शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

धौलागिरिको चुनावी चहलपहल : पर्यटन केन्द्र बनाउने उम्मेदवारको चुनावी मुद्दा

सोमबार, २५ वैशाख २०७४, ०९ : २३
सोमबार, २५ वैशाख २०७४
म्याग्दी, २५ वैशाख - भौगोलिक हिसाबले म्याग्दीको सबैभन्दा ठूलो धौलागिरि गाउँपालिकाको चुनावी मैदानमा उत्रिएका उम्मेदवारले धौलागिरिलाई पर्यटनको केन्द्र बनाउने चुनावी मुद्दालाई प्राथमिकता दिएका छन् । एक हजार ३७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् भने एमालेका उम्मेदवार एक्लै चुनावी मैदानमा उत्रिएका छन् । साविकको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मराङ र ताकम गाविस समावेश भएको धौलागिरिमा १४ हजार १०४ जनसङ्ख्या र जिल्लामा सबैभन्दा कम नौ हजार ३३४ जना मतदाता छन् । सोह्र पदका लागि ८५ जना मैदानमा सोह्र वटा पदका लागि ८५ जना चुनावी मैदानमा उत्रिएका छन् । धौलागिरि गाउँपालिकाका उम्मेदवारले आफ्नो पार्टीले केन्द्रीय स्तरमा तयार पारेका घोषणापत्रका साथै स्थानीय मुद्दालाई समेत अघि सारेका छन् । यस गाउँपालिकामा संसारको साताँै अग्लो (८१६७ मिटर) धौलागिरि, गुर्जालगायत हिमाल रहेको, ढोरपाटन सिकार आरक्ष, धौलागिरि चक्रिय र गुरील्ला पदमार्गको प्रवेशद्वार रहेको छ । पर्यटन विकास काँग्रेस र माओवादी केन्द्रको तालमेलमा अध्यक्षको उम्मेदवार माओवादीका रिमप्रकाश थापाले कृषि, पर्यटन, वनपैदावार, जलस्रोतको सम्भावना रहेको धौलागिरि गाउँपालिकामा सडक विस्तार, स्तरवृद्धिका साथै जलजला, गुर्जा, धौलागिरि आधार शिविर क्षेत्रमा पर्यटनको विकास गर्ने योजनालाई प्राथमिकता दिने बताउछन । रोजगारी सिर्जना एमालेबाट अध्यक्षको उम्मेदवार थमसरा पुनले पर्याप्त मात्रामा रहेको प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरी रोजगारी सिर्जनामार्फत युवालाई विदेशिनु पर्ने बाध्यताबाट मुक्त गर्ने, धौलागिरि आधार शिविरसम्म सहज पदमार्गको पहुँच पु¥याउने योजना अघि सारेकी छन् । अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाएको नेपाली काँग्रेसबाट उपाध्यक्षका उम्मेदवार डम्मर भण्डारीले गाउँपालिकाको केन्द्रको विषयमा उत्पन्न विवादले सिर्जना भएको तित्ततालाई मेटाएर एकताको वातावरण सिर्जना गराउने, जलविद्युत्, खानी, जडीबुटी, पर्यटन क्षेत्रमा लगानी भित्र्याउने योजना रहेको बताए । उपाध्यक्षमा भण्डारीसँगै एमालेका युवा नेता रेशम छन्त्याल चुनावी मैदानमा उत्रिएका छन । केन्द्रको विषयमा करिब दुई महिना चलेको आन्दोलनलाई थाँती राखेर गाउँपालिकाका सबै पक्ष चुनावमा होमिएका छन् । निर्वाचनको तयारी अन्तिम चरणमा आगामी आइतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । -जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताए । -दुईसय २४ जना मतदान र सहायक मतदान अधिकृतलगायतका कर्मचारीलाई तालिम दिइ नियुक्तपत्र दिएर मतदान स्थलमा खटाउने तयारी भएको जिल्ला निर्वाचन अधिकारी केदारनाथ पौडेलले बताए । -प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी, एक जना सहयोगी तथा दुई जनाका दरले स्वयम्सेवक परिचालन हुने भएका छन् । -बदर मतको दर घटाउन जिल्लाभर १०२ जना निर्वाचन तथा मतदाता शिक्षा स्वयम्सेवक परिचालन भएका छन् । -म्याग्दीमा ३७ हजार ६७२ जना महिला, ३३ हजार ७६० जना पुरुष र एक जना तेस्रो लिङ्गी गरी ७१ हजार ४६३ जना मतदाता रहेका छन् । २३७ पदका लागि ५९४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप