परराष्ट्रमन्त्रीद्वारा ८ प्रजातिका चार हजार १२ थान अखेटोपहार आगो लगाएर नष्ट
चितवन, ८ जेठ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले चोरीसिकारको प्रवृत्तिलाई निरुत्साहित पार्न जलाएर अखेटोपहार नष्ट गरिएको बताएका छन् ।
वन्यजन्तुको अखेटोपहार नष्ट गर्न आज कसरामा आयोजित एक कार्यक्रममा उनले अन्तर्राष्ट्रिय बजारमा अखेटोपहारको माग छ भन्ने प्रचारबाजीलाई निस्तेज पार्न यस्तो अभियान सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे ।
प्राकृतिक रुपमा बाँच्न र प्राकृतिक रुपमै मर्न पाउनुपर्ने हरेक प्राणीको नैसर्गिक अधिकार भएको उनको भनाइ थियो ।
नेपालमा दुर्लभ वन्यजन्तुको चोरीसिकारलाई गम्भीर अपराधका रुपमा लिइएको र अपराधीमाथि कडा कारबाही गर्न सरकार नचुक्नेसमेत उनले बताए ।
नेपालका दुर्लभ वन्यजन्तु मात्रै नभएर अन्य मुलुकबाट नेपालको बाटो भई अखेटोपहारको अनधिकृत रुपमा हुँदैआएको ओसारपसार नियन्त्रण गर्न पनि सरकार कडाइकासाथ लागेको मन्त्री महतले बताए । चोरी सिकार न्यून गर्ने अभियानमा सरकारी निकायलाई स्थानीय जनसमुदायको सहयोग महत्वपूर्ण हुने उनले बताए ।
एक फरक प्रसङ्गमा उनले तीन तहको निर्वाचनसँगै संविधान कार्यान्वयन हुने र त्यसपछि मुलुक समृद्धिको बाटोमा लाग्ने बताए ।
कार्यक्रममा वनमन्त्री शङ्कर भण्डारीले औपचारिक रुपमै कुनै पनि काममा अखेटोपहार प्रयोग हुनुहुन्न भन्ने सन्देश दिन अखेटोपहारलाई जलाएर नष्ट गरिएको बताए ।
दुर्लभ वन्यजन्तुको अखेटोपहार बजारमा आउन नदिन, वन्यजन्तुको चोरीसिकार र अवैध व्यापार घटाउन र सरकारको दायित्व कम गर्न अखेटोपहार जलाएर नष्ट गरिएको उनले स्पष्ट गरे ।
नेपाल साइटिसको नीति र नियम पालना गर्न प्रतिबद्ध छ भन्ने सन्देश यसले दिने उनको विश्वास छ ।
जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले वन, वन्यजन्तु र वातावरणका बीच अन्तरसम्बन्ध रहेको र वातावरण राम्रो बन्न नसके वन्यजन्तु फस्टाउन नसक्ने बताए ।
वन राज्यमन्त्री दीर्घराज भाटले सबैको सहयोगका कारण यो ऐतिहासिक र महत्वपूर्ण काम गर्न सफल भएको बताए।
कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिजले यो कदमले दुर्लभ वन्यजन्तुको चोरीसिकार नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रुपमा सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिन् ।
सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिएका एक हजार ७३९ थान र चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा भण्डारण गरी राखिएका दुई हजार २७३ थान गरी जम्मा चार हजार १२ थान अखेटोपहार नष्ट गरिएको हो ।
यसमा बाघको छाला ६७ थान, गैँडाको खाग ३५७ थान, हात्तीको पुच्छरको राँै ३५४ थान, कस्तुरीको बिना ३४ थान, ध्वाँसे चितुवाको छाला दुई थान, हिउँ चितुवाको छाला एक थान, चिरुको ऊन ४२ पोका, सालकको खपटा दुई पोका, हाब्रेको छाला ४७ थान, चितुवाको छाला ४१८ थान, भालुको पित्त १५ थानलगायतका अखेटोपहार रहेका थिए ।
भण्डारणमा रहेका पाँच थान बाघको छाला, १० थान एकसिङ्गे गैँडाको खाग, चार थान कस्तुरीको बिना, एक थान ध्वाँसे चितुवाको छाला, एक थान हिउँचितुवाको छाला, दुई थान रातो हाब्रेको छाला र पाँच थान चितुवाको छाला अध्ययन अनुसन्धानका लागि राखिने छ । सत्ताइस प्रजातिको ८४ थान अखेटोपहार सुरक्षित राख्न लागिएको छ ।
अखेटोपहार व्यवस्थापन कार्यान्वयन समितिका संयोजक एवम् राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नष्ट गरिएका अखेटोपहार साइटिसको अनुसूची–१ मा सूचीकृत प्रजाति १८, अनुसूची–२ मा सूचीकृत प्रजाति चार, अनुसूची–३ मा सूचीकृत प्रजाति चार र अन्य प्रजाति २२ गरी ४८ प्रजातिका छन् ।
एक हजार एक सय केजी हात्तीका दाह्रा हाल नष्ट नगरिने भएको छ । दाह्रा जलाउन ९०० डिग्री सेन्टिग्रेट तापक्रम आवश्यक पर्ने भएकाले तत्काल त्यो काम संभव नभएको हो ।
मलेसिया, युएई, चीन, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, थाइल्यान्ड, केन्या, भियतनामलगायतका देशले समेत यसरी अखेटोपहार नष्ट गर्ने गरेका छन् ।
निकुञ्जअन्तर्गतका अखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरा र वन विभागअन्तर्गतको अखेटोपहार सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको थियो । सङ्कलित अखेटोपहारमा अन्य देशबाट नेपाल हुँदै ओसारपसार गर्दा बरामद गरिएका समेत रहेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ ४ गतेको निर्णयअनुसार अखेटोपहार नष्ट गरिएको हो । अध्ययन र अनुसन्धानका लागि भने केही अखेटोपहार राखिएको छ ।
अखेटोपहार जलाइसकेपछि बाँकी रहने खरानी पुरेर त्यसमाथि स्मारक बनाइने बताइएको छ ।
यसअघि २०५४ चैत ९ गते सशस्त्र वन रक्षक तालिम केन्द्र, टिकौलीमा अखेटोपहार जलाएर नष्ट गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरामा १५ मिटर लम्बाइ र पाँच मिटर चौडाइको इँटा पोल्ने चिम्नीजस्तो संरचना निर्माण गरेर अखेटोपहार जलाइएको हो । रासस ९तस्बिर उपलब्ध छ०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा सुरुङमार्गमा बिहानी दौड, तस्बिरमा हेर्नुहोस्
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण