शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

प्रचण्डले तत्काल राजिनामा दिएर कामचलाउ बजेट ल्याउनुपर्छ : डा. महत

सोमबार, ०८ जेठ २०७४, १५ : ४०
सोमबार, ०८ जेठ २०७४

काठमाडौं, जेठ ८ – सरकारले पुर्ण बजेट ल्याउने तयारी गरिरहेका बेला सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले वर्तमान सरकार कामचलाउ भैसकेकोले बजेट पनि कामचलाउ नै ल्याउनुपर्ने बताएका छन् । यद्यपी उनले संविधानले पूर्ण बजेट ल्याउनबाट भने बञ्चित नगरेको बताएका छन् ।

सोमबार काठमाडौमा भएको साक्षत्कारमा नेता महतले निर्वाचन आचारसंहिताका कारण पनि बजेट कामचलाउमात्रै ल्याउनुपर्ने दावी गरे । उनले भने,‘निर्वाचन आचारसंहिताका कारण पनि नीति तथा कार्यक्रम बाँधिएको छ, अहिले भएका कार्यक्रमहरुलाई निरन्तरता दिने हो, भएका कार्यक्रमहरुलाई कार्यान्वयन गर्नेतिर जोड दिनुपर्छ ।’

साक्षात्कारमा नेता महतले उनले अप्ठ्याराहरुलाई सुधार गर्ने र विगतका राष्ट्रिय गौरवका आयोजनाहरुलाई निरन्तरता दिनेगरि काम चलाउ बजेट ल्याउनुपर्ने बताए । महतले अर्को सरकार बनेपछि आवश्कत्ता अनुसार पूरक बजेट ल्याउन सक्ने समेत जनाए । पूर्वअर्थमन्त्री समेत रहेका डा. महतले यो पटकको बजेटमा भुकम्पपछिको पूर्नःनिर्माणमा भने विशेष ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘पूर्ननिर्माणको काम ढिला भयो, सरकारले पूर्ननिर्माण प्राधिकरणलाई हस्तक्षेप भयो, सरकारले अब प्राधिकरणको हात खुकुलो पारिदिनुपर्छ।’

नेता महतले सरकारले ल्याउने काम चलाउ बजेटमा नयाँ कर लगाउन नसक्ने समेत स्पष्ट पारे । यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग भएको भद्र सहमति अनुसार आज र भोलिमै राजिनामा दिने समेत विश्वास दिलाए । महतले भने,‘उहाँले राजिनामा दिनुहुन्छ, हुन त चैत्र मसान्तभित्रै राजिनामा दिने कुरा थियो, तर पहिलो चरणको निर्वाचन बैशाख ३१ गते भएकोले बैशाख मसान्तभित्रै राजिनामा दिने कुरा थियो, अहिले ४ गते दिने भनियो, फेरि ८ गते भनिएको थियो, तर अहिले किन ढिला भैरहेको छ, मैल बुझेको छैन ।’

महतले प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार निर्माणको लागि मार्गप्रशस्त गर्न अब ढिलाई गर्न नहुने सुझाव दिए । उनले भने,‘भोलि र पर्सीसम्ममा राजिनामा आउँछ हो, उहाँहरुको पनि अहिले त्यही निर्णय भएको सुन्नमा आएको छ ।’ उनले जे गर्ने हो त्यो निर्णय चाँडो गर्नुपर्ने धारणा राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप