शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गाउँ फर्कंदै मतदाता

सोमबार, २५ वैशाख २०७४, ०८ : ५३
सोमबार, २५ वैशाख २०७४

पोखरा, २५ वैशाख । निर्वाचनको मिति नजिकिँदै गएपछि सहरमा विभिन्न पेसा र व्यवसाय गर्दै आएका मतदाता गाउँ फर्कन थालेका छन् ।

पेसा, व्यवसायकै कारण सहर झरेका सर्वसाधारणका लागि आफ्नो मतदाता नामावलीमा नाम गाउँमा भएका कारण निर्वाचनमा भोट हाल्नका लागि गाउँ पुग्नैपर्ने अवस्था छ ।

कास्कीका ग्रामीण भेगका साथै गण्डकी तथा धवलागिरिका स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बागलुङ, पर्वत, म्याग्दीलगायतबाट पोखरा आई बस्ने नागरिकको सङ्ख्या पोखरामा अत्याधिक रहेको छ । निर्वाचन नजिकिएका कारण मतदाता गाउँ फर्कन लागेपछि पोखराको व्यापार व्यवसायमा विस्तारै मन्दी आउन थालिसकेको लम्जुङ घर भई विगत केही वर्षयता पोखराको नयाँबजारमा किराना पसल सञ्चालन गर्दै आएका गणेश घिमिरेले बताए।

“पसलमा आउने अधिकांश उपभोक्ता गाउँ लागिसकेका छन्”, उनले भने– “अब जेठको १, २ गतेसम्म पोखराको व्यापार व्यवसाय सुनसान नै हुनेछ ।”

सरकारले आजदेखि लागू हुनेगरी शैक्षिक संस्थालाई बिदा दिएका काराण बालबालिकासहित अधिकांश मतदाता गाउँ फर्किन थालेका पर्वतको फलेवासका रामकुमार पौडेलले बताए । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचन आफैँमा एउटा उत्सव जस्तै भएको उनको भनाइ छ ।

नयाँ परिवर्तित संरचनाअनुसार हुन लागेको यस निर्वाचनमा मतदान गर्न मतदाता उत्साहका साथ घर फर्कन थालेका छन् । कतिपय मतदाताका लागि पोखरामा स्थायी घरवास नै भए पनि आधिकारिक रुपमा स्थानान्तरण भइनसकेका कारण गाउँ नै फर्कनु परेको तनहुँको क्युँ घर भई पोखरामा बस्दै आएका हरिकृष्ण सुवेदी बताउँछन् ।

“सहरमा बस्दै आए पनि निर्वाचनमा मतदान गर्न आफ्नो गाउँ जानै प¥यो,” उनले भने । पोखराको हेमजा, विरौटा, भरतपोखरीलगायत स्थानमा विभिन्न जिल्लाबाट आएर बस्नेको ठूलै सङ्ख्या रहेको छ ।

पोखरा उपमहानगरपालिका कार्यालयका कर अधिकृत शिवहरि शमा पोखरामा छिमेकी जिल्लाबाट मात्र नभई देशभरकै विभिन्न स्थानका नागरिक आएर बसोबास गर्न थालेका छन् । पोखराको मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेमध्ये ६० प्रतिशत बाहिरी जिल्लाबाट आएका व्यक्ति रहेको उनले बताए ।

जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको कुल मतदाता सङ्ख्या दुई लाख २४ हजार ८११ रहेकामा पोखरा लेखनाथ महानगरपालिकामा मात्र एक लाख ६८ हजार ६७ मतदाता रहेका छन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप