शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा चढाउन नमान्ने प्रहरी नियन्त्रणमा

सोमबार, २५ वैशाख २०७४, ०९ : ४९
सोमबार, २५ वैशाख २०७४

ललितपुर, वैशाख २५ – अपाङ्गता भएका व्यक्तिलाई सार्वजनिक यातायातमा चढाउने नमान्ने बस चालक र सहचालकलाई प्रहरीले सवारीसहित नियन्त्रणमा लिएको छ ।

भक्तपुरबाट लगनखेलसम्म चल्ने बा ४ ख ४३४८ नम्बरको मिनीबसले अपाङ्गता भएका व्यक्तिलाई चढाउन नमानेको भन्दै ललितपुर ट्राफिक प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो ।

बससँगै चालक कृष्ण तुकुम्बजा र विमल क्षेत्रीलाई पनि नियन्त्रणमा लिइएको छ ।

अपाङ्गता भएका सञ्जिव लामाको उजुरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए ।

कोटेश्वरबाट लगनखेलस्थित पाटन अस्पताल आउन लागेकोमा उक्त बसका चालक र सहचालकले बस खाली नभएको भन्दै चढाउन नमानेको लामाको भनाई छ । बसले चढाउन नमानेपछि १०३ नम्बरमा फोन गरेर उनले उजुरी गरेका थिए । लगत्तै ललितपुर ट्राफिक प्रहरीले लगनखेलबाट बसलाई नियन्त्रणमा लिएको हो ।

‘सार्वजनिक सवारीमा महिला, अपाङ्ग र जेष्ठ नागरिकलाई प्राथमिकता दिइनुपर्छ । वहाँहरुका लागि सिट समेत आरक्षण गरी राखिएको हुन्छ,’ हाछेथुले भने, ‘अझ अपाङ्गता भएकाहरुलाई त विशेष प्राथमिकता दिइनुपर्छ । सिटमा बसेका मानिसहरुलाई उठाएर भए पनि यात्रा गर्ने अवसर दिनुपर्छ ।’

अपाङ्गता भएका व्यक्तिलाई गाडीमा चढाउँदा छुट पनि दिनुपर्ने ठाउँ पनि धेरै ओगट्ने भन्दै सार्वजनिक सवारीले उनीहरुलाई चढाउन आनकानी गर्ने गरेको उनको भनाई छ ।

यस्तो भेटिएमा त्यस्ता सवारीमाथि कडा कारवाही गर्ने हाछेथुले बताए । ‘यदी कुनै पनि सवारीले त्यस्तो गरेको पाइएमा १०३ वा ललितपुरमा ११०३ मा फोन गर्न यात्रुहरुलाई आग्रह गर्दछौँ । त्यस्ता सवारीमाथि तुरुन्त कारवाही हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप