शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

सोमबार, २५ वैशाख २०७४, १७ : ५५
सोमबार, २५ वैशाख २०७४
काठमाडौँ, वैशाख २५ – सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् । निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल गरिरहेका थिए । निकेतनको आयोजनामा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री नरहरि आचार्यको आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई उनको उचाइ बराबरको ताम्रपत्र र रु पाँच लाखसहित ‘शताब्दी पुरुष’ सम्मान दिइएको थियो । प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले विसं २०७२ मा ‘शताब्दी पुरुषःसत्यमोहन जोशी’ ग्रन्थ पनि प्रकाशन गरेको थियो । शताब्दी पुरुष जोशी यही वैशाख ३० गते ९८ वर्षमा प्रवेश गर्दै छन्। वरिष्ठ संस्कृतिविद् जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अनवरत रुपमा सक्रिय भई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनका माध्यमबाट वाङ्मयको गरिमा बढाउने कार्यमा अमूल्य योगदान पुर्याएबापत उनलाई सो उपाधिबाट सम्मान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज स्पष्ट गरेको छ । निकेतन र प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईँले सरकारले जोशीलाई सो उपाधिबाट सम्मान गर्नु नेपालका सबै स्रष्टाको गौरवको विषय भएको बताए। रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप