रियलको किर्तिमानी यात्रा : अर्को डिमाटेयो होइनन् जिदान
एजेन्सी
म्याड्रिड, चैत ८ – रियल म्याड्रिडको लिग उपाधि जिनेदिन जिदानको जीत हो । गत वर्षको जनवरीमा राफा बेनिटेजबाट हेभिवेट स्पेनिस क्लबको नेतृत्व सम्हाल्दा उनलाई लगातार ‘भाग्यमानी’ को बिल्ला भिराइयो । तर, उनको रेकर्डले देखाउँछ, उनलाई थाहा छ उनी के गरिरहेका छन् ।
रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजका लागि जिदान अन्तिम अस्त्र थिए । सन् २०१५ मा कार्लो एन्चेलोटीलाई हटाउने अलोकप्रिय निर्णय र उनको सटो बेनिटेजलाई ल्याउने त्योभन्दा बढी आश्चर्यजनक निर्णयपछि रियलका धेरै समर्थकहरुले पेरेजको राजीनामा माग गरेका थिए । उनले अर्को गल्ती गर्ने गुञ्जायिस नै थिएन ।
र, उनले फेरि गल्ती दोहोराएनन् । बेनिटेजको साटो जिदानले नेतृत्व सम्हालेपछि रियलले उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०१५–१६ सिजनमा ला लिगामा बार्सिलोनाभन्दा मात्र १ अंकले पछि रह्यो । त्यसको एक हप्तापछि उनले टोलीलाई किर्तिमानी ११ औँ च्याम्पियन्स लिगको उपाधि दिलाए । भर्खरै प्रशिक्षको जिम्मेवारी सम्हाल्न थालेका जिदानको लागि त्यो ६ महिना उत्कृष्ट शुरुवात थियो । तैपनि धेरैले उनको यो सफलतालाई भाग्यसँग जोडे । धेरैको तर्क थियो, उनी चेल्सीका प्रशिक्षक रोबर्टो डि माटेयोभन्दा फरक छैनन् । निकै खराब दौरबाट गुज्रिरहेको चेल्सीको कार्यवाहक बनेका डिमाटेयोले सन् २०१२ ताका चेल्सीलाई एफए कप र च्याम्पियन्स लिग जिताएका थिए । उनले त्यो सफलता अर्को सिजन दोहोराउन सकेनन् ।
तर, जिदानको हकमा त्यो दोहोरिएन । नयाँ सिजनको शुरुवातसँगै रियलले थप उपाधि जित्यो । युइएफए सुपरकपसँगै रियलले डिसेम्बरमा क्लब विश्वकपको पनि उपाधि जित्न सफल रह्यो । दुवै खेलमा रियलले खेलको अन्त्यतिर गोल गर्दै अतिरिक्त समयमा जित हासिल गरेको थियो । फेरि पनि जिदानलाई भाग्यमानी भनियो ।
यद्यपि, उत्कृष्ट प्रशिक्षकहरु प्रायः भाग्यमानी नै हुन्छन्, जिदानको रेकर्डले पनि त्यही भन्छ । दुई सिजनमा जोडेको अंक हेर्दा उनको नेतृत्वमा रियलले बार्सिलोनाभन्दा ७ अंक बढी बटुल्न सफल भएको छ भने एथ्लेटिको म्याड्रिडभन्दा २१ । र, आइतबार मालागालाई हराउँदै ला लिगाको उपाधि पनि आफ्नो पोल्टोमा पारेका छन् ।
इटालियन प्रशिक्षक एन्चेलोटीले इटाली, इंग्ल्याण्ड, फ्रान्स र अहिले जमर्नीमा लिग उपाधि जिते पनि दुई सिजन रियलको नेतृत्व सम्हाल्दा रियललाई त्यो सफलता दिन सकेनन् । तर, जिदानले नेतृत्व लिएपछि गत सिजन एक अंकले पछि परेको रियलले यस सिजन उपाधि हात पारेको छ । पछिल्लो पटक जोसे मोरिन्होले रियललाई लिग उपाधि दिलाएका थिए ।
‘हामी जिदानको कामलाई धन्यवाद दिन चाहन्छौ,’ गत हप्ता इस्कोले भनेका थिए, ‘उनले टोलीमा गरेको परिवर्तनका कारण हामी यो सिजन दुईवटा उपाधि जित्ने होडमा छौँ ।’ त्यसमध्ये एउटा पूरा भएको छ भने अब जुन ३ मा युभेन्टसविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल्न बाँकी छ ।
इस्कोको दाबीमा पक्कै पनि केही सत्यता छ । आफै सफल खेलाडी भएको र रियलका लागि आइकन भएको कारण बेनिटेजबाट नेतृत्व सम्हाल्ने बित्तिकै उनले खेलाडीहरुबाट सम्मान पाए । धेरै खेलाडीहरुले बेनिटेजलाई दिन नसकेको सम्मान जिदानलाई दिएका थिए । त्यसमाथि पनि रियलको स्टार खेलाडीहरुले भरिएको टोली त्यहाँ खेलाडीहरुबीच ‘इगो’ को समस्या हुनेनै भयो । एक पटक जिदानलाई सोधिएको थियो ड्रेसिङ रुमको इगोलाई तपाईं कसरी व्यवस्थापन गर्नुहुन्छ ? उनको उत्तर थियो, ‘इगोलाई भन्दा व्यक्तिलाई व्यवस्थापन गर्ने कुरा महत्वपूर्ण हो । त्यो विशेष कुरा हो जुन अन्य युक्तिभन्दा महत्वपूर्ण हुन्छ ।’
उनमा रियलकै पूर्व प्रशिक्षक भिन्सेन्ट डेल बस्क (उनको पूर्व प्रशिक्षक) र एन्चेलोटीको छवि पाउन सकिन्छ । त्यसमाथि उनी आफै क्लबका लिजेन्ड हुन् । उनी अहिले नै उत्कृष्ट रणनीतिज्ञ नहोलान्, गत क्लासिकोमा उनले छानेको टोलीले पनि त्यही देखाउँछ, तर उनलाई आफ्नो टोलीबाट उत्कृष्ट नतिजा निकाल्न भने पक्कै पनि आउँछ ।
त्यही भएर जिदानको जितमा भाग्यमात्र भन्दा पनि उनको मिहिनेत छ । सन् २००२ र सन् २००३ मा डेल बोस्कपछि च्याम्प्यिन्स लिग र ला लिगा उपाधि जित्ने जिदान रियलका पहिलो प्रशिक्षक हुन् । र, अब समय भएको छ जिदानलाई भाग्यमानी प्रशिक्षक मात्र नभएर विश्वकै उत्कृष्ट प्रशिक्षकको पगरी पनि लगाइदिने ।
सन् २०१२ पछि पहिलो उपाधि
क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमाको गोलको मद्दतले रियलले सन् २०१२ पछि पहिलो लिग उपाधि जितेको हो । बार्सिलोनाले पनि २–० ले पछि परेको स्थिति उल्टाउँदै इबारलाई हराए पनि रियललाई लिग जित्नबाट रोक्न सकेन । खेलको अन्तिम दिन डिफेन्डिङ च्याम्पियन बार्सा रियलभन्दा ३ अंकले पछि पर्यो ।
तथ्यांकमा रियललको जीत
– सन् १९९४ पछि सबैभन्दा लामो (चार सिजन) को खडेरी पछि रियलले लिग उपाधि जित्न सफल भएको हो ।
– रियलको यो किर्तिमानी ३३ औँ लिग उापधि हो । बार्सिलोनाभन्दा यो ९ वटाले बढी हो । तेस्रो स्थानमा रहेको एथ्लेटिको १० उपाधि रहेको छ ।
– रियलले पहिलो पटक लिगको सबै खेलमा गोल गर्न सफल भएको छ ।
– रियलले यो सिजन घरेलु मैदान बाहिर ५८ गोल गरेको छ । जुन अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन हो ।
– रियलले सबै प्रतियोगिताहरुमा पछिल्ला ६४ खेलमा गोल गरेको छ । शीर्ष ५ युरोपिन लिगमा यो किर्तिमान हो ।
– क्रिस्टियानो रोनाल्डो युरोपका शीर्ष ५ लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । उनले ३६९ गोल गर्दै जिमी ग्रिभासलाई पछि पारेका छन् ।
– यो सिजन रियलका १९ फरक खेलाडीले गोल गरे । सेल्टा भिगोसँगै रियलको यो किर्तिमान हो ।
– रियलले २७ वटा गोल हेड मार्फत गर्यो । सन् २००३–०४ सिजन पछि कुनै पनि टोलीले गरेको यो सबैभन्दा धेरै गोल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
-
मापसे गरेका चालकले चलाएको ट्रकले दुईवटा बसलाई ठक्कर दिँदा आठ जना घाइते
-
नीर शाहको निर्देशनमा ‘प्रिन्स’ बन्ने
-
ब्राउन सुगरसहित एक जना पक्राउ
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण