले हुर्काएका थिए ।

अधिकारीका अनुसार यी किशोरी नेपालको सीमा नजिकै रहेको कातारनियाघाट वन्यजन्तु आरक्षण केन्द्रमा रहेका बाँदरसँगै बस्ने गर्दथिन् ।

यद्यपी, उनी को हुन्, कहाँकी हुन् र जंगलमा बस्न थालेको कति वर्ष भयो भन्ने विषयमा अनसन्धान भइरहेको बताइएको छ ।

सब–इन्स्पेक्टर सुरेश यादवले उनलाई त्यहाँ देख्नुभन्दा पहिले एक रुख काट्ने व्यक्तिले उनलाई देखेको टाइम्स अफ इन्डियालाई उद्धृत गर्दै डेली मेलले बतायो ।

उनलाई दुई महिना पहिले त्यहाँ भेटेपछि अस्पतालमा लगिएको छ । तत्पश्चात् उनको उपचार भइरहेको छ ।

‘उनको व्यवहार जनावरको जस्तो थियो, चार हात खुट्टा टेकेर हिँड्थिन् । खानालाई भुँइमा राखेर मुखले खान्थिन्,’ सरकारी अस्पतालका चिफ मेडिकल सुपरिटेन्डेन्ट डि.के सिंहले बताए ।

उपचारपश्चात् उनी साधारण रुपमा हिँड्न थालेकी छिन् र हातले खाना खान थालेको उनले जानकारी दिए ।

‘यद्यपी, उनी अहिले पनि बोल्न सकेकी छैनन् तर तपाईंले जे भन्नुहुन्छ, त्यो बुझ्छिन् र हाँस्छिन् पनि,’ सिंहले भने ।

पुलिस अधिकारी दिनेश त्रिपाठीले ती किशोरीलाई पहिलो पटक भेट्दा उनी नग्न अवस्थामा भएको र बाँदरसँग निकै सहज रुपमा बसिरहेको बताए । जब रुख काट्ने व्यक्तिले ती किशोरीलाई बचाउन खोजे तब एक हुल बाँदरले उनीहरुलाई लखेटे,’ पुलिस अधिकारीले बताए ।

उनलाई पछि काटारनिया घाट फरेष्ट रेन्जबाट उद्धार गरिएको हो । ‘जब उनले ती किशोरीलाई बोलाए तब बाँदरहरुले उनलाई आक्रमण गरे । तर पछि उनले कसैगरी ती किशोरीलाई उद्धार गर्न सफल भए । किशोरीलाई पुलिस कारमा राखेर कुदाउँदा  बाँदरले लखेटे ।’ त्रिपाठीले भने ।

मोतीपुर स्टेशनका इन्स्पेक्टर राम अवतार सिंह भन्छन्, ‘उनी हामीलाई देख्नेबित्तिकै डराउँथिन् । उनी राम्रोसँग बोल्न सक्दिनथिन् । उनी तीनवटा बाँदरले घेरिएकी थिइन् । उनको शरिरभरी घाउ थिए विशेषगरी कुइना र खुट्टामा ।’

‘उनलाई उनको परिवारले छोडेको हुनसक्ने अनुमान गरेका छौं,’ उनले भने ।

‘उनी निकै दुर्बल र भोकाएकी देखिन्थिन् । हामीले उनलाई केही खानेकुरा दियौं । उनी निकै मायालाग्दी थिइन् । यदि हामीले उनलाई उद्धार नगरेको भए जनावरले उनलाई खाइदिन्थे ।’

केही भाषा नबुझेका बेला उनी कहिलेकाँही हिंस्रक हुने डाक्टरले बताएका छन् ।

डाक्टरका अनुसार उनी अझै पनि मानिससँग डराउँछिन् । उनलाई उभिएर हिँड्न सिकाएपनि अझै चार हात खुट्टा टेकेर हिँड्छिन् ।

चफि मेडिकल अफिसर डिके सिंह भन्छन्, ‘यी किशोरीलाई दुई महिना पहिले भेटिएको थियो । उनी जनावरले जस्तै खाने र हिँड्ने गर्छिन् र मानिसलाई देखेपछि भाग्छिन् ।’

‘उनको छालामा विभिन्न दाग छन् । उनलाई हेर्दा यस्तो लाग्छ कि उनी निकै पहिलेदेखि नै जनावरसँग बस्दै आएकी छिन् । अहिले उनको अवस्था सुधारोन्मुख छ र क्रमशः स्वस्थ हुँदै छिन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप